नौ वर्षीया बालिका आफन्तबाटै बलात्कृत

इनेप्लिज २०७२ चैत २३ गते १६:०९ मा प्रकाशित

rapeखोटाङ, २३ चैत । खोटाङमा नौ वर्षीया बालिका आफन्तबाटै बलात्कृत भएकी छिन् । यही चैत ३ गते घरमा कोही नभएको मौका पारी स्थानीयवासी २० वर्षीय युवकले बालिकामाथि बलात्कार गरेका हुन् ।

मावली घर बस्दै आएकी बालिकालाई युवकले आफ्नै घरमा लगेर बलात्कार गरेको पीडितका आफन्तले बताएका छन् । घटनाको जानकारी पाएपछि पीडित बालिकाको आफन्तले आज जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी दिएको प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो ।

पीडित बालिकाको आफन्तले दिएको उजुरीका आधारमा जबर्जस्ती करणी महलअन्तर्गत मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

बलात्कारपछि युवकले कसैलाई पनि नभन्न दबाब दिएको र पीडित बालिकाले घटनाको केही दिनपछि मात्र आफ्नो आमालाई जानकारी गराएपछि घटनाबारे खुलासा भएको हो ।

घटनालगत्तै बालिका बलात्कार गर्ने युवक फरार भएको आफन्तले बताएका छन् । फरार युवकको खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको जिल्ला अस्पताल दिक्तेलमा स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ । बलात्कृत बालिकाको अवस्था सामान्य हुँदै गएको अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया