सगरमाथाको दोस्रो शिविरसम्म बाटो बनेपछि २८ टोली खुम्बु भित्रिए

इनेप्लिज २०७२ चैत ३० गते ०:४२ मा प्रकाशित

सोलुखुम्बु, ३० चैत । सगरमाथा आरोहणका लागि दोस्रो शिविरसम्मको बाटो बनाउने काम सम्पन्न भएको छ ।

हिमनदी, हिमखाल्डा तथा दरार प्रशस्त रहने भएकाले बाटो बनाउनु चुनौतीपूर्ण मानिने आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो बनाउने काम सम्पन्न भएको हो ।

दोस्रो शिविरसम्म बाटो बनाउने जिम्मेवारी लिएको सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चे (एसपीसीसी) का कार्यक्रम अधिकृत कपीन्द्र राईका अनुसार बाटो बनाउन गएका आइसफल डाक्टरको टोलीले सफलतापूर्वक दोस्रो शिविरसम्मको बाटो निर्माण गरेको जानकारी दिनुभयो ।

बाटो बनाउने काम सुरु गर्दा भूकम्पका कारण समस्या बढेको आँकलन गरिएको भए पनि ठूलो समस्या नभएको उहाँले बताउनुभयो।
सगरमाथा आरोहणका लागि अहिलेसम्म १९ समूह नाम्चेबाट उकालो लागेका छन् । आरोहणमा जाने सबै टोलीले एसपीसीसीको कार्यालय नाम्चेमा नाम दर्ता गरी जानुपर्ने व्यवस्था रहेकोछ । एसपीसीसी नाम्चेको तथ्याङ्कअनुसार सगरमाथाकै आधार शिविर प्रयोग हुने ल्होत्से हिमाल आरोहणका लागि पाँच समूह र न्ह्युत्से हिमाल आरोहणका लागि चार समूह गरी २८ समूह नाम्चेबाट आधार शिविरतर्फ लागेका छन् । एसपीसीसीको कार्यालयमा नाम दर्ता गरी अघि बढेका आरोहीले सगरमाथा क्षेत्रमा ७५ दिन बस्न पाउने छन् ।

आरोही आउने क्रम सुरु भएको भए पनि अधिकांश आरोही सन् २०१४ र २०१५ मा आरोहण स्थगित गर्ने रहेका छन् । सन् २०१४ मा हिमपहिरोका कारण र २०१५ मा भूकम्पका कारण आरोहण स्थगित गरिएको थियो । उनीहरुमध्ये सन् २०१४ मा आरोहण गर्न नपाएकाले पाँच वर्ष र २०१५ मा आरोहण गर्न नपाएकाले दुई वर्षभित्रमा आरोहण गर्दा रोयल्टी तिर्नु नपर्ने सरकारको निर्णयअन्तर्गत उनीहरुले आरोहण रोयल्टी तिर्नु पर्दैन ।

आरोहण टोली आउन लागेको भए पनि विगत दुई वर्षअघिको तुलनामा पर्यटकको आवागमन निकै पातलिएको भन्दै स्थानीय व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया