तीन ‘ज’को संरक्षण गरी नलगाड बन्नुपर्ने

इनेप्लिज २०७२ चैत २४ गते २:४१ मा प्रकाशित

जाजरकोट, २४ चैत । नलगाड जलविद्युत् परियोजना निर्माणस्थलका स्थानीयवासीले तीन ‘ज’को संरक्षणसहित आयोजना निर्माण हुनुपर्ने माग गरेका छन् ।

आयोजना निर्माणस्थलका जनताको भेलाले यस्तो निर्णय गरेको नलगाड सरोकार समितिका अध्यक्ष गणेश सिंहले बताउनभयो । प्रभावित क्षेत्र खगेनकोट, सक्ला, लहँ, नायकवाडा, रोकायगाउँ गाविसका स्थानीयवासीले स्थानीय जङ्गल, जमिन, जडीबुटी संरक्षण हुने गरी नलगाड जलविद्युत् परियोजना निर्माण हुनुपर्ने माग गरेको सिंहले जानकारी दिनुभयो ।

आयोजना निर्माण गर्दा निर्माण क्षेत्रका जनतालाई बाहिरी जिल्लामा विस्थापित गर्नुभन्दा पनि प्रभावित क्षेत्रको आसपासमै राख्नसमेत अनुरोध गरेको सिंहले बताउनुभयो । परियोजनाका अध्यक्ष शेरबहादुर शाही प्रभावित क्षेत्रका स्थानीयवासीको पीरमर्का तथा गुनासा बुझ्न वारेकोटको लिम्सामा गएको बेला स्थानीयवासीले यस्तो माग गरेका हुन् ।

आसन्न निर्माण हुन लागेको डिपिआरमा नै आफ्ना कुरा राख्न स्थानीयवासीले शाहीलाई अनुरोध गरेका हुन् । स्थानीयवासीलाई मुआब्जा वितरणमा भेदभाव नगर्न र प्रभावित ठाउँमा अध्यक्ष आएर यथार्थ बुझ्नसमेत माग गरेको प्रभावित क्षेत्रमा रहेको वीरेन्द्र ऐश्वर्य उच्चमावि लिम्साका प्राचार्य गोरखबहादुर सिंहले बताउनुभयो ।

कर्मचारी नियुक्ति गर्दा प्रभावित क्षेत्रका स्थानीयवासीलाई बढी प्राथमिकता दिन स्थानीयवासीले सुझाव दिएका छन् । वारेकोटको सुन्दरता, पर्यावरणीय महत्वअनुरुप स्वरुप नबदलिने गरी काम गर्नसमेत स्थानीयवासीले सचेत गराएको नायकवाडाका प्रेमविक्रम सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया