युवा कवि भुपिनको ” सुप्लाको हवाईजहाज” लोकार्पण हुँदै

इनेप्लिज २०७२ चैत १७ गते १७:३० मा प्रकाशित

image2

अहिलेको युगमा कविता, साहित्य, संगित जस्ता विधाहरु , समाजमा चेतनाको विकास र परिवर्तनको बाहक बन्दै गएको सबैले महशुष गरिदै आईएको छ । यसै सन्दर्भलाई जोड्ने हो भने अहिलेका शक्तिशाली युवा कवि तथा निबन्धकार भुपिन खड्कालाई पनि यस किसिमको समाज रुपान्तर र समाजमा रहेका अनेक विकृति र विसंगतीहरुलाई सबैले बुझ्ने भाषामा साहित्यिक सृजना मार्फत व्यक्त गर्ने सशक्त व्यक्तीको रुपमा हेर्ने गरिन्छ । उनको जन्म नारायणस्थान -३, बलेवा बाग्लुङमा आज भन्दा करिव ४२ बर्ष पहिला भएको थियो । उनले स्कुल जीवन देखिनै साहित्यको फाँटमा कलम चलाउन शुरु गरेतापनि खासगरी उनले क्याम्पस जीवनको शुरुवात जव पृथ्वी नारायण क्याम्पस पोखरामा आई.एस.सी. पढ्दा देखि भने बढि सकृय रुपमा साहित्यिक सृजना र लेखनमा लागेका थिए । उनको पहिलो कविता संग्रह ” क्षेती ग्रस्त पृथ्वी र मौन सडक ” भन्ने थियो र यो वि.सं. २०५३ मा पोखराबाट प्रकाशित भएको थियो । त्यसै बर्ष राष्ट्रियस्तरको ” राष्ट्रिय कविता सम्मेलन” मा ” नदीहरु मान्छे जस्ता हुँदैनन्” भन्ने कविता प्रस्तुत गरेर प्रथम पुरस्कार हात पार्न सफल भएका थिए । पोखरेली कविहरु शरुभक्त श्रेष्ठ , रमेश श्रेष्ठ , तिर्थ श्रेष्ठ लगायत थुप्रै कविहरुको संगतमा उनले पोखरामा थुप्रै साहित्यिक कार्यक्रमहरु संचालन गरेका थिए । अन्नपूर्ण कविता पदयात्रा जस्ता कार्यक्रमहरु संचालन गरि ग्रामिण भेगमा सर्वसाधारणहरुलाई चेतनामुलक कविताहरु पदयात्रामा सहभागी कविहरुले सुनाउने गरेको पनि त्यतीवेला देखि नै देखिन्छ ।

image1
उनले अध्यायनको शिलशिलामा पनि कविताको रथ अगाडी बढाईनै रहे र थुप्रै कविता संग्रह सम्बन्धी कृतीहरु प्रकाशित पनि भएर थुप्रै राष्ट्रिय स्तरका पुरस्कारबाट सम्मानित पनि भए । उनका कविता कृतीहरु दर्जनौ प्रकाशित भएका छन् र राष्ट्रियस्तरको कान्तिपुर, गोरखापत्र जस्ता दैनिक न्युजपेपरहरुमा पनि समय-समयमा कविताहरु र निबन्धहरु प्रकाशित भईरहेको पाईन्छ । उनको वि. स. २०६६ मा प्रकाशित भएको कविता कृती ” हजार बर्षको निद्रा” लाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाले समेत उत्कृष्ट कृतीमा छनौट गरि उनलाई पुरस्कृत गरेको थियो । साथै उनको वि.स. २०६९ मा प्रकाशित भएको निबन्ध कृती ” चौविस रिल” ले उत्तम शान्ती पुरस्कार समेत प्राप्त गरेको थियो र उक्त निबन्ध कृती अत्यान्तै लोकप्रिय पनि बन्यो । हाल भरतपुरमा कर्मथलो बनाएका कवि भुपिनले सप्त गण्डकी क्याम्पस भरतपुरमा प्राध्यापन गर्दछन् साथै भरत नेराघेराका एफ.एम. रेडियोबाट साहित्यिक कार्यक्रमहरु पनि संचालन गर्दछन् । यसको अतिरिक्त साहित्य सम्बन्धी कार्यक्रममा व्यस्त रहने उनी र उनी जस्तै कवि, साहित्यकारहरु मिलेर “अक्षर समुह” चितवन स्थापना गरेर मोफसलको साहित्यलाई संशक्तरुपमा अगाडी बढाईरहेका छन् । त्यस्तै पछिल्लो समय कवितालाई पनि थिएटर/ हलहरुमा गएर सशुल्क सुन्न सकिन्छ भन्ने मान्यतालाई विकास गर्दै ” टिकटमा कविता” सुनाउने कार्यक्रमलाई विकास र विस्तार गर्दै लगेको र यसले व्यापक सफलता पाएको छ । यस किसिमको अभियानले सार्थकता पाए सँगै अहिले नेपालभरि यस किसिमको चलननै चलेको छ ।
यसरी विशेषगरी कविताको क्षेत्रमा सशक्त कलम चलाउने कवि भुपिनको आगामी दिन अर्थात् यही चैत्र २० गते शिल्पी थिएटर काठमाण्डौमा लोकार्पण हुन गईरहेको कविता कृती ” सुप्लाको हवाई जहाज” निकै नै चर्चामा आएको छ । उक्त कार्यक्रममा कवि, साहित्यकारहरुको बाक्लो उपस्थिती रहने कुरा पनि जानकारीमा आएको छ । उनको यस कार्यक्रमको सफलताको कामना गर्दै आगामी दिनहरुमा पनि गाउँका शोषित , पिडित र दमनमा परेका आमनागरिकका बारे कविता र अन्य सृजनाहरु लेखेर साथै साहित्यिक गतिविधी संचालन गरेर थप योगदानहरु पुर्याउन सफल होउन भनि हार्दिक शुभकामना समेत ब्यक्त गरिन्छ ।
( प्रस्तुती-प्रकाश श्रेष्ठ , बाल्टिमोर, अमेरिका )

प्रतिक्रिया