मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०२:०९
वासिङटन डिसी 16:24

नयाँ बर्षमा देशले नयाँ गति लिन सकोस् -प्रकाश श्रेष्ठ

इनेप्लिज २०७२ चैत ३० गते १७:५४ मा प्रकाशित

unnamed-450x800

सधै झै नयाँ बर्ष आउने गर्छ, आपसमा शुभकामना आदान-प्रदान गर्ने गरिन्छ । आगामी दिन सबैको शुभ होस्, उन्नती-प्रगती, सुख-शान्ती होस् जस्ता अनेकन शब्दावली प्रयोग गरेर आत्मियता, मित्रवत सम्बन्ध देखाईन्छ । पक्कै पनि भविष्य प्रति सकारात्मक हुनु आफैमा सकारात्मक सोच, मान्यता, दृष्टिकोणको विकास गर्नु अवस्यनै राम्रो हो । प्रत्येक नागरिक र देश चलाउने नेतृत्वपंक्तीले भविष्यलाई सकारात्मक तवरबाट हेर्नै पर्छ तथापी विगत र वर्तमानको यथार्थतालाई पनि नजर अन्दाज भने गर्नु हुँदैन । विगत र वर्तमानबाट निश्चित पाठ सिकेर आगामी दिनका लागी निश्चित अठोट र आत्मविश्वासका साथ योजनाबद्ध ढंगबाट अगाडी बढ्न सकेमा मात्र नागरिकको व्यक्तिगत जीवन र देशको रुपरेखा बदल्न सकिन्छ । यति भनिरहँदा विगतमा नेपालमा भएका अनेकन राजनैतिक परिवर्तनहरुबाट जनता र देशको रुपरेखा त केही हद सम्म बदलिए होला तर विदेशी परनिर्भरता, विचलन, व्यक्तिगत स्वार्थ, वैदेशिक हस्तक्षेप, सुशासनको कमि, भ्रष्टाचारको बिगबिगी , नेतृत्व माथी विश्वासको कमि, ईमान्दारिता र अनुशासनको कमि जस्ता कुराहरु दिन प्रतिदिन बढ्दै गएको जो कोहीले महशुष सजिलै गर्न सकिन्छ ।

कम्तीमा राणाहरु र पंचायती शासकहरु त देशको राष्ट्रिय अखण्डता , सार्भभौमसत्ता , आत्मनिर्भरता जस्ता कुराहरुमा सचेत थिए तर वर्तमान समयमा आफुलाई प्रजातन्त्र र लोकतन्त्रको ठेकेदार मान्ने शासकहरु पदलुप्तता, व्यक्तिगत स्वार्थ र हैकमवाद, विदेशी ईशारा र भक्तीभाव, परनिर्भरता र नेतृत्व क्षमताको कमि जस्ता अनेक मनोदशाबाट ग्रस्त भएर देशलाई नै विदेशीको शरणमा भित्र-भित्रै जिम्मा दिएको झै आभाष र गतिविधी बढिरहेको छ ।

प्रजातन्त्र वा लोकतन्त्र वा गणतन्त्र आफैमा जाधुको छडी र परिवर्तन एवं समृद्धीको कडी हैन । यो त केवल शासन पद्दती मात्र हो, आफैमा वरदान होईन । यो तव वरदान सावित हुन्छ जव शासनको बागडोर सम्हाल्ने वर्ग र यो व्यवस्थामा आस्था र भरोसा राख्नेहरुले अवलम्बन गर्ने निती , कार्ययोजना र दुरदर्शीतापुर्ण कार्यव्यवहारले देखाउने परिणाम देश र जनताको जीवनस्तर उकास्ने र देशलाई आत्मनिर्भर एवं शान्ती, सुरक्षा र अमन-चयन कायम गर्न सक्ने अवस्था देखिन्छ तव मात्र यस किसिमको राजनैतिक व्यवस्थाको औचित्य र महत्व उल्लेखनिय हुन्छ । अन्यथा एक दलीय निरंकुश शासन भनिने मुलुकहरुमा समेत जनताको जनजिविका राम्रो र उन्नत छ भने त्यसलाई उपयुक्त मान्न सकिन्छ । केवल बोल्न र भुक्न पाउने प्रजातन्त्र र चाकडी गर्नु पर्ने लोकतन्त्रको कुनै अर्थ र महत्व हुन सक्दैन ।

