मेरो साथी यादव पौडेलको हत्या भएको पाँच वर्ष बित्यो । ०६८ चैत २१ गते राति उसको हत्या भएको थियो । म सम्झिन्छु ती दिन, उसको हत्यापछि पत्रकारले, नागरिक समाजका अगुवाले, राजनीतिक व्यक्तित्वहरुले हत्यारालाई कारवाही गर्नुपर्छ भनेर आवाज उठाए ।
हत्यारा फउ पनि परे । उनीहरु अहिले जेलमा छन् । तर, उनीहरुका गतिविधि अझै पनि शङ्कास्पद छन् भन्ने कुरा बाहिर आइरहन्छन् । जेलबाटै चन्दा आतङ्क मच्चाउनेदेखि लिएर जेलराज चलाउने, भित्रैबाट विभिन्न क्षेत्रका मान्छेलाई फोन गरिरहने जस्ता कुराहरु सुनिन्छन् । यदि त्यस्तो हो भने अहिले पनि हामी पत्रकार सुरक्षित हुने स्थिति देखिँदैन ।
यादवका हत्यारा केही वर्षभित्रैमा छुटेर आउने हो भने हाम्रो परिवारको सुरक्षाको ग्यारेन्टी कसले लिन्छ भन्ने प्रश्न यादवको परिवारजनले गरिरहनुभएको छ । पत्रकारिताको कवच मात्र पत्रकारका लागि सुरक्षाको विषय बन्न सक्दैन । यस कारण पत्रकारले गम्भिर हुनुपर्छ, सुरक्षित हुनुपर्छ । यो देशमा कोही पनि सुरक्षित छैन । हामी चनाखो हुन जरुरी छ ।
यादव र म एउटै गाउँमा जन्मिएका । मोरङको सिजुवा-९ सौँठा बजारमा हाम्रो जन्म भएको हो । ऊ र म सहपाठी । उसले र मैले कक्षा ७ सम्म एउटै स्कूलमा पढ्यौँ । मैले सात कक्षा पास गरेपछि हामी झापा खुदुनाबारीमा बसाईं सरेर आयौँ । यादव भने मोरङतिरै थियो । पछि म पत्रकारिता क्षेत्रमा आबद्ध भएँ । यादव मलाई भेट्न बिर्तामोड आइरहन्थ्यो । सौँठामा यादव सानो व्यवसाय सञ्चालन गर्थ्यो । केटाकेटी पढाउन ऊ बिर्तामोड आउन चाहन्थ्यो । बिर्तामोडमा सेटल हुन सहयोग गर्नुर्पयो भन्यो उसले मलाई । ‘के पत्रकारिता गर्ने हो त ?,’ मैले प्रश्न गरेँ । ‘तिमीले सिकाउँछौ भने गरौँला न त, गर्न नसकिने के छ र ?,’ उसले भन्यो । यसरी विस्तारै विस्तारै ऊ मसँग आयो र पत्रकारितामा आबद्ध भएको हो ।
परिवारको एक्लो छोरा हो, यादव । दिदीबहिनी तीनजना । बुबाको पनि निधन भइसकेको थियो । केटाकेटी पढाउने उद्देश्वले यादव बिर्तामोड आएपछि घरमा बुढी आमा मात्र थिइन् । पत्रकारिता गर्दागर्दै उसको हत्या भयो । अहिले यादवकी श्रीमती सुनम र छोराछोरी चारपाने नजिकै घर किनेर बसेका छन् । बुढी आमा कहिले छोरीकहाँ, कहिले बुहारीकहाँ आउजाउ गरिरहन्छिन् ।
सबभन्दा राम्रो पक्ष चाहिँ यादवको के थियो भने, उसले पत्रकारिता थालेको दुई वर्षमै झापाको एउटा सम्मानित पुरस्कार ‘केटो पत्रकारिता पुरस्कार’ प्राप्त गर्न सफल भयो । पत्रकारिता जस्तो जटिल पेशामा पनि ऊ छिटो सफल भयो । अहिले पनि कतिपय पत्रकारहरु नेपाली टाइप गर्न जान्दैनन् । तर, उसले पत्रकारितामा आएको छ महिना भित्रमै नेपाली टाइप गर्न थाल्यो । मेची टाइम्स दैनिकको कार्यकारी सम्पादकको जिम्मेवारी पाएपछि उसले पेज सेटअप गर्नेदेखि लिएर सबै काम आफैँ सिकेको थियो । कारणबस कम्प्युटरको मान्छे आउन नसके यादवले आफैँ पत्रिका निकाल्न सक्थ्यो ।
अर्को राम्रो पक्ष के भने, ऊ झापाका सबै खालका मन्छेसँग परिचित भइसकेको थियो । छोटो समयमा नै झापाका राजनीतिक तहदेखि व्यवसायीसम्म उसको पहुँच थियो । साहै्र छोटो समयमा उसले आफ्नो पहिचानलाई माथि र्पुयाएको थियो ।
जुन रात उसको हत्या भयो, त्यो रात १० बजेर १०/११ मिनेटतिर हुनुपर्छ उसले मलाई फोन गरेको थियो । कता हो भनेर सोधेको थियो उसले । म घर पुगिसकेको थिएँ । पानी परेर बिजुली काटिएको थियो । पत्रिकाको काम सकिएकै थिएन । लाइन आएपछि अफिस जानु थियो मैले । उसले निकै पटक फोन गरेपछि मात्र थाहा पाएछु मैले । मसँग युवराजजी पनि हुनुहुन्छ, तिमीसँग केही कुराकानी गर्नु छ भन्यो उसले । मैले बिहान चिया खाँदै गफ गरौँला भनेँ । यादव मलाई लिन आउन लागेपछि मैले लिन आउनु पर्दैन, म आफँै आउँला भनेँ । त्यसपछि उनीहरुले मलाई कन्ट्याक पनि गरेनन्, म घरबाट निस्किइनँ पनि ।
राति झन्डै एक बजेतिर हुनुपर्छ । मित्र अर्जुन बस्नेतले फोन गर्नुभो मलाई । यादव पौडेलको जस्तै अनुहार र शरीर भएको शव भेटिएको छ भनेर उहाँलाई प्रहरीले फोन गरेको रहेछ । मैले अरु साथीहरुलाई पनि खबर गरेँ । हामी बसपार्क पुग्यौँ । नजिकबाट हेर्दा त्यो यादवकै शव थियो ।
अहिले सम्झन्छु, त्यो रात उठेर म त्यहाँ गएको भए के हुन्थ्यो होला ? साथीभाइहरु अहिले पनि चर्चा गर्छन्, तीर्थजी त्यहाँ गएको भए राम्रो हुन्थ्यो भन्छन् कोही । म गएको भए के हुन्थ्यो भन्ने प्रश्न चाहिँ अन्योल नै छ । म त्यहाँ गएको भए ममाथि पनि आक्रमण हुन्थ्यो कि ! या उसलाई केही हुँदैनथ्यो । त्यहाँ मैले केही भूमिका खेल्न सक्थेँ कि सक्दिनथिएँ, त्यो रहस्यको गर्भमै छ । त्यो दिनलाई सम्झिँदा अहिले पनि मलाई नरमाइलो लाग्छ ।
हत्याको कारण अत्यन्तै रहस्यमय नै देखिन्छ । तर, पत्रकारिता गरेकै कारण हत्या भएको भन्नेचाहिँ पत्रकार महासंघको ठहर छ । पत्रकारिताप्रति यादवको जुन प्रतिबद्धता थियो, ऊ बाँचेको भए पक्कै त्यो हेर्न पाइन्थ्यो । छोटो समयमा उसले ठूलो जिम्मेवारी त पायो नै । त्योसँगै राजधानी दैनिकजस्तो राष्ट्रियस्तरको पत्रिकामा पनि उसको दैनिक रिपोर्टिङ देख्न पाइन्थ्यो । राम्रा-राम्रा फिचरहरु, स्टोरीहरु उसले लेख्न सक्थ्यो । एभीन्युज जस्तो सशक्त टेलिभिजनमा पनि ऊ आबद्ध थियो । रेडियोमा उसले कतै बोल्न पाएको थिएन । उसका आवज सुनिएका थिएनन् । यद्यपि छापा र टेलिभिजन दुवै माध्यम फरकजस्ता लाग्छन् । तर, दुवै माध्यममा उसले जसरी सशक्त उपस्थिति जनाएको थयो, ऊ बाँचेको भए सशक्त पत्रकारको रुपमा पक्कै आफूलाई चिनाउँथ्यो ।
प्रतिक्रिया