पञ्चैबाजा संरक्षण अभियान

इनेप्लिज २०७२ चैत ६ गते ३:४६ मा प्रकाशित

imagesफलेवास (पर्वत), ६ चैत । केही वर्ष अघिसम्म विवाह, व्रतबन्ध, तथा शुभकार्यमा बजाइने पञ्चैबाजा पछिल्लो समयमा आएर लोप हुन थालेको छ ।

पञ्चैबाजा बजाउनेको पेसागत प्रतिष्ठा, पारिश्रमिक र भविष्य लगायत कुराको कारण देखाउँदै पञ्चैबाजा बजाउन छाडिएको छ । खासगरी दर्जी जातिले बजाउने पञ्चैबाजा पछिल्लो समयमा मगर समुदायले पनि सिको गरे पनि पहिलेजस्तो जताततै बजाउने गरेको पाइँदैन । ग्रामीण क्षेत्रमा पछिल्लो समय लोप हुँदै गएका ग्रामीण क्षेत्रका पञ्चैबाजा संरक्षणमा सांसद विकास लम्साल जुट्नुभएको छ ।

सांसद लम्सालले पर्वत निर्वाचन क्षेत्र नं २ का २९ गाविसमा रहेका पञ्चैबाजा समूहलाई संरक्षण गर्ने अभियान थाल्नुभएको हो । बाजा बजाउन छाडेर अन्य पेसा अङ्गालेकाहरुलाई सोही पेसामा फर्काउन र हराउँदै गएको परम्परागत संस्कृतिका रुपमा रहेको पञ्चैबाजा संरक्षणमा लम्सालले अभियान नै सञ्चालन गर्नुभएको छ ।

अभियानअन्तर्गत उहाँले विभिन्न गाउँमा रहेका पञ्चैबाजालाई संरक्षण गर्ने उद्देश्यले पञ्चैबाजा निःशुल्क वितरण गर्नुभएको छ । लम्सालले पञ्चैबाजाका १९ समूह पहिचान गरी उनीहरुलाई व्यावसायिक बनाउन थाल्नुभएको छ ।

बाजाको संरक्षणका लागि नयाँ बाजा, बजाउनेका लागि पोसाक लगायत सामग्री वितरण गर्न थाल्नुभएको छ । ट्याम्को, सनाइ, झ्याम्टा, ढोलक, दमाहा तथा नरसिंहा, कर्नाल लगायत बाजाका नयाँ सामग्री नै सबै समूहलाई वितरण गरिएको छ ।

उहाँले हालै भङ्गरामा रहेको पञ्चेबाजा समूहलाई पञ्चैबाजाका सबै सामग्रीसहित पोसाक वितरण गर्दै ग्रामीण क्षेत्रमा रहेको पुरानो संस्कृति जोगाउनका लागि आफूले अभियान चलाएको बताउनुभयो ।

करिब रु डेढ लाख बराबरका बाजा, नेपाली पोसाक लगायतको सहयोग गरिएको हो । त्यसको खर्च सांसद विकास कोषबाट व्यहोरिएको हो ।

प्रतिक्रिया