जनताले आफ्नै वैयक्तिक विकास र देशको समग्र विकास र उन्नती कायम गर्नको लागी पटक-पटक ज्यानको आहुति दिने बलिदानीपुर्ण त्याग र समर्पणबाट आएको लोकतन्त्र -गणतन्त्रमा केवल जनताको हित विपरित हुने काम मात्रै गर्न उद्दत नेताहरु र सत्तामा पुगे पछि व्यक्तिगत लाभको लागी जस्तोसुकै काम गर्न अघि सर्ने आचरणले गर्दा देश विदेशीहरुको प्रयोगशाला र रणसंग्राम अघोषित रुपमा भईरहेको छ । जनता र जनजिविकालाई प्राथामिकता दिदै काम गर्ने उद्घोषका साथ सत्ता सम्हालेका परिवर्तनगामी पार्टीकै उच्च नेतृत्वमा पुगेका सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने नेताहरु आज विश्वमा चर्चित अन्तर्राष्ट्रिय पत्रिकाहरुमा विश्वका अति भ्रष्ट र विलासिताको जीवन विताउनेको लाईनमा लाम्बद्ध हुनु लाजमर्दो कुरा हैन र ? यसको वारे कही कतैबाट बोल्ने र विरोध गर्ने साहस हुन नसक्नु र अझै पनि उनीहरुकै बोलीमा बोली मिलाएर परिवर्तन र विकाशको आशा गरेर बसिन्छ भने हामीहरु जस्तो पठलन्ठुहरु को हुन् सक्ला ? अझै नयाँ पार्टी र नयाँ शक्तीहरु भन्दै जनताहरुको आँखामा छारो हाल्न खोज्नु र त्यसमा विश्वास गरेर लाग्नु कति दुर्भाग्य होला हामी नेपाली जनताहरुको ? आफुलाई सक्कली प्रजातन्त्रवादीको दुहाई दिएर नथाक्ने पार्टी नदीनाला सबै भारतलाई नामसरी गरेर दिदा र भ्रष्टहरुलाई फुलमाला लगाएर फेरी नेतृत्वमा पुर्याउने र अझै उनीहरुको भाषणमा विश्वास गरेर बस्ने हामी जनता कति सोझा छौ विचार गरौ त !

सर्वहारा र श्रमजीवीको उत्थान गर्न भनि लागेको पुरानो नाममात्रको “कम्युनिस्ट “पार्टीको नेतृत्व समालेकाहरु देश-विदेशमा भ्रमण गर्दाको तडकभडक देख्दा र वेहुली लिन जन्ती गएको शैलीमा विदेश भ्रमण गर्ने एवं सामान्य ग्यास्ट्रिकको उपचार गर्न बेलायत , अमेरिकानै जानु पर्ने , सत्तामा पुगेर भत्तामात्रै पचाउन फुर्सद नभएका, भुकम्प जस्तो महाविपत्ती भएको एक बर्ष पुग्दा कानमा तेल राखेर बस्नेले कसरी सामान्य जनताको उत्थान गर्न प्रयासरत छन् ती पार्टी र विचारका नेताहरु भनेर हामी सर्वसाधरण जनताले बुझ्ने ,आधार खै ? देशको बारे सानो निर्णय गर्दा भारत र चीनको डर र भयबाट ग्रसित बन्ने र अठोटपुर्ण र जनहितको निर्णय लिन नसक्ने आजका तमाम राजनैतिक नेताहरुले कसरी देशलाई समृद्ध र आत्मनिर्भर बनाउन सक्छन् भनि विश्वस्त हुन सकिन्छ । थोरै राजनैतिक निर्णय र परराष्ट्र सम्बन्धी निर्णय लिनु भन्दा पहिला भारतिय राजदुत र विभिन्न दुतावासहरुमा धाउने नेताबाट देशले के आशा गर्ने ?

देश विखण्डन गर्नेहरुलाई खुल्लमखुल्ला छोडि दिने, प्रजातन्त्रलाई के उत्कृष्ट व्यवस्था मान्ने ? यी र यस्तै प्रश्न र आक्रोसहरु तमाम जनताहरुको घर-आँगन र देश -विदेशमा बस्ने नेपालीहरुको रहेको छ । यती हुँदा पनि नेताहरुको चेत/होश खुलेको छैन । भारतले विना कसुर त्यती लामो समय आर्थिक नाकावन्दीबाट नेपालको अर्थतन्त्रलाई तहसनहस पारि दियो । लाखौ नेपाली दशकौ देखि भारतको सेवा गरिरहेका छन् , चाहे गोर्खाली पल्टनमा सेना भएर रगत र पसिना बगाएर होस् वा चाहे भारतिय कम्पनीहरुमा चौकीदार र वाचमेन भएर होस् वा निजी होटल र रेष्टुरेन्टमा काम गरेर होस् अनेक तवरबाट ज्यानको बाजी लगाएर काम गरिरहेका छन् । बेलायतले भारतमा शासन गरे देखे अहिले सम्म नेपालीहरुको धेरै रगत र पसिना भारतमा बगिरहेको छ त्यसको बदला भारतले दिनका दिन नेपाललाई लुटिरहेको छ । सिमा लुटेको छ, नदी-नाला लुटि सक्यो, लाखौ भारतियलाई नेपाली नागरिकता लिन सफल बनाएर नेपालको तराईलाई नेपालबाट अलग बनाएर लैजाने दाउमा तराईमा आन्दोलनको नाउँमा वितण्डा मच्चाएको छ । उसकै ग्राईण्ड डिजाईनमा तराईका विभिन्न राजनितिक पार्टीका नेताहरु विभिन्न अधिकार प्राप्तीको नाममा जनता भड्काउन लागी परेका छन् । तर हामी भारतले दुई चार वटा

एम्बुलेन्स , दुई चार वटा स्कुल भवन र दुई चार अरव पैसा सहयोग गरेको देख्दैमा ताली पिटिरहेका छौ ।यस्तै प्रवृती रहने हो र भारत लगायत अन्य देशहरु सँग निश्चित अडानको साथ निर्धक्क देशको सार्भभौमसत्ता जोगाउन र देशको अस्तित्व स्थापित गर्न नलाग्ने हो भने निकट भविष्यमा नै नेपाल विश्व मानचित्रबाट हराउन नसक्ला भन्न सकिदैन । अत: यस तर्फ सबै जनता सतर्क हुनै पर्छ र अहिलेका राजनैतिक दलहरु सुध्रिन नसके अन्य वैकल्पिक बाटो अपनाएर भएपनि नेपाल र नेपालीको अस्तित्व जोगाउनै पर्ने हुन्छ।

हाम्रो देश अथाह प्राकृतिक सौन्दार्यता र प्राकृतिक साधनहरुले भरिपुर्ण देश हो । नेपाल जलस्रोतको धनि देश, आकर्षक हिमाल, पहाड , नदीनाला , ताल, झरना, वनजंगल, सांस्कृतिक धरोहर ,अनेकन खनिज पदार्थ र जागिरला युवाशक्ती भएको देश हो । यी सबै खाले प्राकृतिक स्रोत, सम्पदा, मानव संसाधनलाई उपयोग गर्न सके देशलाई विकास गर्न र जनताको जिवनस्तर उकास्न लामो समय कुर्नु पर्दैन । सबैले भन्दै आएको लगानीको समस्या छ नेपालमा भन्ने कुरा केही हदसम्म सत्य भएपनि पुर्ण सत्य भने हुन सक्दैन किनकी सरकारले उदार अर्थनिती र वैदेशिक लगानीलाई संरक्षण गर्ने निती-नियम निर्माण गरि कार्यान्वयन गर्ने हो भने विदेशमा बस्ने व्यवसायिक क्षेत्रमा आवद्ध नेपाली र विकसित देशका लगानी कर्ताहरुको ओहिरो नै लाग्न सक्छ । हामी धेरै टाढा जानु पर्दैन चीनले खुल्ला अर्थनिती लिएर विदेशी लगानी र विस्व बजारमा आफ्नो वस्तु तथा सेवाको प्रवेश बाट छोटो समयमै अमेरिका जस्तो शक्तीशाली देशलाई समेत झण्डै आर्थिक विकास र प्राविधिक विकासमा उछिनेर अगाडी बढ्न थालिरहेको छ ।

