आर्थिक क्रियाकलापमा फड्को मार्दै सुन्दर गाउँ नारायणस्थान , बाग्लुङ-प्रकाश श्रेष्ठ

इनेप्लिज २०७२ चैत २३ गते १४:४८ मा प्रकाशित

image1

वरीपरी सुन्दर पहाडले ढाकेको धवलागिरीको काखमा रहेको मिनि उपत्यकाको रुपमा चिनिने सानो गाउँ नारायणस्थान हो । यो बाग्लुङ जिल्लाको बलेवा नगर विकास समितीमा आवद्ध तीन वटा गा.वि.स. मध्ये क्षेत्रफल र जनसंख्याको हिसावले पनि सानो रमणीय स्थानले भरिपुर्ण गा.वि.स. हो । यस गाउँमा खासगरी बाहुन , क्षेत्री समुदायको बाहुल्यता रहेको छ । साथै नेवार, दलित समुदायको पनि उपस्थिती रहेको छ तर गुरुङ, मगर समुदाय भने छैनन् । सबै समुदाय विच आपसी भाईचारा र सद्भाव भने उच्च रुपमा रहेको छ । विगतलाई संझेर ल्याउने हो भने यो गाउँमा पनि विविध किसिमका कठिनाईहरु र समस्याहरु भने भएको पाईन्छ ।
विगतमा गाउँमा सिंचाई सुविधाको अभावमा प्रशस्त जमिन भएर पनि बर्षमा एकपटक कोदो र मकै लगाउन मिल्ने बारीमा जीवन गुजारा गर्नु पर्ने बाध्यता यस गाउँका किसानहरुको रहेको थियो । बाली लगाउन र भित्राउन कै लागी त्यस्तै भारत लगायत केही खाडी मुलुक जानको लागी महंगो व्याजदरमा साहु-महाजन बाट ऋण लिनु पर्ने बाध्यता समेत रहेको थियो । हुनत: त्यती बेला अधिकांश क्षेत्री समुदायका युवाहरु भारतिय सेनामा कार्यरत रहेका पनि थिए तर पनि अन्य समुदायका व्यक्तीहरु भने भारतकै दिल्ली, मन्द्रास , मुम्बई , बनारस लगायतका स्थानहरुमा काम गर्न जाने गरेको पनि थिए । अधिकांश बाहुन समुदाय, नेवार समुदाय र दलित समुदाय भने फाटफुट रुपमा नेपालमै सरकारी जागीर र शिक्षण पेशामा बाहेक खेती किसानीमै आश्रित रहेका थिए । त्यतीबेला करिब ३ घण्टा पैदल यात्रा गरेर सरकारी कामकाज र किनमेलको लागी बाग्लुङ बजार जानु पर्ने हुन्थ्यो । बाग्लुङ बजार बाहेक कालीगण्डकी पारि रहेको पर्वतको कुस्मा बजारमा समेत किनमेलको लागी जाने गरिन्थ्यो तर हेर्दा र देख्दा छोटो दुरीमा रहेको कुस्मा बजार पुग्नको लागी लामो ओरालो आर्लेर फेदीमा रहेको झोलुंगे पुल तरेर फेरी लामो उकालो उक्लेर मात्र त्यहाँ पुग्न सकिन्थ्यो । कतिपय व्यक्तीहरु स्याङ्जाको नौडाडा र सेतीदोभान बजारमा पुगेर समेत सामानहरु (नुन, तेल, मसला, लत्ताकपडाहरु आदी) किनमेल गर्ने गरेको हुन्थे । त्यतीवेला नारायणस्थानमै रहेको बलेवा एर्पोर्ट संचालन भएकोले अधिकांश भारतिय सेनामा कार्यरत लाहुरे र अन्य लाहुरेहरु भैरबा बाट हवाईजहाजमा सिधै गाउँमा आउने गर्थे ।
त्यस्तै काठमाण्डौ र पोखरामा समेत हवाईजहाज संचालन हुने भएकोले खासगरी धवलागिरी अंचलका मुस्ताङ बाहेकका तिन जिल्लाहरु-पर्वत, म्याग्दी , बाग्लुङका व्यक्तीहरु भने हवाईजहाज प्रयोग गरि राजधानी काठमाण्डौ , पोखरा र भैरबा जाने-आउने गर्दथे । हवाईजहाज चल्ने कारणले प्रायः एरपोर्ट स्थल वरीपरी चहलपहल नै हुन्थ्यो । केही व्यापार – व्यवसाय पनि फस्टाएको देखिन्थ्यो । त्यतीबेला सबै भन्दा ठुलो समस्या खानेपानी , सिंचाई र चर्को व्याजदर (३६%) ले गर्दा सर्वसाधारणलाई जीवन गुजारा गर्न निकै समस्या थियो । हुनत: अझै पनि नारायणस्थानको कैया बाहेक अन्य स्थानमा सिंचाईको व्यवस्था छैन तर पनि अधिकांश वैदेशिक रोजगारीमा रहेकोले त्यतीवेला जस्तो आर्थिक समस्याबाट ग्रस्त परिवारहरु कमै देखिन्छ । पहिलेको समय मान्छेहरुको चहलपहल रहने एर्पोर्ट हाल दुई दशक भन्दा बढि भयो बन्द अवस्थामै छ ।
अझै पहिला-पहिलाको समस्या बारे बुढा-पाकाहरुको कुरा सुन्दा त अचम्मै लाग्छ । बुटवल , पाल्पा पुग्न स्याङ्जा आँधीखोलाको बाटो हुँदै धेरै दिन हिडेर नुन, तेल, लत्ताकपडा, अरु दैनिक गुजारा चलाउने सामानहरु ल्याउनु पर्ने मिठो खान र नयाँ कपडा लगाउन दशै-तिहार नै कुर्नु पर्ने थियो भन्ने जस्ता कुराहरु सुनिन्छ । गाउँका अन्धविश्वास र कुरितीहरुको त कुरै नगरौ, छुवाछुत र विभेद निकै हुने , साहु, महाजन, जिम्मुवाल-मुखियाहरुको खेतीपातीको काममा जानु पर्ने देखि गाउँका प्रधानपंचहरुको ज्यादतीहरु त आफ्नै ठाउँमा छदै थिए , अत्याचार र अमानवीय व्यवहार पनि अति नै हुन्थ्यो भन्ने कुराहरु पनि सुन्नमा आउँछ । सायद त्यतीबेला नेपालका प्रायः ग्रामिण क्षेत्रका ठाउँहरुमा यस्तै प्रकारका समस्या थिए होला । तर अहिले आएर गाउँको रुप रंग र मानिसहरुको सोचाई एवं दृष्टिकोणमा व्यापाक परिवर्तन आएको छ । हिजो साहुको पिढीमा ढुकेर तमसुकमा औठा छाप लगाएर गरगहना र बहुमूल्य चिजहरु बन्धक राखेर बार्षिक ३६ % को दरले ऋण लिनु पर्ने र ६-६ महिनामा ब्याजको स्याज बनाएर तमसुक नविकरण गर्ने र केही बर्षमै ऋणीको घरबास नै उठीबास गर्ने जुन अवस्था थियो त्यो क्रम आज आएर पुर्णरुपमा बन्द भएको छ । यो सबै भन्दा ठुलो उपलब्धी र परिवर्तन हो ।
सबै भन्दा पहिला वि.स. २०४५ सालमा पहिलो पल्ट यस गाउँमा कृषि विकास बैक अन्तर्गत ” साना किसान विकास आयोजना नारायणस्थान” कार्यालयको स्थापना र संचालन भयो । तब गाउँमा किसानहरु समुहमा आवद्ध भएर सामुहिक तवरबाट विभिन्न कृषिजन्य कार्यमा निश्चित प्रयोजनको लागी कम व्याजदरमा ऋण लिने गर्न थाले । साथै थोरै-थोरै भएपनि अनिवार्यरुपमा मासिक वचत गर्न थाले । त्यस्तै उक्त आयोजनाकै पहलमा केही प्रतिशत सरकारी अनुदान प्राप्त हुने गरि गोबर ग्याँस प्लाण्टहरु पनि निर्माण गरेर कृषकहरुले खाना पकाउने ग्याँस र २-३ वटा बत्ती समेत बाल्न मिल्ने सुविधाहरु लिन थाले । यस किसिमको सहज ऋण सुविधा र आफुले चाहेको कृषि कार्य, व्यापार -व्यवसाय, साना तथा घरेलु उद्योग संचालन गर्न आवस्यक पुँजीको व्यवस्था साथै प्राविधिक सेवाहरु समेत प्राप्त हुँदा कृषक र सर्वसाधारणहरुमा एक किसिमको खुशी छायो तर जो साहु -महाजन महंगो ब्याजदरमा ऋण दिएर राम्रो आय आर्जन गर्थे उनीहरुले भने यसरी संस्थाले आर्थिक कारोवार र सेवा पुर्याएकोमा सन्तुष्ट थिएनन् । कतिपयले संस्था प्रति नकारात्मक अफवाह फैलाउने काम समेत गरेका थिए तथापी सर्वसाधारण किसानहरु त्यस्ता हल्लाको पछि लागेनन् ।
त्यतिवेलाको संस्था संचालनमा र गाउँलेको संस्था प्रति विस्वास दिलाउने काममा तत्कालिन आयोजना प्रमुख कृष्ण मल्लको योगदानलाई आज सम्म पनि गाउँलेहरुले स्मरण गरेको देखिन्छ । हाल उक्त साना किसान विकास आयोजना सहकारीमा रुपान्तरण भएर चलिरहेको छ । अहिले साना किसान सहकारी संस्थाको नामबाट कारोबार गरिरहेको संस्थाले आफ्नो कार्यक्षेत्र नारायणस्थान बाहेक अरु छिमेकी गाउँहरुमा पनि विस्तार गरेको छ । त्यस्तै दैनिक बचत , खुतुर्के बचत लगायत बचत कार्यक्रमलाई प्रोत्साहन गर्दै लागु गरेको छ । कृषकहरुलाई आवस्यक पर्ने कर्जा सुविधा एवं वैदेशिक रोजगारमा जानेलाई जग्गा-घर जस्ता अचल सम्पती धितो राखेर आवस्यक रकम सहुलियत ब्याजदरमा उपलब्ध पनि गराउँछ । यसको अलावा वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिटेन्सलाई सहजै गाउँघरमै उपलब्ध गराउनको लागी विभिन्न मनीट्रान्सफर कम्पनीको सेवाहरु पनि उपलव्ध गराउँदछ जसले गर्दा विदेशबाट पठाएको रकम सजिलै घरदैलो सम्म पुग्ने अवस्था भएको छ ।
अझै वि.सं. २०६४/६५ तिर स्थापना र संचालन भएको बहुउद्देश्यीय सहकारी संस्था ” राहत बहुउद्देश्यीय सहकारी ” संस्था अस्तित्वमा आए पछि झनै विभिन्न सेक्टरमा ऋण लगानी गर्ने र वचतलाई दैनिक रुपमा संकलन गर्ने काम अझै व्यवस्थित हुन पुग्यो । नारायणस्थानको छिमेकी गा.वि. स. पयुँपाटा, अमलाचौरमा समेत घरदैलोमै पुगेर दैनिक रुपमा बचत संकलन गर्ने काम तिव्र बनाईयो । उक्त सहकारीले रेमिटेन्स सम्बन्धी कारोवार पनि गर्ने गर्दछ अर्थात् विदेशबाट आएको रकम भुक्तानी दिने काम नेपालभरि रकम पठाउँने काम पनि यो संस्थाबाट गर्न सकिन्छ । मनिग्राम, आई.एम.ई. , प्रभु मनि ट्रान्सफर , वस्टर्न युनियन मनि ट्रान्सफर लगायत विभिन्न मनीट्रान्सर कम्पनीको एजेन्सी सेवाको काम समेत गर्ने हुँदा खासगरी अमेरिका , युरोप, जापान, साउदी अरब र विभिन्न मुलुकबाट पठाएको रकम सहजै प्राप्त गर्न सकिने साथै व्यापार , व्यवसाय, पेशाको लागी चाहिने कर्जा र वैदेशिक रोजगारी कर्जा समेत सर्भसुलभ व्याजदरमा किस्तावन्दी भुक्तानीको सुविधा सहित सजिलै आवस्यक रकम कर्जाको रुपमा उपलब्ध हुने भएकोले यस संस्था प्रति जनविस्वास बढेको देखिन्छ ।
त्यस्तै यो राहत सहकारी संस्था खुलेको १-२ बर्ष पछि नै लगत्तै अर्को सहकारी संस्था अझै व्यवस्थित रुपमा संचालन हुने गरि स्थापना भयो । “बलेवा एकता वचत तथा ऋण सहकारी संस्था”को नाम बाट वि.स. २०६७ मा उक्त संस्था बहुउद्देश्यीय कारोवार गर्ने हिसावले संचालनमा आयो । हाल यस संस्थाले समेत दैनिक वचत संकलन तीन वटै गा.वि.स.मा गर्ने र विभिन्न उद्देश्यमा कृषक र सर्वसाधारण , व्यापारी , व्यवसायी एवं बैदेशिक रोजगारमा जानेहरुलाई समेत आवस्यक कर्जा तोकिएको धितो राखेर दिदै आएको छ । त्यस्तै सबै भन्दा बढी , विभिन्न किसिमका रेमिटेन्स कम्पनीको तर्फबाट रेमिटेन्सको कारोवार समेत गर्दै आएको छ । यस संस्थाको सकृयतामा छिट्टै नै नारायणस्थानमा बलेवा एरियाको उत्पादनहरुलाई बजारीकरणको व्यवस्था उपलब्ध गराउन र उपभोक्तालाई समेत कृषिजन्य र पशुजन्य उत्पादनहरु सर्वसुलभरुपमा एकै स्थानमा उपलब्ध गराउन “हाट बजार” संचालन गर्न हाट बजार संचालक समिती समेत बनेर कार्य अगाडी बढेको खबर समेत आएको छ । अव हाट बजार संचालनमा आएमा पक्कै पनि किसानहरुले उत्पादन गरेको वस्तुहरुले सहजै बजार पाउने छन् भने उपभोक्ताहरुले पनि घरगाउँमै उत्पादन भएका ताजा कृषि सामाग्रीहरु सुपथ मुल्यमा प्राप्त गर्न सक्ने छन् । यस्तो कार्यले कृषि व्यवसायको पनि विकास र विस्तार हुन मद्दत पुग्ने छ । केही युवाहरुले कृषि र पशुपालन व्यवसाय अपनाएर स्वरोजगारीको रुपमा कार्य संचालन गर्दै आएको पनि पाईन्छ ।
उत्पादित वस्तुलाई अहिले सजिलै नजिकैको कुस्मा बजारमा लैजान सकिने भएकोले पनि कृषि व्यवसायमा लाग्नेहरुको संख्या विस्तारै बढ्दै गएको पाईन्छ । उत्पादित बस्तुलाई बजार सम्म लैजानको लागी केही बर्ष अघि देखि संचालनमा आएको केवुलकार प्रविधीमा आधारित “यान्त्रिक पुल” कुस्मा देखि बलेवा (नारायणस्थान एर्पोर्ट देखि केही दुरीको डिलमा) सम्मकोले निकै सजिलो बनाएको छ । त्यस्तै २ बर्ष पहिले संचालित नेपालकै अग्लो “कुस्मा -कैया ,नारायणस्थान ” झोलुंगे पुल संचालनले पनि झनै आवत-जावत र सामान ओसारपसार गर्न साथै कृषि सामाग्री बेच विखनको लागी बजार सम्म लैजान सहज भएको छ । त्यस्तै कृषकहरुले उत्पादन गरेको दुध संकलन गर्ने “नारायणस्थान दुग्ध संकलन सहकारी संस्था ” संचालनले समेत( वि.स. २०६४/६५ ताका नै स्थापना र संचालन भईरहेको) झनै पशुपालन कार्यलाई बढोत्तरी दिने काम भएको छ ।
