नेपालमा दैनिक ४० वटा भूकम्प

इनेप्लिज २०७२ चैत २२ गते ८:३८ मा प्रकाशित

vukampaकाठमाडौँ, २२ चैत । गत वैशाख १२ को ७.६ रिक्टर स्केलको शक्तिशाली गोरखा भूकम्पपछि नेपाल प्रतिदिन सरदर ४० वटा परकम्प जाने गरेका छन् ।

उक्त भूकम्पपछि परकम्प जाने क्रम जारी छ । हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४४५ परकम्प गएका छन् । अहिले दैनिक ४ रिक्टर मुनिका सरदर ४० वटासम्म भूकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

त्यसो त, वैशाख १२ को भूकम्पअघि पनि नेपालमा दिनहुँ ४ रिक्टर मुनिका १२ देखि १५ वटा भूकम्प गइरहेका हुन्थे । यद्यपि तिनको अभिलेख राखिन्नथ्यो ।

ठूलो भूकम्पपछि परकम्प आउनेक्रम जारी रहेको र अहिले पनि दैनिक ३० देखि ४० वटासम्म भूकम्प गइरहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताउनुभयो ।

“वैशाख १२ को ७.६ रिक्टरको भूकम्पपछि हालसम्म गइरहेका परकम्प भनिए पनि भूकम्प नै हो ।” – उहाँले भन्नुभयो ।

गोरखा भूकम्पपछि सुरुको एक महिनासम्म दिनमै ४ रिक्टर स्केलभन्दा मुनिका एक हजार ३०० सम्म भूकम्प (परकम्प) गएका थिए भने लामो समयसम्म दैनिक ५०० वटा भूकम्प गएका थिए ।

पछिल्लो समय परकम्प कम हुँदै गएको छ । ठूलो भूकम्प गएपछिको अवस्थामा लामो समयसम्म परकम्प नगएमा ठूलो भूकम्प जाने खतरा भएकाले परकम्प समय समयमा गएकै राम्रो हुने विज्ञहरु बताउँछन् ।

केन्द्रको विवरणअनुसार वैशाख १२ को भूकम्पअघिका वर्षहरुमा ४ रिक्टर स्केलभन्दा माथिका वार्षिक २५ देखि ६० वटा भूकम्प गएका थिए ।

यसैबीच आज बिहान ९ बजेर ४० मिनेट जाँदा बाजुरा केन्द्रविन्दु भएर ४.३ रिक्टर स्केलको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया