संस्थागत विकृतिको नागबेली : क्यानाडाको प्रसड्डमा

इनेप्लिज २०७२ चैत १३ गते ३:४२ मा प्रकाशित

govinda-sing-rawat (1)

नेपालमा महाभुकम्प गएपछि विदेशमा बस्ने केही स्वार्थ नेपालीहरुले राष्ट्रको विपत्ती देखाएर धन कमाउने काम गरेपछि क्यानाडाका लागि नेपाली राजदुतावासले एउटा विज्ञप्ती निकालेर क्यानाडाको विभिन्न प्रान्त र शहरका रहेका २२ वटा नेपाली संस्थाको नाम सार्वजनिक गरेको थियो । प्रेस विज्ञप्तीमा एकजना नेपालीले नेपालमा आएको प्रलयकारी भुईचालोको नामबाट पैसा उठाएको प्रसंगमा निकालिएको थियो । उनी को हुन, कहाँ छन् र उनले के गरे भन्दा पनि उनीजस्ता व्यक्तीबाट हामी सतर्क हुनु पर्ने चेतावनी विज्ञप्तीले दिएको थियो । अब उनी कुनै संस्थासंग सम्लग्न थिए कि थिएनन् भनेर संस्थाबाट उनको खोजी गरिएको आभासमा विज्ञप्ती आएको थियो । उनको नाम थियो श्री लाक्पा जी शेर्पा र उनले हिमालयन योक्थु संस्थाको नामबाट युरोप अमेरिकाबाट भुकम्प पीडितको नाममा नगदी राहत जम्मा गरेर अकुत सम्पत्ति कमाएका थिए । त्यस्तै जर्मनमा पनि त्यसरीनै एउटा संस्था खोलेर त्यसको नामबाट भुकम्प पीडितहरुको लागि चन्दा उडाएर आफ्नै होटल व्यवसाय शुरु गरेको समाचार पढ्न पाइएको थियो । क्यानाडामा पनि विभिन्न संस्थाहरुले चन्दा संकलन गरेको र चन्दा माँग गरेको समाचारहरु आएको थियो । तर कुनै पनि संस्थाले हामीले यति चन्दा उठाएर नेपालको संस्था वा सरकारलाई हस्तान्तरण गरेको समाचार पढ्न पाइएन ।
संस्थाको परिभाषा नबुझिकनै हिजोआज च्याउभन्दा पनि दु्रतगतिमा संस्था खोलिने गरिन्छ । पत्रकारै नभएको व्यक्ती पत्रकारी संस्था चलाएर बसेका छन् । कलाकारै नभएका व्यक्ती कलाकारको संस्थाको अगुवाई गरीरहेका छन् । साहित्यनै नपढ्ने (लेख्ने त ठूलो कुरा हो) व्यक्ती साहित्यिक संस्था चलाएर बसेका छन् । अझ अन्तराष्ट्रिय शब्दको पगरी गुथी दिएर विभिन्न संस्थाहरुले समाजमा अराजकताको कबड्डी खेल्दै आईरहेको देखिन्छ ।
क्यानाडामा हामी नेपालीहरुको संख्या कति छ भनेर यकिनसाथ भन्न नसके तापनि पन्ध्र–बिस हजारको हाराहारीमा छौं भन्न सकिन्छ । यसमा सबैभन्दा बढी जनसंख्या विशाल टोरोन्टोमा रहेको मानिन्छ । टोरोन्टो क्यानाडाको व्यापारिक राजधानी भएर पनि होला सबैले पहिलो पाईला यहीनै टेक्न चाहन्छन् । क्यानाडामा नेपालीहरुको आगमनको थालनी ६० को दशकदेखि हुन थालेको मानिन्छ । हुन त त्यसअघिदेखि दोस्रो युद्धको समाप्तीपछिदेखिको इतिहास पनि कोरिएको देखिन्छ । सत्तरीको दशकमा आउनु भएका किरण ढु¨ानाको प्रयासबाट क्यानाडामा पहिलो संस्थाको रुपमा सन् १९९१ मा नेपाली एशोसिएसन इन क्यानाडा – नेक (एन.