बाबियाचौर (म्याग्दी), २८ चैत । म्याग्दीको दोवा गाविसलाई सडक सञ्जालसँग जोड्ने भिरकाटे–दोवा सडक आयोजनाको ट्र्याक खोल्ने कार्य आठ वर्षमा पूरा भएको छ ।
विसं २०६६ मा भिरकाटेदेखि दोवा जोड्ने सडक निर्माणकार्य सुरु भए पनि कालीगण्डकी नदीमाथि मोटरचल्ने पुल नहुँदा पूर्णता पाउन सकेको थिएन । बेनी–जोमसोम सडकको भिरकाटेस्थित कालीगण्डकी नदीमा यसैवर्ष मोटरेबल पुल निर्माण सम्पन्न भएपछि सडक ट्र्याक खोल्ने कार्यले आठ वर्षपछि पूर्णता पाएको हो ।
सरकारको रु पाँच करोड १२ लाख १४ हजार लागतमा निर्माण भएको ५० मिटर लामो मोटरेबल पुल र भिरकाटेदेखि दोवा जोड्ने ८.३५ किमी सडकको सांसद नवराज शर्माले शनिबार एक समारोहका बीच उद्घाटन गर्नुभयो ।
रु ९३ लाख ९५ हजार ७०५ को लागतमा निर्माण भएको सडकमा स्थानीयवासीको रु ६२ लाख ७८ हजार १३० र सरकारी निकायको रु ३१ लाख १७ हजार ५७५ लगानी भएको दोवा ग्र्रामीण सडक उपभोक्ता समितिका सचिव धनबहादुर पाइजाले जानकारी दिनुभयो ।
सडक निर्माण भएपछि दोवामा सामान ढुवानी मूल्य प्रतिकिलो रु चार कम हुनुका साथै आलु, बदामलगायतका कृषि उपज निकासी र सदरमुकाम जान आउन सुविधा पुगेको छ । सडकबाट दोवाका २५६ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।
प्रतिक्रिया