यसरी हेर्दा वर्तमान समयमा कुनै पनि व्यापार , व्यवसाय, उद्यम संचालन गर्न आवस्यक पुँजी सजिलै गाउँघरमै उपलब्ध हुन संभव भएको छ । त्यस्तै शैक्षिक क्षेत्रको विकास र विस्तारमा पनि नारायणस्थानमा सन्तोषजनक अवस्था रहेको छ । विगतमा ३ वटा प्रा. वि. तह, एउटा नि.मा.वि. तह , एउटा हाईस्कूल ,एउटा उच्च मा.वि. रहेकोमा हाल एउटा प्रा.वि. , एउटा नि.मा.वि. , एउटा मा.वि. र एउटा उच्च मा.वि . र एउटा डिप्लोमा तहको पढाई हुने क्याम्पस समेत रहेको छ भने एउटा निजी अंग्रेजी बोर्डिंग स्कुल नि.मा.वि. तह सम्म संचालनमा रहेको छ । सबै स्कुलहरुमा प्रा.वि. तहमा अंग्रेजी माध्यमबाटै पठनपाठन गर्ने व्यवस्था गरिएको छ । मा.वि. र उच्च माध्यमिक विद्यालयले आधारभुत कम्प्युटर शिक्षाका कक्षाहरु संचालन गरेका छन् । त्यस्तै जनता धन उ.मा.वि. मा दृष्टि विहिन विद्यार्थीलाई आवसिय सुविधा सहित पठनपाठनको व्यवस्था विगत वि.सं. २०४५/४६ साल देखि नै गरिदै आएको छ। त्यस्तै केही बर्ष पहिला मात्र मा.वि. तहको पढाई थालनी गरेको गणेश मा.वि. ठाँटीलाई सामुदायिक विद्यालयको रुपमा जिल्लामै नमुना सामुदायिक विद्यालयको रुपमै संचालन गर्न सफल भएको देखिन्छ ।
यसरी शैक्षिक क्षेत्रको विकास सँगै प्रायः उच्च मा.वि. तह र डिप्लोमा तहको पढाईको लागी राजधानी र पोखरा लगायत अन्य स्थानमा विद्यार्थी कमै जाने गरेको देखिन्छ । शैक्षिक क्षेत्रको विकास सँगै आर्थिक गतिविधीमा समेत वृद्धि हुन गएको सहजै अनुमान गर्न सकिन्छ । हुनत: पछिल्लो समय अधिकांश युवाहरु जापान, युरोपियन देश र अमेरिका उल्लेखनिय रुपमा जाने क्रम बढेको छ । विगतमा खाडी मुलुकमा र भारतमा रोजगारीको लागी जाने भएपनि हाल ती देशहरुमा जाने ट्रेण्ड कम देखिन्छ । कतिपय युवाहरु नेपालमै क्याम्पस तहको अध्यायन पुरा गरि सरकारी निकाय तथा प्राईभेट बैक, विक्तिय संस्थाहरुमा समेत जागीर खाने गरेको पनि पाईन्छ । त्यस्तै कतिपय युवाहरु रोजगारी एवं अध्यायनको उद्देश्यले जापान , बेलायत , अमेरिका लगायत विभिन्न मुलुकमा जाने क्रम पनि ह्व्त्तै बढेको छ । स्वदेशमा होस् या विदेशमा युवाहरु रोजगारीमा संलग्न भएकोले पहिलाको तुलनामा यस गा.वि.स. को आम्दानी र क्रयशक्तिमा निकै वृद्धि भएको अनुमान गर्न सकिन्छ तथापी स्वदेशमै आर्थिक गतिविधीलाई वृद्धि गरि बढ्दो वैदेशिक रोजगारीमा दैनिक युवाहरु बाहिरिने क्रमलाई भने कम गर्नु आवस्यक छ । यसको लागी सम्बन्धीत पक्षहरु वा समग्र गाउँलेहरुले विवेकशिल भएर सोच्नु पर्ने र आवस्यक उपायहरु अबलम्बन गरेर गाउँमै स्वारोजगारी सृजना गर्ने साना तथा मझौला उद्योग , व्यवसाय संचालन गर्न, निर्वाहमुखी कृषि उत्पादनलाई व्यवसायिक कृषि उत्पादनमा रुपान्तरण गर्न आवस्यक कदम चाल्नु पर्ने देखिन्छ । यो गा.वि.स. नगरपालिका उन्मुख गा.वि.स. पनि भएकोले गाउँमा विकासका तमाम पुर्वाधारहरुको उपयुक्त विकास गर्नु पर्ने पनि देखिन्छ ।