ए.सी.) को स्थापना भएको थियो त्यसपछि यही नेकबाट फुटेर अर्को संस्था नेपालिज कम्युनिटी नेटवर्क अफ क्यानाडा (एन.सी.एन.सी.) सन् १९९३ अर्को संस्था देखा पर्छ । यो विशाल टोरोन्टोको पश्चिममा रहेको हुनाले पूर्वका मित्रहरुबाट सन् २००० मा अर्को संस्था एन.सि.सि.एस (नेपालिज क्यानेडियन कम्युनिटि सर्भिसेस्) को नामबाट जन्मन्छ । नेकलाई स्कारबोरो क्षेत्रका नेपालीहरुको संस्थाका रुपमा त्यसबेला हेरिन्थ्यो तर २००३ पछि नेकाको अस्तित्वनै मेटिएर गयो ।
मन्दिर स्थापनाका लागि भनेर २००४ मा पि.एन.सि.सि. को नामबाट अर्को संस्था जन्मन्छ । विशाल टेरोन्टोका यी दुई संस्थाले मिलर पि.एन.सि.सि.लाई जोगाईरहेने प्रयासमा तगारो लागेपछि पि.एन.सि.सि.पनि माथिका दुई संस्थाका रुपमा देखापरेर व्यक्तीगत अहमताको आगोमा तात्तिएर बिलाउछ । यहाँ विभिन्न जाति तथा धर्मावलम्बीहरुको पनि बसोबास रहदैआएकोले जनजातिको नामबाट अर्को संस्थाको जन्म हुन्छ । त्यसपछि नेवा गुठीको नामबाट अर्को संस्था जातीय र संस्कृति पहिचानका लागि स्थापना हुन्छ । जातीयताको नामबाट त्यसपछि मगर संघ र शेर्पा संघ र गुरुङ्ग संघ पनि देखा पर्छन् । बाहुन र क्षेत्रीले आफ्नो नामबाट संघ खोल्न नसकेपछि अब जिल्लाको नामबाट संघ खोलिन थालिन्छ । जिल्लापछि खेलकूदको नामबाट पनि खोलिएका छन् । त्यसपछि पेशा र लिङ्गका आधारमा पनि नेपाल क्यानेडियन ट्रकर्स एसोसिएसन र क्यानेडियन वुमेन एशोसिएसनको स्थापना भएको देखिन्छ । संस्थाको संख्या बढ्दै गएको छ । मन्दिरको प्रतिष्ठापनका लागि हेरिटेजको स्थापना भएको छ भने भर्खमात्र मन्दिर स्थापना गराएर यसले उपलब्धीमुलक काम पनि गरेको छ । रेडियोको नामबाट एउटा संस्था थियो भने अर्को पनि रेडियो शुरु भएको छ । टेलिभिजनको नामबाट पनि अर्को संस्था दर्ता भएको छ भने एउटा समुह असफल भएपछि अर्को समुहमा हस्तान्तरण भएको छ । एकातिर विभिन्न नामबाट संस्थाहरुको स्थापना भईरहेका छन् भने अर्कोतिर नेपालको राजनीतिले पनि अरु राष्ट्रमा झै क्यानाडालाई पनि पासोमा हाल्दै गएको छ । पार्टीको नामबाट सम्पर्क समिति खुल्न थालेपछि यहाँ नेपालका जति पनि राजनीति दलहरु छन् सबैको सम्पर्क समिति खोलिएका छन् । यसका कोही प्रत्यक्ष देखा परेका छने भन् कोही अप्रत्यक्ष रहेर काम गर्दै छन् । त्यसैको आडभरोसामा नेपालका नेताहरुको भ्रमण हुन थाल्यो । अझ नेपालमा खोलिएका अन्तर्राष्ट्रिय संस्थाको नाममा पनि नेपाल शब्द जोडेर त्यसको शाखा खोलिन