एशियाली मुलुकहरु जस्तै मलेसिया, दक्षिण कोरिया , कतार, दुवई लगायतका मुलुकहरुले पनि छोटो समयमा द्रुत आर्थिक विकास गरिरहेको देखिरहेका छौ । तसर्थ दृढ़ संकल्प र दुरदर्शी एवं लोभी-पापी नहुने नेताहरु हुन सक्ने हो भने देशको समग्र आर्थिक विकास हुन सक्छ । केवल देशको धरातलिय अवस्था र वर्तमान परिस्थितीलाई आधार बनाएर नेपालको विकास गर्न कठिन छ भन्नु, मात्र ईच्छा शक्ती र साहसको कमीले गर्दा हो । अन्यथा स्वीजरल्याण्ड जस्ता धेरै मुलुकहरु पहाडी र भुपरिवेष्ठित मुलुक भएर पनि विकसित मुलुक बनेका छन् । तसर्थ देशको भौगोलिक अवस्थालाई दोष नदिईकन त्यसबाट के कति लाभ लिन सकिन्छ त्यसमा विचार गरेर अनेकन विकासका कदम अवलम्वन गर्न सकिन्छ ।

नेपालमा सबै भन्दा राम्रो संभावना भनेकै टुरिजमको राम्रो विकास गरेर सजिलै विदेशी मुद्रा आर्जन गर्न सकिन्छ र त्यसबाट आवस्यक कलकारखाना , उद्योगधन्दा स्थापना र संचालन हुन सक्छ जसबाट लाखौ युवाहरुले प्रत्यक्ष -अप्रत्यक्ष रोजगारी पाउन सक्छन् र नेपालबाट उत्पादित वस्तु तथा सेवा विश्व बजारमा निर्यात गरि थप आय आर्जन गर्न सकिन्छ। यसर्थ नेपालमा विकास गर्ने सबै खाले आधार हुँदाहुँदै पनि कुनै निश्चित जालोमा सबै राजनैतिक नेतृत्व वर्ग , कर्मचारीतन्त्र, निती निर्माताहरु फसेको कारणलेनै देशले निकास र विकास पाउन सकिरहेको छैन । अव यस तर्फ सबै तह र तप्काबाट ध्यान दिनु जरुरी छ । हामी नेपालीहरुको ठुलो कमजोरी भनेकोकै आफ्नो आस्था रहेको राजनैतिक दलले गर्ने कमिकमजोरीमा बोल्न र औला ठड्याउन वा विरोध गर्न नसक्नु एवं नेतृत्व माथी बढि भरोसा र अन्धभक्त रहनु नै हो ।

यस्तो प्रवृती बाट नै नेपालका तमाम पार्टीका नेताहरुले जनतालाई गुमराहमा राखेर आफ्नो व्यक्तिगत स्वार्थमा जे पनि गर्न तयार रहे र उनीहरुले आफु एवं आफ्ना सन्तती, नातापाता बाहेक जनताहरुको समस्या र अभावमा कुनै चासो र समाधानको प्रयास गर्नै चाहेनन् । यसको ज्वालन्त उदाहरण त भुकम्प पछिको दिनमा भए , गरेका कामहरु र अहिले उनीहरु (भुकम्प पिडित वर्ग) को समस्या र पिडा अनि राज्यबाट देखाईएका वेवास्ताहरु नै काफी छ । यतिका धेरै विदेशबाट सहयोग र सद्भाव पाउँदा समेत ती पिडीत वर्गले समयमै सामान्य ओत, भोटो र रोटो , औषधीमुलो नपाउनु कति सम्म राज्यको लज्जास्पद र निर्लज्ज काम होला । एक बर्ष सम्म कानमा ठेडी कोचेर बस्ने , भाषणमा आकाशको चन्द्रमा धर्तिमै झारेर ल्याउने जस्ता मिठा र जोसिला कुरा गरेर कुनै अर्थ एवं उपलब्धी हुन सक्दैन ।
नेतृत्वमा हुनेले चर्को भाषण भन्दा पनि सुदृढ नेतृत्व क्षमता र “बोल्ड डिसिजन पावर ” हुनु आवस्यक छ । राम्रो कामको लागी कही कतैबाट विरोध र अवरोध आए पनि हिम्मतका साथ अघि बढ्न सक्ने आँट , साहस र लगाव हुनै पर्छ तर अहिलेको सरकारको पनि यस विषयमा निकै कमजोरी देखिएको छ । केही कतै सामान्य राम्रा कामहरु भए होलान् तर यस्ता कामहरु सत्ताको बागडोर सम्हाल्दा हुनु त्यती नौलो कुरा र ठुलो उपलवधी हैन ।

जुन कामबाट जनताका तत्कालिन सरोकार र आवस्यकता सम्बोधन हुन सकेमा र दीर्घकाल सम्म फाईदा दिन सक्ने योजनाहरु तर्जुमा र कार्यान्वयन हुने काम अगाडी बढ्न सकेमा , देशमा सुशासन र भ्रष्टचारमा शुन्य सहनशिलता कायम हुन सकेमा र जनताको प्रतिव्यक्ती आय एवं जिवनस्तर सुधार हुन सकेमात्र त्यस्तो काम गर्न अभिप्रेरित सरकार र नेतृत्वपंक्तीलाई नै सबैले हार्दिकता पुर्वक स्वागत र प्रसंशा गर्दै अझै अघि बढ्न सहयोग एवं साथ दिनु सबैको कर्तव्य हुन आउँछ तर त्यस्तो किसिमको नौलो आयाम थप्ने काममा वर्तमान सरकार पनि अघि बढेको महशुष पटक्कै गर्न सकिएकाे छैन ।
अत: यो नयाँ बर्षमा आम नागरिक र नेतृत्व गर्ने नेताहरुको सद्वुद्दी पलाउन सकोस् । जनताको अभाव, पिडा र समस्यालाई सही रुपमा आत्मसात गरेर उचित तवरबाट समाधान गर्ने प्रयास अविलम्ब थालियोस् । विदेशीहरुको ईशारामा हैन की आफ्नो अन्तरआत्माबाट देशको वास्तविक धरातलमा टेकेर वास्तविक राष्ट्र हितका निर्णयहरु हुन सकुन । भाषणले जनताहरुलाई सपना बाँढ्नु भन्दा वास्तविक फिल्डमै काम गरेर देखाउने प्रवृतीको विकास हुन सकोस् ।

कम्तीमा ५ बर्ष सत्तामा पुग्नेलाई काम गर्न दिने वातावरण राजनितिक दलले सृजना गर्न सकुन। राजनैतिक दल आपसी दुस्मनको रुपमा हैन की मित्रवत व्यवहार र सहकार्यबाट मुलुक निर्माणको महायज्ञमा समाहित हुन सकुन । भ्रष्टहरुलाई कडा कानुनी दायरामा ल्याएर कार्वाही गरियोस् र त्यस्ता आरोपित व्यक्ती अनि भ्रष्टाचारमा अपराधी घोषणा भई जेल सजाय पाएकालाई सदाका लागी राजनैतिक नेतृत्वबाट मुक्त पार्ने पद्दतीको विकास होस् । खुमे, गोविन्दे र खुर्सानी माईला( चिरंजिवी ) हरु जस्ता भ्रष्टाचारीहरु फेरी नेतृत्व संहालेर सत्तामा पुगी देश लुट्ने प्रयासहरु रोक्न जनता सफल बनुन। सबैको सहकार्य र सहअस्तित्वबाट नेपाल विश्वमै उत्कृष्ट मुलुक बन्ने अभियान अघि बढ्न सकोस् भन्दै सबैमा नयाँ बर्षको हार्दिक मंगलमय शुभकामना छ ।

बाल्टिमोर, मेरिल्याण्ड , अमेरिका

प्रतिक्रिया