नयाँ वर्षको संघारमा

इनेप्लिज २०७२ चैत ३० गते २२:२७ मा प्रकाशित

damodar p

फुटेको घ्याम्पोका टुक्राहरुझै
असरल्ल छरियो
समयको वेगवान बगर

मरुभूमीको क्षितिजमा फक्रेको
रंगीन फुल हत्केलामा सजाउँन
बेजोडले बर्कुसी मार्दैछ
एउटा इन्दधनुषी बायुपङखी समय
बाटाभरि मडारिहेको बादल छलेर
नाघ्यौं कयौ शृङखलाहरु तिमीले र मैले
एकाविहानै हामी दुवैले घाम सुमसुम्याइरहेको बेला
जीवनको नयाँ अध्याय बोकेर
नवीन धून बजाउँदै उभियो
अर्को सुनौलो शृङखला
आँखाको डिलको समस्थलीमा
तिमीले र मैले लुकामारी खेल्दा खेल्दै
सुस्तरी सुन्न खोज्दैछन् हाम्रो सुस्केरा
परेली छेउछाउमा चुच्चोले कोट्याइरहेका चराहरुले
रारा र फेवा जस्तो आँखाको गहमा
आँसुले भर्ने कि हर्षाश्रुले
निक्र्यौलमा बढाउनुपर्छ समयका लहराहरुलाई
हामी दुवैले
खुकुरी र तरवारले गर्दन छिनालेर
राष्ट् उचालेको भाषण गर्नेहरुको तस्वीरलाई
सिल्भर फिसले जोतेर
जन्माइरहेछ बेग्लै कोलाज जिन्दगीको
कसैलाई गोडा धुवाएर
सिउँदो भरी सिन्दुरले छोपिदिंदै
वन्धनको वकपत्र लेख्नेहरु
भाउण्डेर ढल्दैछन्
बगिरहेको नदीको भेलमा
मान्छेलाई
जात, रङ्ग, लिङ्ग र भूगोलका घेराहरुमा
विभाजन गर्न खोज्नेहरुको लागि
भर्खरै निर्माण गरिएको छ
एउटा कठोर डम्पिङ साइट
मान्छेको बिरुद्ध उभिने
मान्छेका खुट्टाहरुलाई
बाँधिएकोछ फलामे नेलले
पखेटा फिजाउँदै सिकुवावाट निस्केको समयले
मेरो मनभित्र कोरिरहेछ तिम्रो सुन्दर चित्र
आगो पानीको धक्काले पनि
कहिल्यै कोतर्न नसक्ने गरेर
समय र मान्छे बीचमा
अझ बेजोडले युद्ध चल्ने सङ्केत छ
अहिलेसम्मको भन्दा अलि फरक ढंङगमा
फोन नं.९८५१०९२०७७
इमेलः [email protected]

प्रतिक्रिया