थालिएका छन् । यी सबै संस्थाको उद्देश्य भने समानान्तर नै छन् । यी सबै संस्थालाई समेटेर लाने महासस्थाको उद्देश्य लिएर खोलिएको गैरआवासीय नेपाली संघ (एनआरएन) क्यानाडा २००८ मा जन्मियो । यस संस्थालाई सबै संस्थाको रोहवरमा लाने र सबै संस्थाबाट एकजनाको प्रतिनिधित्व रहने गरेर अघि बढाउने भनेर खोलिएको एनआरएन क्यानाडा कालान्तरमा पदका लागि हानाथाप गरिने संस्थाका रुपमा देखा पर्न थाल्यो । यतिसम्म कि गत वर्षको चुनावमा चुनावको नाममा नौंटङ्की गरेर स्थगित गरिएको चुनावलाई आपसमा मिलेर जानकारी बिनानै टोरोन्टोबाट सदस्य चुनियो । पहिला एनआरएन क्यानाडाको धारणा राख्दा सबै संस्थाको प्रतिनिधित्वको आवश्यकता देखाइएको थियो । पछि अरु कुनै संस्थाको कार्यकारिणीमा भएकालाई सदस्यता नदिइने भनेर नियम बनाईएको थियो । त्यो नियमलाई पनि धोती लगाई दिएर एउटै व्यक्ती तीन चारवटा संस्था ओगटेर बस्न थाले । एउटा संस्थामा बसेर अर्को संस्था ताक्ने र त्यसमा पनि बसेर आफ्नो कार्यकाल पुरा भएपछि फेरी पदमा बसी रहन चाहेनहरुको यहाँ कमी छैन । यो देखेर अब त लाज पनि लजाएर शब्दकोषबाट आत्महत्या गर्न खोजि रहेको छ । एनआरएन क्यानाडाको चुनावी प्रक्रियाको विरोधमा तत्कालिन चुनाव आयोग, एनआरएन क्यानाडा र एनआरएन केन्द्रिय कार्यालयमा जानकारीका लागि उजुरी गर्दा कतैबाट पनि कुनै जानकारी नदिइएकोले मैले प्रारम्भदेखि नै भन्दै आएको यो संस्था दाम भएरहरुले काम नगरेर नाम राख्नका लागि खोलिएको संस्था हो भनेर वास्तविकता देखिएको थियो । अनि वास्तविकता पनि यही रहेको ठहर भयो ।
संस्थामा लगेर एउटा पदबाट अर्को पदमा बढुवा हुँदै जाने र संस्थाबाटै निवृतिभरण लिनेहरुको संख्या बढ्दै गईहरको छ । एकपटक सदस्य भएर बसे पछि फेरी बारम्बार सदस्य भईहरन चाहनेहरुलाई के भन्ने । काम हैन नामको लागिमात्र सदस्य बन्ने प्रवृति रहुन्जेल संस्थाको विकास कहिल्यै हुँदैन । न त त्यो संस्थाबाट समुदायको नै कुनै भलो भएको देखिन्छ । एनआरएनभित्र राजनीतिले जरो गाड्दै गएको बारे एनआरएनको स्थापनाकालदेखि नै संलग्न रहदै र सहयोग गर्दै आउनुभएका अमेरिकाका संचारकर्मी तथा उत्तरअमेरिकाका पूर्व सहसंयोजक श्री रामचन्द्र खरेलले यस पटकको एनआरएनको केन्द्रिय स्तरको चुनावमा पार्टीगत राजनीति देखेको र भोगेको कुरा प्रकाशितै गर्नु भएको थियो ।
