बाबुरामजी ,
अभिवादन।
केहि महिना अघि राजेन्द्र महतोलाई चिट्ठी लेखेको के थिएँ, सामाजिक मिडियामा हाम्रा महान विद्वान बाबुरामजीलाई पनि लेख्नुस भनेर चौतर्फी आग्रह आएपछि यो चिट्ठी लेख्दैछु । हुन त मेरो चिट्ठीले तपाईं जस्तो विद्वानका लागि खासै अर्थ नराख्ला तर बहुसंख्यक जनताको मुखबाट सुनेको र मैले देखे भोगेको परिदृष्यलाई चिट्ठीमा उतार्ने जमर्को गरेको छु।
आज मलाई यो चिट्ठी लेखिरहँदा कहाँ बाट शुरु गरूँ भनेर दुविधा भईरहेको छ, तर म लाखौं पाठकको भावनालाई कसरी तोड्न सक्थेँ र, त्यसैले प्रसंगको फ़ेहरिस्त नज़रअंदाज़ गर्दै केहि लेख्ने अनुमति चाहन्छु ।
यहाँ हरुले जनयुद्द शुरु गर्दा म सत्रह बर्षको लक्का जवान थिएँ । तपाईं मेरो औधि मन पर्ने मान्छे सायद ममा त्यतिवेला अहिलेको जस्तो राजनीतिक चेतना भएको भए जनसेना वा संगठनमा लाग्थें होला तर सायद यो चिट्ठी लेख्ने अवसर नै नआउन सक्थ्यो ।
किनकी या त म शहीद हुन्थें होला नत्र अपांग भई राज्यबाटसहयोगको याचना गरीरहेको हुने थिएँ।
आज म आफू जनयुद्दमा नहोमिएकोमा यसकारण ख़ुशि छु कि म तपाईका सहयोद्दा नेता कार्यकर्ता जस्तो लुटको धनमा भागवण्डा खोजिरहन पनि परेको छैन ।
तपाईले रचेको जनयुद्दमा सत्र हजार नेपाली जनताहरूको प्राण पखेरू उड्यो,कैयौं घाईते भए, बेपत्ताको संख्या उस्तै डरलाग्दो छ, कैयौ विस्थापित भए…..यो तथ्यांक म संग भन्दा तपाई संग आधिकारिक छ होला । किनकि जनयुद्दको प्रमुख डिज़ाइनर पनि मेरो बुझाईमा तपाई नै हो ।
मैले यसो भनिरहँदा मूल बिषय वस्तुमा कतिखेर प्रवेश गरूँ भनेर हिचकिचाहट भईरहेको छ तर आज अवष्य लेख्ने छु, किनकी मेरो मन असाध्य रोएको छ, अर्थात म जस्ता लाखौं साथीहरुको मन भाँचिएको छ ।
मलाई थाहा छ कि जनयुद्द लड्नु चानचुने कुरा पनि थिएन, नलडेको भए मुलुकमा यत्रो विधि राजनैतिक परिवर्तन पनि हुने थिएन । यो पाटो स्मरण गर्दा म र मेरो भावनाको प्रतिनिधित्व गर्नेहरुको तर्फ बाट धन्यवाद नदिईरहन सकिन।
यसै विच देशमा साना ठुला राजनैतिक उतारचढ़ावहरू आए, पहिलो संविधान सभाले संविधान बनाउन नसकेपछि दोस्रो संविधान सभाको चुनाव तपाईले नै घोषणा गर्नु भयो। चुनाव पनि सकियो,सकिने वित्तिकै तपाईंहरुले विज्ञप्ति निकाल्नु भो । शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई धन्यवाद दिनु भो ।
तपाईले लेखेको बिज्ञप्तिको मसी सुक्न पाएको थिएन, मत गणना शुरु हुदै गर्दा एमाओवादीले हार्ने पक्का भो अनि हतार हतार अर्को विज्ञप्ति निकाल्नुभो : निर्वाचनमा ब्यापक धाँधली भो ! एमाओवादीले संविधानसभा वहिस्कार गर्छ!अब भने मैले तपाईहरूको कुरा बुझ्न छोडेँ , मेरा ईन्द्रियहरुले काम गर्न छाडेको अनुभूति भयो ।मेरो भावनाको प्रतिनिधित्व गर्ने आम युवाहरु पनि तीन छक परे: राजनीतिमा यसो पनि हुदोरहेछ: फ़ेरि पनि हामी आशावादी रह्यौ किनकी हाम्रो धैर्यताको बाँध बलियै थियो ।
तपाईहरु संविधान सभामा आउनु भयो, नआएर कहाँ हुन्थ्यो र ?शिर्ष नेताहरु धेरै पटक वार्तामा वस्नु भयो, हरेक पटक सहमतिको नजिक भन्ने समाचार आयो। यसै विच संघीयता,धर्मनिरपेक्षता,राज्यका संबैधानिक अंग,प्रादेशिक सिमांकन आदिको कुरा आयो, यी सबैलाई क्रमश: तपाईहरु आफ़्नो अनुकुल पार्नु भयो, हामीले अक्षरस मौन समर्थन जनाईरह्यौ।किनकी राजनेताहरुले कहिल्यै गल्ती गर्दैनन भन्ने हाम्रो मान्यता रहिरह्यो ।एक थान संबिधान पनि बन्यो अर्थात बनाउनु भयो।
उता संबिधानमा संशोधनको ग्यारेन्टी हुँदा हुदै मधेसवादी दलहरु सिमानामा लम्पसार गरेर भारतको एजेण्डा लिएर चार दर्जन जनता मर्दा देसको प्रधानमंत्री भईसकेको मान्छेले समस्या समाधान गर्नु र संबिधान बनेको खुशीमा उत्सव गर्नुपर्ने वेलामा अकस्मात उत्पात मच्चाउन दशगजा पुग्नु भयो । दशग़ज़ामा गएर तपाईले उत्पात मात्र मच्चाउनु भएन बरु मधेसमा सल्किरहेको आगोमा पेट्रोल हाल्नु भयो। आफ़नो ब्यक्तिगत फ़ाइदाका लागि मधेसी जनतालाई वलीको बोको बनाईएको रंगमंचमा नारद मुनि बनेर आफ़्नो सितार बजाउनु भो। तपाईंको विद्दता यति शिघ्र पतन होला भनेर मैले सोचेंको पनि थिएन ।
मलाई थाहा थियो कि पार्टीमा तपाईको विचारको कदर थिएन, तपाई एमाअोवादीमा अटाउन सक्नु हुनेथिएन भने किन सत्र हजार मान्छे मार्ने युद्दको डिज़ाइन र डिरेक्सन गर्नु भो? किन मानुषीलाई विदुषी बनाउन दिल्ली पठाएर ग़रीब मधेसी पहाडी काछोराहरुलाई राज्यसत्ता विरुद्ध लड्न पठाउनु भो?
किन एउटा सानो देसमा लिम्बुवान,खम्बुवान,नेवा,तमूवान,मगराँत,थरुहट,मिथिला, कोचिलाको किचलो देखाएर जनता लडाउनु भो ? नेपाली जनताले संघीयता हैन संवृद्दि मागेका थिए तर सीमित बावुहरुलाई मुख्यमन्त्री बनाउन संघीयताको सुपारी बाड्नु भो । वर्गीय कुरालाई नज़रअन्दाज़ गरेर जातीयताको ढोल पिट्नु भो । हैन भने कति अति विपन्न आदिवासी,जनजाति,दलित र कर्णालीको खस आर्यहरुलाई राज्यसत्तामा सहभागि गराउनु भो?
किन राज्यको सुविधाको नाममा एक थान नागरिकता मात्र लिएका कर्णालीका बाहुन क्षेत्रीहरुलाई जातीयताको कारणले राज्यको सुबिधाबाट बन्चित गर्न उद्दत हुनु भो? किन मधेसकै मसिहाहरुले मधेसीलाई अघि बढ्न नदिने नायकहरु उपेन्द्र,राजेन्द्र र महेन्द्रको साथ दिनु भो? तपाईहरु सामान्य उपचार गर्न विदेश गईरहँदा एउटा सिटामोल नपाएर मर्नेहरुले के तपाईहरुले गरेको चैनको भुक्तानी गर्नुपर्ने हो र ?
देसमा राष्ट्रिय अन्तरराष्ट्रिय तत्वहरुले संबिधानको सफल कार्यान्वयन हुन नदिएको बेला तपाई जस्तो शालीन नेतृत्व क्षमता भएको मान्छेले नयाँ शक्तिको गफ चुट्दा अहिलेको अवस्थामा तपाईलाई कति फाप्ने हो कुन्नि ?
फ़ेसबुकमा दुई चार लाख लाईक पाउदैमा नयाँ शक्तिले केहि नयाँ गर्न सक्दैन। बरु हिमाल हाँस्दा हाँस्ने पहाड र पहाड रुँदा आँशु झार्ने तराई बनाउन पहल गर्नुस । अझै केहि बिग्रेको छैन । किनकि तपाई एउटा काम गर्न सक्ने नेता हो। कुनै समुदायको मात्र हैन विष्वकै नेता बन्न सक्ने खुबी छ तपाईमा। गफ हैन काम गरेर देखाउनुस। यहाँ गफ गर्नेहरु धेरै आए। नयाँ शक्ति हैन हामीलाई नयाँ नेपाल पो चाहिएको छ त हैनर ?
तर पनि देश बदल्ने भिजन ल्याउनु हुन्छ भने जनताले पक्कै मूल्याँकन गर्नेछन । काठमांडौको फ़ोहर जस्तै राजनीतिको फोहोर सफ़ा गर्नुस । शुभकामना ।
तपाईको शुभचिन्तक
सरगम भट्टराई
प्रतिक्रिया