सडक कालोपत्र गर्ने अभियानमा सर्वसाधारण

इनेप्लिज २०७२ चैत १२ गते १:२८ मा प्रकाशित

पथरी (मोरङ), १२ चैत । पथरी शनिश्चरे नगरपालिकाका बासिन्दा सडक कालोपत्र गर्ने अभियानमा लागेका छन् ।

पथरी शनिश्चरेको वडा नं ९, १० र १५ जोड्ने करिब एक किलोमिटर सडक स्थानीयवासी र सरकारको आर्थिक सहयोग तथा श्रमदानबाट कालोपत्र गर्ने काम भइरहेको हो ।

पथरी शनिश्चरे नगरपालिका घोषणा भएसँगै नगरवासीको विकास निर्माणका काममा सहभागिता बढेको हो । अहिले स्थानीय जनताको सक्रियतामा डोजर लगाएर नालीसहित ३३ फिट चौडा बाटो बनाउने काम भइरहेको छ । यसका लागि उपभोक्ताबाट रु ३० लाख र सहरी विकास मन्त्रालयबाट रु ३० लाख गरी जम्मा रु ६० लाख बराबरको सहयोग जुटाइएको उपभोक्ता समितिका अध्यक्ष ऋषिराज पौडेलले बताउनुभयो ।

सडक फराकिलो बनाउने क्रममा जग्गाधनीले आफ्नो जग्गाको क्षेत्रभित्र लागेको रकम स्वयम्ले तिर्ने व्यवस्था गरिएको छ । आफ्नो जग्गाभित्रको प्रतिफिट ७०० रुपैयाँ का दरले रकम उठाइएको छ ।

आठ सय मिटर लम्बाइ रहेको उक्त सडक निर्माण भइसकेपछि पथरी शनिश्चरे नगरपालिकाको वडा नं ९, १०, १५ र बयरवन गाविसका केही वडाका बासिन्दा लाभान्वित हुने अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

आगामी जेठ मसान्तसम्म निर्माण कार्य सक्ने लक्ष्य छ । यसका लागि पौडेलकै अध्यक्षतामा निर्माण समितिसमेत गठन गरिएको छ ।

प्रतिक्रिया