आज आएर यी सबै संस्थामा राजनीति हावि हुँदै गईरहेको छ । नेपालबाट नेता झिकाएर सम्मेलन गर्न थालिएको छ । यही संस्थागत राजनीतिले संस्थालाई रुग्ण र खोक्रो बनाउदै गईरहेको छ । अब यहाँको संस्थामा नयाँ सदस्यको चयनमा राजनीति अगाडि तेर्सिएर आउने गर्न थालेको छ । नेपालमा जस्तै यहाँका संस्थाहरुले पनि काबिलियत, अनुभव र योग्यताका आधारमा नभएर पार्टीगत राजनीतिप्रतिको आस्थाका आधारमा सदस्यहरुको मनोनयन, पद विभाजन र सल्लाहकारहरुको चयन गर्न थालेका छन् । हामीले नेपालमा देखिने सरकार परिवर्तनसँगै आफन्तहरुलाई टिका लगाएर पदहरु बाडिने प्रवृतिहरुले नेपालबाहिर पनि स्थान पाउन थालेको छ । अझ नेपालमा मन्त्री, महामन्त्री र प्रधानमन्त्री भएर बसेका व्यक्तीहरुको आगमन पनि राजनीतिक तरिकाबाट हुने गर्दछ र जुन दलका प्रतिनिधि आउने गरिन्छ त्यही दलका समुदायको भेला हुने गरिन्छ । हामी आफैभित्र कति संकिर्णता पालेर बसेका छौं । नेपालका भूतपुर्व प्रधानमन्त्री माधव नेपालको टोरोन्टोमा आउनु भयो र जानु भयो । वहाँको आगमन हुँदा कुनै पनि संस्थालाई उनको स्वागत सम्मान गर्न दिईएन वा गर्न चाहेनन् भन्ने कुरा एकातिर छ । तर देशको नेतृत्व गरेका व्यक्तीको आगमन हुँदा हामीले हर्सोल्लासका साथ स्वागत गरेर उनको विचार सुन्न पाउने पर्ने हैन र । उनी विदेशमा आउँदा पार्टीको मान्छे भएर मात्रै आउने परम्परा कहिले रोकिन्छ । हामी प्रवासी नेपालीलाई गैरआवासीय नेपाली बनाएर एनआरएनको स्थापना गरेर संस्थापक अध्यक्ष बनेर तीन कार्यकाल पुरा गरेका डा. उपेन्द्र महतो आउनु हुन्छ । व्यक्तीगत भ्रमण भन्नु हुन्छ । तर आफ्ना चेलाचालालाई चाहि भेट्नु हुन्छ । अन्तर्वार्ता पनि दिनु हुन्छ । तर उही प्रवासीहरुलाई गैरआवासीय बनाएर नेतृत्व गरेको नेपालीहरुलाई चाहिं भेट्नु हुन्न । न त क्यानाडाको एनआरएनले नै उनीसँग भेट्ने तारताम्य मिलाउने काम नै गर्न सक्यो । अनि कस्तो नेतृत्व ? यतामात्र हैन उता अमेरिकामा पनि त्यस्तै छ । रोग उतैबाट सरेको हो । हाम्रा प्रधानमन्त्रीहरुको औषधी उपचारका लागि हुने भ्रमणमा होस वा व्यक्तीगत कार्यका लागि होस वहाँहरु आफ्नै दलको चक्रव्युहभित्र रुमल्लिरहेका हुन्छन् । वहाँहरु आफु र आफ्नो दल भन्दा पनि नेपालीको साझा भएर उपस्थित हुनु पर्ने होईन र । हामीले ठुलाबडाबाट जे सिक्छौं त्यही गर्छौ भन्ने हैन त । अनि यस्ता नेतालाई नेतृत्व सुम्पेर जनताले के को आस गर्ने । त्यसैले समुदायका लागि बनेका संस्थामा बसेकाहरुले राजनीतिलाई पन्छ्याएर सामाजिकिकरणका आधारमा सहि व्यक्तीहरुको चयन गरेर आफै उदाहरण बन्न सकिन्छ । यहाँ बसेर हामी नेपालको राजनीतिक दलको पिछलग्गु भएर के पाउँछौं । स्व. सुशिल कोईरालाले एकजना एनआरएनलाई आफ्नो सल्लाहकार बनाएपछि सबैको आसाको त्यन्द्रो त्यतैतिर तेर्सिएको देखिन्छ ।
यो संस्था र राजनीतिको प्रसङ्ग भर्खर अरबका देशहरुका प्रशासकले नेपाली संस्था माथि लगाउन थालेको अंकुशको समाचार पढेपछि उठेका मनोभावबाट वास्तविकता बाड्न खोजेको मात्र हो । यही संस्थागत रानीतिका कारण नेपाली कामदारहरुले अबर देशमा कामबाट बञ्चित हुने स्थिति सिर्जना हुँदैछ । अहिले नेपालबाहिर नेपाली संस्थाहरुमा राजनीति मलजल पाईरहेको छ । किनभने विदेशमा बसेर सम्पर्क समिति चलाएका एकजना एनआरएनलाई नेपालमा झिकाएर सल्लाहकार बनाएपछि सम्पर्क समितिप्रतिसबैको लगाव बढे जस्तै लाग्छ । अझ अहिले त प्रत्येक दलले आफ्नो एकजना नेतालाई अन्तर्राष्ट्रिय संयोजक बनाएर नेपालबाहिरका सम्पर्क समितिको सदस्यहरुलाई समितिमा राखी दिने परम्पराले सबैको आसा बढ्दै गएको छ । नेतासँगको डाईरेक्ट एप्रोच छ भनेर धक्कु देखाउँदै हिड्न पनि पाइने र फेसबुकमा फोटो राखेर स्टेटस बढेको महसुस आफैमा बढ्दै भएकोले सबैको आकर्षक बन्दै गएको छ । तर वास्तविकतामा यो विरवलको खिचडी जस्तै हो । हामी तल दाउरा बालेर खिचडी पकाउने धुनमा आफ्नो श्रम, स्रोत र समयलाई दाउराको रुपमा खर्ची रहेका हुन्छौं, तर खिचडी भने कहिल्यै पाक्दैन । धेरै संस्था भए समुदायलाई पनि गाहे साहे पर्दै जान्छ । कार्यक्रममा बोलाउदा पनि कुन संस्थामा जाने भनेर सोच्दासोच्दै घर बस्न बाध्य हुन्छौं । अर्कोतिर संस्था चलाउन आर्थिक सहयोग पनि फेरी समुदायबाटै उठाउनु पर्ने हुन्छ । कस्लाई दिने र कस्लाई नदिने भन्ने अर्को दोधारमा समुदायलाई नै उभ्याई दिन्छ । झन अहिले देउसी भैलो कार्यक्रमबाट अर्थ संकलनमा लागेकाहरुलाई देखेर सबैले त्यहि बाटो समातेकोले फेरी समुदायमाथि नै भार परीरहेको छ । यसरी देउसी भैलोबाट संस्था धानेर कतिसम्म चलाउने । खल्तीबाट सहयोग गरेर कति दिन चलाउने । किन हामी मिलेर अनेकतामा एकताको बाटो खोज्न सक्दैनौं । किन हामी मिलेरसँगै जान सक्दैनौं ।
हामी विभिन्न कारणले नयाँ गणतब्यको खोजीमा नेपाल छोडेर दूर देशमा आएर बसोबास गर्दैछौं । हामी यहाँ हाम्रो स्थान बनाउनका लागि संघर्ष गर्दैछौं । हामीले हाम्रो भाषा संस्कृतिको जगेर्ना गर्न संघसंस्थाको स्थापना गराएर विभिन्न चाडपर्वहरुलाई सबै मिलेर हर्षोल्लासका साथ मनाउदै आएका छौं । हामीलाई एउटा मञ्चमात्र चाहिएको हो । त्यो मञ्चमा क,ख,ग जो कोही बसे पनि हाम्रो प्रतिनिधि बसेको हो र हाम्रो सहयोग उनको सफलता हो भने त्यो सफलता नै हाम्रो पहिचान हो । हाम्रो पहिचान जोगाउनका लागि हामीलाई मञ्च चाहिएको हो , चौतारा चाहिएको हो, टहरा चाहिएको हो । त्यसैमा हामी सबै अटाएर जानसकेमात्र हामी सफल हुन सक्छौं ।
