क्षेत्रीयस्तरको मिडिया अन्तक्र्रिया सम्पन्न

इनेप्लिज २०७२ चैत १५ गते १२:१३ मा प्रकाशित

नेपालगन्ज, १५ चैत । नेपाल सरकार स्वास्थ्य सेवा विभाग राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, काठमाडौँको आयोजनामा क्षेत्रीयस्तरको मिडिया अन्तक्र्रिया कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ ।

मध्यपश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गत पर्ने १५ जिल्लाका नेपाल पत्रकार महासङ्घका प्रमुख तथा प्रतिनिधिको सहभागितामा परिवार नियोजन र सुरक्षित मातृत्व तथा नवजात शिशुसम्बन्धी एकदिने अन्तक्र्रिया भएको हो ।

कार्यक्रममा क्षेत्रीय स्वास्थ्य निर्देशक भोगेन्द्र डोटेलले दुर्गम ठाउँमा अस्पताल भए पनि औषधि र सम्बन्धित साधन निर्यात समयमा नहुँदा स्वास्थ्य सेवा प्रभावकारी बन्न नसकेको बताउनु भयो ।

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा मिडियाको अझ गाम्भीर्यता नदेखिएको भन्दै उहाँले यसले जनमानसमा भ्रम पर्न गएको टिप्पणी गर्नुभयो ।

क्षेत्रीय तालिम प्रमुख हेमन्त शर्मा पौडेलले प्रभावकारी समाचार सम्प्रेषणमा सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । कलमले जनतामा सकरात्मक परिवर्तन गराउने औँल्याउँदै तालिम प्रमुख पौडेलले अन्तक्र्रियाले सञ्चार र स्वास्थ्य जगत्को सम्बन्ध बढ्ने अपेक्षा गर्नुभयो ।

अन्तक्र्रियामा नेपाल मध्यपश्चिम र यहाँका जिल्लाको परिवार नियोजनका साधनको प्रयोगको अवस्था, सुरक्षित मातृत्व तथा नवजात शिशुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराइएको थियो ।

अन्तक्र्रियामा पत्रकार पदमराज जोशीले सही सूचना, शिक्षा दिनु सञ्चारकर्मीको कर्तव्य रहेको उल्लेख गर्नु भयो ।

नेपाल पत्रकार महासङ्घ सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारतीले स्वास्थ्य अवस्थामा सुधार ल्याउन क्षेत्रीयस्तरको स्वास्थ्य पत्रकारिता पुरस्कारको स्थापना गर्नुपर्ने धारणा राख्नु भयो ।

प्रतिक्रिया