एकै दिन ५२ वटा मुद्दाको फैसला

इनेप्लिज २०७२ चैत २७ गते ३:४२ मा प्रकाशित

courtपथरी (मोरङ), २७ चैत । जिल्ला अदालत मोरङको एक इजलासले एकै दिन ५२ वटा मुद्दाको फैसला गरेको छ ।

अदालतले पुराना मुद्दाको किनारा लगाउने योजनाअनुसार सार्वजनिक मुद्दामा धमाधम फैसला दिन सुरु गरेको हो । मुख्य न्यायाधीश विनोद मोहन आचार्यको एकल इजलासले दुई दिनअघि एकै दिन ५१ वटा मुद्दाको फैसला गरेको हो भने एउटा मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

सो इजलासले सार्वजनिक अपराधका मुद्दा ४९ वटा, नाता कायम एउटा र एउटा सम्बन्ध विच्छेदको मुद्दामा मिलापत्र गरेर ५१ वटा मुद्दा फैसला दिनुका साथै एउटा मानव ओसारपसार तथा बेचबिखन मुद्दामा थुनामा पठाउने आदेश दिएको अदालतका मुख्य न्यायाधीश आचार्यको भनाइ छ ।

मुख्य न्यायाधीश आचार्यका अनुसार फागुन मसान्तसम्ममा चार हजार ६१२ मुद्दा दर्ता भएकामा एक हजार ६६९ वटा मुद्दा फछ्यौट भइसकेका छन् । उहाँले भन्नुभयो – “असार मसान्तसम्ममा ६५ प्रतिशत मुद्दा फैसला गर्ने लक्ष्य लिएका छौँ ।”

प्रतिक्रिया