हामीलाई एउटै सुत्रमा बाध्न सक्ने एउटा अविभावक चाहिन्छ । हामीलाई एउटै बाटोमा डो¥याएर लान सक्ने एउटा पथप्रदर्शक चाहिन्छ । हामीलाई अनेकतामा एकताको परिभाषा दिन सक्ने आवाज चाहिन्छ । त्यसका लागि हामीले नेपालको प्रतिनिधिका रुपमा रहेको राजदूतावासलाई एकताको माध्यम बनाउन सक्छौं । २५ अप्रेलको महाप्रलयकारी भुईचालोले देशमा ल्याएको क्षतिको वयान शब्दमा गर्न सकिदैन । त्यो क्षतिको केही पूर्तिका लागि देशबाहिरबाट बढेका हातहरुले महत्वपूर्ण काम गरेको इतिहास साक्षी छ । क्यानाडाका विभिन्न संस्थाबाट पनि लाखौं डलरमा सहयोग गएको बारे छापाहरुमा पढियो । तर ती सहयोग कता गए भन्नेबारे हामीसँग फेहरिस्त छैन । नेपालीहरुबाट नेपालका लागि भनेर उठाइएको चन्दा विदेशी संस्था मार्फत पाठउनु पर्यो । हामीले यी सबै कार्य दूतावासका माध्यमबाट गर्न सकेको भए राम्रो हुने थियो भने यकिनसाथ क्यानाडाबाट कति गयो वा अन्य मुलुकबाट कति गयो भन्ने प्रष्ट देखिने थियो होला । दुखसुखमा राष्ट्रप्रति हामीले देखाएको सहयोगको उचित मूल्याङ्कन हुन सक्ने थियो । तर हामी आआफै छर्पष्टियौं । घरअगाडिको देवलाई छोडेर टाढाको तिर्थतिर लाग्यौं ।
हामी अहिले पनि एकताको कुरा गर्दागर्दै आफ्नै स्वार्थ तेर्साएर राखीदिन्छौं । यहाँ ताक परे तिवारी नत्र गोतामेहरुको कमी छैनन् । हिजोसम्म एनआरएनको विरोध गर्नेहरु अहिले एनआरएनबाट तर काट्दै छन् । यो राम्रो कुरा हो । प्रजातन्त्रमा कसैको पनि हार हुँदैन सबैको जित हुन्छ । नेपाली जनतालाई कहिले धर्मको नाममा, कहिले जातीयताको नाममा त कहिले संघीयताको नाममा बाडेर सुन्दर शान्त नेपाललाई युद्धभूमि बनाएर आफ्नो स्वार्थको राजनीति गर्ने दलहरुलाई नेपालबाहिर ल्याउने काम नगरौं । हामी सबैसँग राजनीति विचारधारा छ । त्यसैले मानिसलाई राजनीतिक प्राणी पनि भनिन्छ । तर हामी दूरदेशमा आफ्ना सन्ततिको भविष्य खोज्दै आएका हौं । उनीहरुलाई सुन्दर बिहान दिन आएका हौं । त्यसैले बिहानीलाई सुन्दर बनाऊ । राजनीतिविहिन बनाऊ ।
यहाँ नेवा गुठी छ । नेवार भाषा संस्कृतिको संरक्षण गर्दै समुदायलाई स्वास्थ्य जागरणका लागि विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आई रहेको छ । स्वास्थ्य क्लिनिकबाट लिएर वार्षिक कर फष्र्योटमा समेत समुदायलाई सहयोग गर्दै आईरहेको छ । यहाँ मगर संघ छ । मगर भाषा संस्कृतिको संरक्षण गर्दै आईरहेको छ । यहाँ शेर्पा संघ छ । विश्वमा शेर्पाको इतिहास फैलाउँदै आफ्नो