साना -तिना कारोवार गर्ने महिला सहकारी संस्थाहरु समेत यस गाउँमा थुप्रै क्रियासिल रहेको र खासगरी महिलाहरु नै समुहमा आवद्ध भएर मासिकरुपमा समुहको बैठक राखेर निश्चित रकम सामुहिक रुपमा वचतको रुपमा संकलन गर्ने र यसरी संकलित रकम र शेयर सदस्यहरुबाट प्राप्त रकम त्यस्तै अन्य क्षेत्रबाट प्राप्त रकमलाई सहकारीमा आवद्ध सदस्यहरु मध्ये आवस्यक परेकालाई कर्जाको रुपमा लैजान दिने र निर्धारित समयमा पुन: मासिकरुपमा आयोजना गरिने समुहको बैठकमा नै किस्ता र ब्याजको रकम भुक्तान गर्ने र जम्मा हुन आएको रकम फेरी लगानी गर्ने र एवंरितले महिलाहरुले पनि सानोतिनो व्यवसाय संचालन गर्न र घरेलु आर्थिक गर्जो टार्ने गरेको पाईन्छ । यसरी हेर्दा यस गाउँमा आर्थिक कारोवार र गतिविधी तिव्रता बढ्दै गएको र व्यक्ती विशेषबाट कर्जा लिने चलन अधिकांशरुपमा हटिसकेको पाईन्छ । गा.वि.स. का हरेक वडाहरु र टोलहरुमा अस्थायी सडक (मोटरहरु गुड्न सक्ने) पुगिसकेको र बाग्लुङ -कुश्मीशेरा ग्राभेलिंग सडक र नयाँ बन्दै गरेको उत्तर-दक्षिण भेगलाई छिटो छरितो सडक संजालमा जोड्नको लागी नेपाली सेनाको नेतृत्वमा कार्य संचालन भईरहेको “कालीगण्डकी करिडोर सडक ” समेत यसै गा.वि.स. भएर जाने भएकोले पनि भविष्यमा अझै उत्पादित वस्तुको बजारीकरण र साना तथा घरेलु उद्योग संचालन गर्नको लागी आवस्यक कच्चा पदार्थ ढुवानी गर्ने साथै निर्माण सामाग्री समेत बाहिरबाट ल्याउनको लागी सजिलो हुने देखिन्छ । त्यस्तै यस गाउँमा साना-तिना घरेलु उद्योगहरु पनि संचालन भएर केही व्यक्तीहरुले रोजगारी पाएका छन् । खासगरी फर्निचर उद्योग, ग्रिल उद्योग , कुटानी -पिसानीको आधुनिक मिलहरु , पाउरोटी उद्योग , कृषि फर्महरु , कुखुरापालन फार्महरु संचालन भएको पाईन्छ । यस्तै विगतमा बढी मात्रामा युवाहरु भारतिय सेनामा नै भर्ति हुने कुरालाई बढी प्राथमिकता दिने गर्दथे भने आजकल पढाई, व्यवसायिक उद्यम र वैदेशिक रोजगारीलाई बढी महत्व दिने गरेको पाईन्छ ।
अझै भन्ने हो भने नेपालमै बढी वैदेशिक रोजगारीमा युवाहरु रहेको जिल्ला बाग्लुङ हो । त्यसैमा पनि यस गा.वि.