भक्तपुर, ३ चैत । भूकम्पपछि काम रोकिएको सडक निर्माणको माग गर्दै मङ्गलबार मध्यपुर थिमिका बासिन्दाले डिभिजन सडक कार्यालय भक्तपुर घेराउ गरे ।
लोकन्थलीबाट सानोठिमी जाने १.८ किलोमिटर सडक तीन वर्षयता निर्माणका लागि ठेक्का परेपनि अझै काम सम्पन्न नभएपछि स्थानीयवासीले सडक निर्माण सम्पन्न गर्न माग गर्दै कार्यालय घेराउ गरेका हुन् ।
नेपाली काँग्रेसका नेता अष्टकुमार कवेको नेतृत्वमा करिब ३०० जनाको समूहमा आएका स्थानीयवासीले सडक निर्माण सम्पन्न नहुँदा हिउँदमा धुलोले र बर्खामा हिलोले निकै कष्टपूर्ण पारेको बताएका छन् । कवेले भन्नुभयो—“तीन वर्षदेखि सडक भत्काएर राखेको छ, सडकमा खाल्डैखाल्डोले पानी पर्ने बित्तिकै हिलो र पानी जमेर आवतजावतमा समस्या पारेको छ, घाम लाग्दा धुलोले कष्ट पारेको छ, त्यसैले स्थानीयवासीले कार्यालय घेराउ गर्नुप¥यो ।”
मध्यपुर थिमि नगरपालिकाका वडा नं १५, १६ र १७ का स्थानीयवासीले कार्यालयमा एक घन्टा बसेर धर्ना दिएपछि सडक डिभिजन कार्यालयका प्रमुख देवेन्द्र साहले तत्कालै सडक निर्माण सुरु हुने वचन दिएपछि स्थानीयवासी फर्किएका थिए । लोकन्थलीको शिवनगर टोल सुधार समितिकी उपाध्यक्ष उत्तरा नेपालले सडक कालोपत्र नगर्दा स्थानीय बासिन्दादेखि विद्यार्थीले समेत सास्ती व्यहोर्नु परेकाले दबाब दिन कार्यालय घेराउ गर्न आउनु परेको बताउनुभयो ।
कार्यालयका प्रमुख साहले तीन वर्षअघि नै टेन्डर भएपनि ठेकेदारले काम सम्पन्न नगर्दा कारबाहीको सूचीमा राखेको बताउनुभयो । गत वैशाखको भूकम्पपछि उक्त सडक बनाउने काम रोकिएको बताउँदै उहाँले त्यसपछिको इन्धन अभावले समस्या पारेपनि अबको चार दिनभित्रै उक्त सडक कालोपत्र गर्ने काम सुरु हुने बताउनुभयो ।
प्रतिक्रिया