भाषा संस्कृतिको संरक्षण गर्दै आईरहेको छ । यहाँ तमु संघ छ । गुरुङ्ग भाषा संस्कृतिको संरक्षण र प्रवद्र्धन गदै आईहरको छ । यहाँ जनताति संघ छ । सबै जातिलाई एउटै मञ्चमा उभ्यिाएर नेपाल चारजात छत्तिस वर्णको फुलवारी हो भन्ने वास्तविकतालाई दर्शाउन काम गर्दै आई रहेको छ भने खेलकुदका माध्यमबाट समुदायलाई एउटै चउरमा समेट्दै आई रहेको छ । लाली गुँरासको नामबाट खेलकुद संघ छ । वार्षिक खेलकूद प्रतियोगिता गराएर नेपाली खेलाडीलाई क्यानाडामा परिचय दिलाउने काम गर्दै आईहरको छ । टोरोन्टो नेपाली चलचित्र महोत्सवका माध्यमबाट नेपाली विद्यार्थीहरुले नेपाली डकुमेन्ट्री चलचित्र प्रदर्शन गराएर नेपाली चलचित्र कर्मीहरुलाई सीप देखाउने मञ्च प्रदान गर्दै आएको छ । त्यस्तै नेपाली भाषा साहित्यको संवद्र्धन तथा विकासका लागि २००४ मा स्थापना भएको नेपाली साहित्य समाज, क्यानाडा, अ.ने.सा.स. का विभिन्न शहरमा रहेका च्याप्टरहरु आदि । हुन त सन् २००९ देखि नै भ्यानकुभरका महिलाहरुको प्रयासबाट नेपाली महिला संघको स्थापना भएको र बृटिश कोलम्बियाका महिलाहरुको संलग्नतामा आर्थिक संकलनार्थ कार्यक्रमहरुको आयोजना गर्दै नेपालका महिलाहरुलाई शिक्षा र स्वस्थ्यको क्षेत्रमा सहयोग पु¥याउदै आएको संस्था क्रियाशिलनै भएर लागेको छ । यस्ता धेरै संस्थाहरु छन् यसले उद्देश्यपूर्तिमूलक कार्य गर्दै आइरहेको देखिन्छ ।
अन्तमा, पहिलो नेपाली राजदूतको स्वागत र विदाई गर्दै दोस्रो नेपाली राजदूतको स्वागत गरेको र यहाँ २००४ फरवरीदेखि निरन्तर सहित्यिक कार्यक्रम÷गोष्ठी÷प्रकाशन गर्दै आएको तर नेपाली राजदूतावासले विर्सेको नेपाली साहित्य समाज, क्यानाडाले नेपाली भाषा साहित्यको संरक्षण र संवद्र्धन गर्दै यहाँका स्रष्टाहरुलाई साहित्यिक मञ्च प्रदान गर्दै आएको वास्तविकतालाई क्यानाडाका नेपालीहरुको प्रतिनिधित्व गर्ने राजदूतावासले विर्सन हुँदैन ।
निष्कर्ष, हामी पदका लागि नभएर प्रतिष्ठानका लागि काम गरौं । एउटै व्यक्ती दुई–तीन संस्थामा बस्ने दरिद्र प्रवृति त्यागौं । एकपटक बसीसकेर फेरी केही वर्षको अन्तरालमा त्यही संस्थामा बस्ने बानी पनि सपारौं । पहिला बसेर केही गरेको देखाएर त्यो कार्य फत्ते गर्न बसेकोलाई समुदायले स्वागत गर्न सक्छ तर स्वार्थमा बस्नेहरुको साथ समुदायले कहिल्यै दिदैन । त्यस्तै आफु संस्थामा बस्दा सबै समुदायलाई उपस्थितिको लागि अनुरोध गर्ने र आफु संस्थाबाट हटेपछि आफै कार्यक्रममा नजाने प्रवृतिले आफु हुँदा ठीक अरु हुँदा बेठीकको परिभाषालाई देखाउदैन र ?

 

प्रतिक्रिया