स. को मुख्य आम्दानीको स्रोत पनि वैदेशिक रोज़गार र भारतिय रिटायर्ड सेनाको पेन्सनबाट प्राप्त आम्दानी नै हो भन्न सकिन्छ । यसरी प्राप्त आम्दानीलाई उत्पादनशिल कार्यमा लगाउनको लागी अझै भावी आर्थिक योजनाहरु बनाएर जानु पर्ने करोडौ कारोवार गर्ने सहकारीलाई आवस्यक बैंकिंग सेवा, सुविधा दिनको लागी भरपर्दो बैकको शाखाहरु खुल्नु पर्ने तड्कारो आवस्यकता समेत रहेको छ । त्यस्तै खाली जग्गाहरुलाई जग्गा धनीहरु आपसमा मिलेर व्यवस्थित पलटिंग गरि वस्ती विकासलाई जोड दिनु आवस्यक छ । बाग्लुङ बजार र कुस्मा बजारमा घनाबस्ती भई सकेकोले आउँदो दिनमा नारायणस्थानमै भौगोलिक रुपमा समथर जग्गा भएको साथै सेवा-सुविधाहरुको पनि विस्तार हुँदै गरेकोले यो एउटा वैकल्पिक नयाँ बजारको रुपमा विकास हुने सम्भावना रहेको पनि कसैले नकार्न सकिदैन ।
त्यस्तै पर्यटन क्षेत्रको विकास गर्न समेत आवस्यक कदम चाल्न सकिन्छ किनकी नारायणस्थान बाट नजिकै पश्चिम तर्फ अमलाचौर गा.वि.स. मा पर्ने अग्लो पहाडको चुचुरोको टुप्पोमा अवस्थित धार्मिक महत्व रहेको भैरव स्थान मन्दिरमा जानको लागी र त्यही बाटो गरि मुलावारी भन्ने स्थान जहाँबाट धवलागिरी र माछापुछ्रे हिमालको मनोरम दृश्य अवलोकन गर्न समेत सकिन्छ । ती स्थानमा जानको लागी आवस्यक पदयात्रा र नारायणस्थानबाट भैरव स्थान मन्दिर सम्म जान मनकामना केवुलकार मोडलको केवुलकारको व्यवस्था गर्न सकेमा धार्मिक तथा प्रकृतिक दृश्यवोलकन गर्ने आन्तरिक तथा बाहिय पर्यटकहरुलाई आकर्षित गरि पर्यटन व्यवसायको विकास र विस्तार गर्न सकिन्छ । अर्को तर्फ बलेवा एर्पोर्ट भन्दा २००-२५० मिटर दुरी पुर्वतिर काली गण्डकी अग्लो भिर भन्दा मुनि बेसीबाट बगेको अवस्था छ तसर्थ यो स्थानबाट बंजीजाम जस्तो साहसिक खेलको व्यवस्था गर्न सकिन्छ । अझै वर्तमान समयमा संचालनमै रहेको अग्लो झोलुंगे पुल भएको स्थान बाट सजिलै बंजीजामको व्यवस्था गर्न समेत सकिन्छ । जसबाट पर्यटनको विकास गर्न सकिने प्रशस्त संभावना देखिन्छ । यस किसिमको सम्भावनाहरु समेत यस क्षेत्रमा रहेको देखिन्छ । यस्तो कार्यलाई सम्पन्न गर्न बलेवा एर्पोर्ट संचालन हुनु भने आवस्यक देखिन्छ जसले गर्दा धवलागिरीमा पर्यटनको विकास प्रचुररुपमा हुन समेत थप मद्दत पुग्न सक्छ । अत: अब गा.वि.स.ले व्यवस्थित गुरुयोजना बनाएरै आफ्नो गाउँ भित्रको तमाम सामाजिक सेवा र आर्थिक क्षेत्रको विकास गर्नु जरुरी छ ।
अन्तमा ग्रामिण तहमा रहेको तमाम गाउँहरुले आर्थिक विकासले तिव्रता दिनको लागी गाउँलेहरुकै सहभागितामा सहकारी संस्थाहरु स्थापना गरेर संचालन गर्नु पर्ने आवस्यकता छ । यस्तो हुन सकेमा सानो-तिनो आय -आर्जन गर्नको लागी संचालन गरिने व्यवसाय र उद्यमलाई आवस्यक पर्ने पुँजीको सजिलै व्यवस्था गर्न सकिन्छ । प्रत्येक गाउँहरुमा आर्थिक गतिविधीहरुको विकास र विस्तार हुन सकेमा पक्कै पनि समग्ररुपमा गरिवी निवारण गर्न , रोजगारीको अवसर सृजना गर्न र विस्तार गर्न सकिने देखिन्छ ।

बाल्टिमोर, मेरिल्याण्ड , अमेरिका

प्रतिक्रिया