चर्पी नबनाएकालाई गाविसले सेवा नदिने

इनेप्लिज २०७२ चैत २२ गते ८:४० मा प्रकाशित

cartoon-toilet-1पथरी (मोरङ), २२ चैत । चर्पी नबनाउने घरपरिवारलाई बुधनगर गाविसले कुनै पनि सेवा सुविधा उपलब्ध नगराउने भएको छ ।

विसं २०७४ भित्र बुधनगर गाविसलाई खुल्ला दिसापिसाब मुक्तक्षेत्र घोषणा गर्ने अभियानअन्तर्गत गाविस र सरसफाइ समन्वय समितिले चर्पी नबनाउने घरपरिवारलाई कुनै पनि सेवा सुविधा उपलब्ध नगराउने भएको हो ।

गाविस सचिव दयाराम सिलवालका अनुसार चर्पी नबनाउने घरपरिवारका सदस्यलाई नागरिकता, जग्गा नामसारी, विवाह दर्ता, सामाजिक सुरक्षा भत्ता वितरण, जन्मदर्ता, मृत्युदर्तालगायत विभिन्न सेवा गाविसबाट रोक्का गरिनेछ ।

गाविस सचिव सिलवालले भन्नुभयो – “चर्पी नबनाउने परिवारका सदस्यलाई गाविसले सेवा सुविधा रोक्का गर्ने छ ।”

एक दर्जन राजनीतिक दलका स्थानीय नेता र समाजसेवीलाई मिलाएर स्थानीय सरसफाइ समन्वय समिति निर्माण गरिएको छ ।

सरसफाइ समन्वय समितिका सदस्य तथा स्थानीय शिक्षक हरि मण्डलका अनुसार आगामी असारसम्ममा चर्पी नबनाइएका घर भेटिए सरसफाइ समन्वय समितिले गाविसलाई सेवा सुविधा रोक्का गर्न सिफारिस गर्ने छ ।

सो गाविसमा दुई हजार ४२६ घरपरिवारका ५८५ चर्पी रहेको र एक हजार ८४१ घरपरिवारको चर्पी नभएको बुधनगर गाविसको तथ्याङ्कमा उल्लेख गरिएको छ । गाविस सचिव सिलवालका अनुसार बुधनगर गाविसमा चर्पी नबनाउनेलाई रु ५०० देखि एक हजार जरिवाना गर्ने र आफ्नै खर्चमा चर्पी बनाउन लगाइने नियम बनाइएको छ ।

प्रतिक्रिया