अलबिदा सरोज दाई – विकास राज न्यौपाने

इनेप्लिज २०७२ चैत १२ गते १७:३५ मा प्रकाशित

12910099_10153664505292950_913057208_n

भाई विकास, तपाईले हिमालय खबर मार्फत समुदायलाई केही दिनुपर्छ । म मेरो व्यबसाय अनि त्यसको मुनाफाबाट केही गर्छु । हेर्नुस मान्छेको दुई दिनको चोला कतिखेर के हुन्छ र के ठेगान ? बाँचुन्जेल केही गरेर मरेपछि पनि १०/२० जनाले सम्झिरहने वातावरण मिलाउनुपर्छ हामीले ।’ झण्डै चार महिनाअघिमात्र एउटा कार्यक्रममा सरोज दाईले मसँग भन्नुभएको यो वाक्य मेरो कानमा अहिलेपनि गुन्जिरहेको छ ।

नेपाली समाज भनेपछि जसरी भएपनि समय निकाल्ने, मन खोलेर तन मन अनि धनले सहयोग गर्ने सरोज दाई आज हामीबीच हुनुहुन्न । उहाँप्रति श्रद्धाञ्जली दिनका लागि यी शव्दहरु लेखिरहँदा पनि मेरो अन्तरमनले विश्वास मान्न सकेको छैन– सरोज दाई हामीलाई छाडेर जानुभएकै हो त ?

भनाई छ, जो मान्छे यो धर्तीमा सबैको प्यारो छ । त्यही मान्छे भगवानको निम्ति पनि प्यारो हुन्छ रे । शायद सरोज दाईको सन्दर्भमा पनि यही भयो कि । भगवानको निम्ति प्यारो भएकै कारण सारा नेपाली समाज यो सत्यलाई स्विकार गर्नैपर्ने भयो–अब उहाँ हामी माझ रहनुभएन । अर्थात उहाँका योगदानमात्र हामीले उहाँलाई सम्झिरहने आधारहरु रहे ।

अवस्था कस्तो रह्यो भने जुन दिन नेपाली विद्यार्थी भाई रुसेल श्रेष्ठको दुर्घटनामा निधन भएको खबर नेपाली समुदायले पायो । अनि सहयोग संकलन गर्नुपर्यो भनेर नेपाली समुदाय जाग्यो । त्यही समयमा सरोज दाईको अभाव नेपाली समुदायलाई खड्कियो । ‘ल मेरो तर्फबाट यति डलर । रकमको चिन्ता नगरौं, हाम्रो समुदाय भनेकै सबैलाई मर्दा र पर्दाको निम्ति हो,’ भन्दै सहयोग दिनका लागि हौस्याउनुहुने सरोज दाईको अभाव त्यतिखेरै भयो ।

दुई दशक अघि, जतिबेला अमेरिकामा नेपालीको संख्या अहिलेको जस्तो लाखमा होइन केही हजारमा सिमित थियो । त्यस्तो बेलामा आएर जुनदिनसम्म उनको शरिरले विश्राम लिएन त्यसदिनसम्म उनी निरन्तर नेपाली समाज, नेपाली दाजुभाई भन्दै लागिरहे ।

संखुवासभाको चैनपुरमा सन् १९६४ अगष्ट २३ मा जन्मनुभएका सरोज दाई सन् १९९६ मा अमेरिका छिर्नुभयो । परिवारका कान्छो भाईका रुपमा जन्मनुभएका जोशीका अाठ दाजुभाइ र तीन दिदीबहिनीमध्य दुइ दाजु र तीनैजना दिदीबहिनीहरू अमेरिकामै छन् ।

जतिखेर नेपाली समाज टेक्सस (NST) को कार्यालयको लागि भनेर घर भाडामा लिइएको थियो । बेलाबखतमा कार्यक्रमहरु गरेर रकम जुटाइन्थ्यो । त्यस्तो बेलामा आफ्नै घर आवश्यक रहेकोमा उहाँले निकै जोड दिनुभयो । अनि घर किन्ने बेलामा उहाँलाई समाजका पदाधिकारीहरुले भने–‘दाईको भागमा यति रकम परेको छ है ।’ उहाँले ‘त्यतिमात्र मलाई’ भन्दै हाँसीहाँसी सहयोग गर्नु हुन्थो । त्यसयता पनि उहाँले जसलाई पनि आपत् विपद् पर्दा फोन गरेर हुन्छ या भेट्न जानेलाई खाली हात कहिल्यै पठाउनुहुन्थेन ।

नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र (नेपाली मन्दिर) को स्थापनामा सकृय उहाँ त्यसको ‘बोर्ड अफ ट्रस्टी’ समेत हुनुहुन्थ्यो ।

ड्यालसमा धेरै नेपालीले डलर कमाएका छन् । अर्थात चल्तीको भाषामा भन्नुपर्दा–‘धेरैले डलर छाप्छन् ।’ तर डलर छाप्नेमध्य धेरै नेपालीलाई आफ्नै समुदायले पनि चिन्दैन । तिनका काम जसरी हुन्छ डलर सोहोर्नु हो । समाज, संस्कृतिको वाल मतलव राख्दैनन् । नेपाली समाजलाई सहयोग गर्नुपर्छ भनेर भेला, बिबाह ब्रतवन्ध, पास्नीमा समेत देखिँदैनन् केही नेपाली । वल्लोघर, पल्लोघरले पनि तिनलाई जान्दैन । तर केही नेपालीहरु यस्ता छन्, जस्ले अर्थोपार्जन पनि गरेका छन् । अर्थोपार्जन भन्दा ज्यादा नाम कमाएका छन् । तिनै नाम कमाउनेमध्यका एक हुनुहुन्थ्यो सरोज दाई ।

केही महिना अघिमात्र भारतले मातृभूमिमाथि नाकाबन्दी लगाउँदा सरोज दाई रिसले उफ्रिनुभयो । ‘यो बेलामा हामीले हाम्रोतर्फबाट यहाँ पनि विरोधका केही कार्यक्रम अघि सार्नुपर्यो । उता नेपालमा हाम्रा दाजुभाईहरु औषधिमुलो नपाएर मर्नुपर्ने अवस्था आइसक्यो । हामीले यताबाट पनि आफ्नो कर्तव्य निभाउनुपर्छ,’ उहाँ भन्दैहुुनुहुन्थ्यो ।

नेपालमा बस्ने केहीलाई लाग्ला–‘संसारकै सबैभन्दा शक्तिशाली र विकसित देशमा बसेर नेपालीहरुले धेरै ढोँग गर्छन ।’ तर होइन, आमालाई छाडेपछि थाहा हुन्छ आमाको मायाँ कति लाग्छ छोराछोरीलाई भनेर । सरोज दाईको भौतिक शरिर अमेरिकामा रहेपनि उहाँ हरदम नेपाल र नेपाली भन्दै सकृय हुनुहुन्थ्यो । भुकम्प पछि राहत संकलनमा उहाँले देखाउनुभएको सकृयताको तुलनानै हुनसक्दैन ।

सबैलाई बाटो देखाउने, सुझाव दिने, सहयोग गर्ने उहाँ जस्तो मनकारी ज्यादै कम छन् अमेरिकामा । ज्यादा राजनीति थोरै समाजसेवा, थोरै काम धेरै हल्ला, थोरै काम ज्यादा भाषण गर्ने संस्कारभन्दा उहाँ अलग हुनुहुन्थ्यो । भाउजु सबिना अनि दुई दुई छोराछोरी सबिन र सरिना सहित हामी सबैलाई छाडेर दाई जानुभयो कहिल्यै नआउनेगरि ।

‘ल भाई केही गर्नुपर्छ है । केही आवश्यक पर्यो भने यो दाई जहिलेपनि हाजिर छ,’ दाईले भन्नुभएको यो स्वर अहिलेपनि मेरा कानमा गुन्जिरहेको छ । दाईको अभाव सधैं खड्किरहनेछ नेपाली समाजलाई । अलबिदा सरोज दाई । तपाईको आत्माले शान्ति पाओस् ।

प्रतिक्रिया