आमसञ्चार नीति महिलामैत्री हुनुपर्ने

इनेप्लिज २०७२ चैत ६ गते ३:३३ मा प्रकाशित

जनकपुरधाम, ६ चैत । सञ्चार क्षेत्र अहिले पनि महिलामैत्री हुन नसकेको धारणा विभिन्न सञ्चार गृहमा कार्यरत सञ्चारकर्मीले राखेका छन् ।

मिडिया एडभोकेसी गु्रपद्वारा शुक्रबार यहाँ आयोजित ‘आमसञ्चार नीति’ विषयको छलफल कार्यक्रमका सहभागीले सञ्चार नीति र सञ्चार गृहका सञ्चालकको विभेदले महिलाले यस क्षेत्रमा असुरक्षित महसुस गरिरहेको बताए ।

पेसागत सुरक्षाका लागि नीतिगतरूपमै सञ्चारगृहमा महिला सञ्चारकर्मी राख्ने व्यवस्था, तलबको समानता र दक्षता अभिवृद्धिको रणनीति उल्लेख गरी कार्यान्वयन गराउने निकायको क्रियाशीलतामा पनि सहभागीले जोड दिए ।

पत्रकार वृजकुमार यादवले निजी क्षेत्रका सञ्चारगृहले दक्ष महिला सञ्चारकर्मीको माग गर्दा पाउन नसकेको बताउनुभयो ।

पत्रकार श्यामसुन्दर शशिले सञ्चार क्षेत्र सेवा हो कि पेसा हो, यसमा जटिलता देखिएका कारण पनि सञ्चारकर्मी असुरक्षित छन् भन्नुभयो ।

रेडियो नेपालका जनकपुर समाचारदाता अजयकुमार झाले सञ्चार नीतिमा विद्यमान त्रुटिले पेसा सङ्कटमा रहेको बताउनुभयो । सञ्चारकर्मी मनिका झा, दीपिका साह, अस्मिता झा, रिङ्की दास, शङ्कर श्रेष्ठ, घनश्याम मिश्र र गायत्री मिश्रले महिला सञ्चारकर्मीको आत्मविश्वास बढाउने वातावरणको खाँचोमा जोड दिनुभयो ।

गु्रपका अध्यक्ष बबिता बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा धनुषा, महोत्तरी र सर्लाहीका सञ्चारकर्मीको सहभागिता थियो ।

प्रतिक्रिया