राष्ट्रिय सहमतिको सरकार असम्भव: पोखरेल

इनेप्लिज २०७२ चैत २५ गते ७:५० मा प्रकाशित

sankhar pokhrelझापा, २५ चैत । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले राष्ट्रिय सहमतिको सरकार सम्भव नभएको बताउनुभएको छ ।

झापा क्षेत्र नम्बर ३ को प्रशिक्षण कार्यक्रममा सहभागी हुन झापा आउनुभएका पोखरेलले अहिले मिलीजुली सरकार आवश्यक नरहेको बताउनुभयो ।

प्रेस चौतारी झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकारसम्मेलनमा पूर्वसञ्चारमन्त्रीसमेत रहनुभएका पोखरेलले आफ्नो अग्रसरतामा संविधान जारी गरेको दाबी गर्ने नेपाली काँग्रेसले संविधान कार्यान्वयनको विषयमा भद्र सहमति तोडेकाले राष्ट्रिय सहमतिको सरकार बन्न नसक्ने दाबी गर्नुभयो ।

उहाँले नेपाली काँग्रेसलाई संविधान कार्यान्वयनमा प्रतिपक्षमा बस्न नमिल्ने बताउँदै वचनमा अडिएको काँग्रेस आफूहरुले हेर्ने चाहेको बताउनुभयो । सरकारको ६ महिना उपलब्धिमूलक रहेको बताउँदै संविधान कार्यान्वयन, पुनःनिर्माण र आर्थिक, सामाजिक विकास अबको सरकारको मुख्य एजेन्डा हो भन्नुभयो । उहाँले कानुन निर्माणमार्फत सङ्घीयतालाई स्थापित गर्न यो सरकार अग्रसर रहेकोसमेत धारणा राख्नुभयो ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले कूटनीतिक सम्बन्ध स्थापित गर्न सफल भएको उहाँको भनाइ थियो । उहाँले नेपाल भारत सम्बन्धलाई थप स्थापित गर्न प्रधानमन्त्री केपी ओलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गर्नुभयो । राजनीतिक मुद्दामा रुमल्लिएको नेपाललाई विकासको मुद्दामा केन्द्रित गर्न प्रधानमन्त्री ओली सक्रिय भएकाले अब विकासका मुद्दामा राजनीतिक बहस केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया