प्रजनन स्वास्थ्यसम्वन्धी परियोजना सुरु

इनेप्लिज २०७२ चैत ११ गते १०:३५ मा प्रकाशित

इलाम, ११ चैत । युवा किशोर/किशोरीको सवलीकरणमार्फत उनीहरूको यौन तथा प्रजनन स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले इलाम नगरपालिकासहित पाँच गाविसमा यौन स्वास्थ्य र शिक्षासम्बन्धी परियोजना सुरु भएको छ ।

स्थानीय एकीकृत विकास समाज नेपाल (सोलिड नेपाल) ललितपुरले नेदरल्यान्ड्सको सिमाभी भन्ने गैरसरकारी संस्थाको सहयोगमा उक्त परियोजना सुरु गरेको हो ।

परियोजनाले किशोर/किशोरीको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, नसर्ने रोगका कारण रोकथाम तथा नियन्त्रणका उपाय, बाल विवाह नियन्त्रण, स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको व्यवस्थापनजस्ता विषयमा काम गर्ने बताइएको छ ।

नगरपालिकासहित नयाँबजार, नामसालिङ, सोयाङ, प्याङ र जोगमाई गाविसमा कार्यक्षेत्र बनाएर परियोजनाले काम गर्ने परियोजनाकी फिल्ड संयोजक सुजना मगरले बताउनुभयो ।

तेह्र महिनासम्म सञ्चालन हुने परियोजनाका लागि रु ४५ लाख खर्च हुने बताइएको छ । परियोजना सञ्चालन भएका नगरपालिका र गाविसमा यौन स्वास्थ्य एवम् शिक्षाका बारेमा समुदायस्तरमा गएर स्वास्थ्य क्षेत्र सुधारका लागि अध्ययन, अनुसन्धान, जानकारी र सन्देशमूलक सामग्रीको माध्यमबाट जनचेतना अभिवृद्धि, वकालत, तालिम तथा गोष्ठी आयोजना गर्ने, सामाजिक परिचालनमार्फत आमनागरिकको स्वास्थ्य जीवनशैली र व्यवहार परिवर्तनका एकीकृत कार्यक्रम सञ्चालन गर्ने बताइएको छ ।

यस परियोजनाबाट १३ हजार किशोर÷किशोरी र तिनीहरुका परिवार सदस्य, अभिभावकसहित समुदायका करिब ४० हजार व्यक्ति लाभान्वित हुनेछन् ।

प्रतिक्रिया