बिर्तामोड, १२ चैत । बिर्तामोड नगरपालिका र जिल्ला पशु सेवा कार्यालय झापाको आयोजनामा सञ्चालित बिर्तामोड नगर क्षेत्रका कुकुरको बन्ध्याकरण कार्यक्रम सम्पन्न भएको छ । हार्ट नेपाल पोखराको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा १७८ वटा कुकुरको बन्ध्याकरण गरिएको नगरपालिकाका प्रशासन शाखा प्रमुख मेघराज बाँस्तोलाले जानकारी दिए ।
बन्ध्याकरणसँगै कुकुरलाई एन्टीरेविज भ्याक्सिन लगाइएको र जुकाको औषधि खुवाइएको हार्ट नेपालका निर्देशक खगेश्वर भट्टराईले बताए । कुकुरको बन्ध्याकरण गर्न पोखराबाट १४ जनाको टोली बिर्तामोड आएको थियो । जसमा आयरल्याण्डकी नागरिक डा. मिसाल पनि थिइन् । शिविरमा पशु सेवा कार्यालयबाट ४ जनाको टोली खटिएको बताइएको छ । शिविर अन्तर्गत तीन दिन बिर्ताेमोडस्थित होटल हेभनमा र दुई दिन चारपानेको संयुक्त वडा कार्यालयमा कुकुरको बन्ध्याकरण गरिएको थियो ।
शिविरको समापनका अवसरमा आयोजित कार्यक्रममा हार्ट नेपालका चन्द्र राईले झापाका कुकुर समात्न आफूहलाई गाह्रो भएको बताए । ‘झापाका कुकुर मान्छेभन्दा चलाख रहेछन्,’ उनले भने, ‘मैले यो फिल्डमा काम गरेको झण्डै ६ वर्ष भयो, यति गाह्रो काहिँ भएको थिएन ।’ विस्कुट दिएर समात्न खोज्दा पनि तर्सिएर कुकुर भागेको राइले बताए । ‘अरु ठाउँमा १५÷१६ दिन काम गर्दा पनि हामी गल्दैनथ्यौँ,’ उनले भने, ‘यहाँ त ५ दिनमै थकान महसुस भयो ।’ कुकुरलाई व्यवस्थित ढङ्गले पाल्न राईले नगरबासीलाई आग्रह गरे । अन्य स्थानका कुकुरभन्दा बिर्तामोडको कुकुर तर्सिएको अवस्थामा पाइएको हार्ट नेपालका निर्देशक खगेश्वर भट्टराईले बताए । कुकुरको बन्ध्याकरण गर्ने टोलीकी सदस्य डा. मिसालले नगरपालिकाको यो कार्य प्रशंसनीय रहेको बताइन् । उनी चार महिनादेखि नेपालमा स्वयम्सेविकाका रुपमा कार्यरत छिन् ।
नगरपालिकाका कार्यकारी अधिकृत रविन्द्र वस्तीको अध्यक्षतामा भएको शिविर समापन कार्यक्रममा मधेसी जनाधिकार फोरम नेपालकी सङ्गीता रौनियार, जिल्ला पशु सेवा कार्यालय झापाका कुमारसिंह खत्रीलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन नगरपालिकाका प्रशासन शाखा प्रमुख मेघराज बाँस्तोलाले गरेका थिए ।
प्रतिक्रिया