खोटाङ बस दुर्घटना: चौबिस यात्रुको मृत्यु

इनेप्लिज २०७२ चैत ३० गते १०:४० मा प्रकाशित

Road Accidentखोटाङ, ३० चैत । स्थानीय बर्खेटारमा आज बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।

मृत्यु हुनेमा १७ पुरुष र सात महिला छन् । मृतकमध्ये १७ जनाको सनाखत भएको छ । दुर्घटनामा परी बस चालक काठमाडौँका अर्जुन उप्रेती, उदयपुरका शान्ता राई र उनका छोरा ओमश्री, उदिम राई, हेम सुनुवार, भविन राई तथा बजुनारायण श्रेष्ठको मृत्यु भएको उद्धारमा खटिएका सशस्त्र प्रहरी बल हलेसी गुल्मका प्रहरी निरीक्षक फुर्गेली शेर्पाले जानकारी दिनुभयो ।

यस्तै खोटाङका विमला राई, सन्तोष कटुवाल, सुरेन्द्र राई, मेजर राई, भैरव राई, नेत्रकुमारी राई, गोविन्द तिमिल्सेना र खम्बबहादुर राई तथा सोलुखुम्बुका सुस्मा राई र सोम सुन्दासको समेत मृत्यु भएको छ ।

सदरमुकाम दिक्तेलबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख ६३७६ नंको यात्रुबाहक बस आज बिहान अर्खौलेको बर्खेटारमा दुर्घटना भएको हो । सख्त घाइते २३ जनालाई नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि काठमाडौँ लगिएको छ । अन्य घाइते सात यात्रुको अवस्था सामान्य रहेको बताइएको छ ।

घाइतेको हलेसी स्वास्थ्य चौकीमा सामान्य उपचार गरिएको थियो । घटनास्थल दिक्तेलबाट दश कोस टाढा पर्छ । साँघुरो सडकबाट करिब १५० मि तल खसेको बस भीरमा बाँसको घारीमा अड्किएको छ ।

दिक्तेलबाट बिहान ५ बजे छुटेको बस करिब ८ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय हलेसी र प्रहरी चौकी अर्खौलेका सुरक्षाकर्मी तथा स्थानीयवासी उद्धारमा खटिएका छन् ।

प्रतिक्रिया