छ हजार लिटर मदिरा बरामद, तीन पक्राउ

इनेप्लिज २०७२ चैत ८ गते १४:३७ मा प्रकाशित

रत्ननगर (चितवन), ८ चैत । जिल्ला प्रहरी कार्यालय चितवनले यहाँका विभिन्न स्थानमा अभियान सञ्चालन गरी छ हजार चार सय लिटर घरेलु मदिरा र त्यसमा प्रयोग हुने कच्चापदार्थ बरामद गरेको छ ।

घरेलु मदिरा बिक्रीमा संलग्न तीनजनालाई पक्राउसमेत गरिएको छ । प्रहरी निरीक्षक निरञ्जन भट्टराईको नेतृत्वमा वडा प्रहरी कार्यालय नारायणगढ र मातहत प्रहरी इकाई समेतबाट खटिएको प्रहरी टोलीद्वारा जिल्लाका विभिन्न क्षेत्रमा पुगेर मदिरा नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो ।

जिल्लाको भरतपुरस्थित कृष्णपुर, भोजाड, बारघरे, पोखरा बसपार्क, आँपटारी, बेलटाँडी, कमलनगर, न्युरोडलगायत स्थानबाट अवैध घरेलु मदिरा नियन्त्रणमा लिइएको हो । सो क्रममा प्रहरीले एक हजार ८१० लिटर अवैध घरेलु मदिरा निर्माण गर्ने कच्चा पदार्थसमेत बरामद गरेको छ ।

यस्तै, तयारी रक्सी चार हजार छसय लिटर तथा मदिरा बनाउन प्रयोग हुने भाँडावर्तन थान १०६ थानसमेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ । मदिरा ओसारपसारमा संलग्न तीनजनालाई समेत पक्राउ गरिएको र उनीहरुले प्रयोग गर्ने एउटा गाडी नियन्त्रणमा लिइएको छ । मदिरालाई आन्तरिक राजस्व कार्यालय भरतपुरमा बुझाइएको छ ।

प्रतिक्रिया