किसानले कृषि परिचयपत्र पाउने

इनेप्लिज २०७२ चैत १० गते २:४९ मा प्रकाशित

नवलपरासी, १० चैत । जिल्ला कृषि विकास कार्यालय नवलपरासीले किसानलाई लक्षित गरी कृषि परिचयपत्र वितरण गर्ने भएको छ ।

यो परिचयपत्रबाट गरिब, विपन्न तथा भूमिहीन कृषि पेसा अँगालेका किसान लाभाविन्त हुने अपेक्षा गरिएको छ । परिचयपत्र पाएका किसानले आवश्यक पर्ने कृषि सामग्री तथा अन्य अनुदान सेवासुविधा सहुलियत दरमा पाउनेछन् ।

किसानलाई विधिवत् रुपमा परिचयपत्र दिने तयार गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेले बताउनुभयो । सरकारले तोकेको कृषियोग्य जमिनमा परिवारिक, सामूहिक, सामुदायिक तथा सहकारी खेती गर्ने किसानलाई कृषि उत्पादनका लागि दिइने अनुदान परिचयपत्रका आधारमा उपलब्ध गराइनेछ । अधिया कमाउनेलाई पनि स्थानीयवासीको सिफारिसमा परिचयपत्र उपलब्ध गराइने प्रमुख गैरेले बताउनुभयो ।

परिचय पत्र लिनका लागि किसानले कृषि विकास कार्यालयमा निवेदन, लालपुर्जा, नागरिकता, गाविस सिफारिस, भाडा वा भोगचलनका लागि गरिएको सम्झौतापत्रको फोटोकपी बुझाएर मात्र परिचयपत्र पाउने कार्यालयले जनाएको छ । आव २०७२÷७३ मा कुल ६ हजार जना किसानलाई परिचयपत्र वितरण गरिने कार्यालयले जनाएको छ ।

कर शिक्षासम्बन्धी कार्यक्रम
नवलपरासीको सदरमुकाम परासीमा कर प्रणाली, आयकर, मुअकर अन्तः शुल्कलगायत अन्य करको सम्बन्धमा करदाता शिक्षा कार्यक्रम चलाइएको छ ।

उद्योग वाणिज्य सङ्घ तथा रामग्राम नगरपालिकाको संयुक्त आयोजना एवम् आन्तरिक राजस्व कार्यालय भैरहवाको सहयोगमा परासीमा करदाता शिक्षा कार्यक्रम चलाइएको थियो ।

सो अवसरमा कार्यक्रममा प्रमुख अतिथि एवम् भैरहवा राजस्व कार्यालयका प्रमुख कर अधिकृत महराज कोइरालाले कुनै पनि संस्था तथा उद्योग, व्यापार–व्यवसाय आयआर्जन गर्नुभन्दा पहिला करमा दर्ता हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया