दिगो फोहरमैला व्यवस्थापनका लागि परियोजना

इनेप्लिज २०७२ चैत २२ गते ८:३६ मा प्रकाशित

इलाम, २२ चैत । इलाम नगरपालिकामा युरोपेली सङ्घको आर्थिक सहयोगमा सञ्चालित दिगो फोहर व्यवस्थापन गर्न ‘हरित उद्यमशीलताका लागि सार्वजनिक निजी साझेदारी परियोजना’ ले फोहरमैला व्यवस्थापनको कामलाई तीव्ररूपमा अघि बढाउन थालेको छ ।

परियोजनाले हरितनगर अवधारणाबमोजिम वातवरणमैत्री रणनीतिअनुरुप नगर क्षेत्रबाट सङ्कलन हुने कुहिने र नकुहिने फोहरको वर्गीकरण गरी मल उत्पादन गर्न, वातावरण स्वच्छ र हराभरा बनाउने, नगरको सुन्दरता कायम राख्ने गरी विभिन्न क्रियाकलाप सञ्चालनका लागि साझेदार संस्था छनोट गरेर फोहरमैला व्यवस्थापनको कामलाई अघि बढाएको छ ।

नगरपालिकामा विनरक इन्टरनेसनलमार्फत सार्वजनिक निजी साझेदारी ढा“चा अवलम्बन गरेर दिगो फोहरमैला व्यवस्थापन गरिने बताइएको छ ।

युरोपेली सङ्घको रु ११ करोड ५९ लाखसहित इलाम नगरपालिकाको रु एक करोड २८ लाख गरी कुल रु १२ करोड ८७ लाखको बजेटबाट कम्पोस्ट प्लान्ट निर्माण, घरधुरी सर्वेक्षण फोहर सङ्कलनको तथ्याङ्कलगायतका काम सम्पन्न भइसकेको विनरक इन्टरनेसनलका परियोजना अधिकृत बद्रीनाथ बरालले जानकारी दिनुभयो । “कार्यक्रम सुरू भएदेखि घरधुरी सङ्ख्या, फोहरको मात्रा, फोहरको किसिमलगायतका थुप्रै काम भएका छन्, अब सबै काम निजी संस्थालाई दिने तयारी छ त्यसपछि सबै काम दु्रतगतिमा अघि बढ्छ, बरालले भन्नुभयो ।

सड्ने फोहरलाई व्यवस्थापन गरी कम्पोस्ट मल उत्पादन गर्न निजी साझेदार मुख्य हिस्सेदार भए पनि कुन मोडल उपयुक्त हुन्छ भन्ने विषय किटान हुन बाँकी रहेको परियोजनाले जनाएको छ । मुलुकका विभिन्न स्थानमा बक्स कम्पोस्टिङ प्रविधि सफल भएकाले यो नै बढी उपयोगी हुनेमा परियोजना पुगेको छ । मेसिनमार्फत फोहर टुक्राएर मल बनाउने प्रविधि पनि प्रस्ताव गरिएको छ ।

नगरपालिकाका पाँच हजार ४७५ घरधुरी र सङ्घसंस्थामा गरेको सर्वेक्षणले नगरबासीले दैनिक औसत प्रतिघर ९०० ग्राम तथा प्रतिसङ्घसंस्था दैनिक एक किलो ७०० ग्राम फोहरमैला उत्पादन हुने गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । उक्त फोहरमैलामध्ये ७२ प्रतिशत कुहिने तथा २८ प्रतिशत फोहरमैला नकुहिने रहेका छन् ।

सबैभन्दा बढी दैनिक १.०१ मे.ट. फोहर उत्पादन हुने गरेको छ । यसमध्ये वार्षिक ३७४ मे.ट. कुहिने फोहरबाट १५० मे.ट. कम्पोस्ट उत्पादन हुने जनाइएको छ ।

सर्वेक्षण अनुसार हाल ४२ प्रतिशत नगरवासीसम्म नगरपालिका कार्यालयको फोहर सङ्कलन प्रणालीको पहुँच रहेको तथा घरधुरीमा उत्पादित फोहरमध्ये ६० प्रतिशत परिवारले फोहरमैलालाई स्रोतमै वर्गीकरण गर्ने गरेका छन् । नगरवासीले फोहरमैला व्यवस्थापनबापत न्यूनतम रु ४६ देखि अधिकतम रु १०० सम्म प्रतिमहिना तिर्न सक्ने जनाएको सर्वेक्षणले देखाएको छ ।

फोहर व्यवस्थापनमा निजी क्षेत्रको सक्रियता बढेस“गै आर्थिक उपार्जन गर्नसक्ने, नगरपालिकाको खर्च घट्नेस“गै रोजगारीमा वृद्धि हुने परियोजनाको दीर्घकालीन लक्ष्य छ ।

प्रतिक्रिया