ताप्लेजुङ, २ चैत । एमाले सचिव योगेश भट्टराईले आर्थिक विकासको प्रमुख मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रलाई सुदृढ गर्न नीतिगत सुधार आवश्यक भएको बताउनुभएको छ ।
एमाले मेची अञ्चल कमिटीले सञ्चालन गरेको पर्यटन प्रर्वद्धन कार्यक्रम अन्तर्गत आज यहाँ प्रभातफेरि कार्यक्रमको उद्घाटन गर्दै उहाँले पर्यटन क्षेत्रलाई व्यावसायिक र सुुदृढीकरणका लागि नीतिगत सुधार गरी कार्यान्वयनसँगै सबै दलले साझा अभियान बनाउन जरुरी रहेको स्पष्ट पार्नुभयो ।
शुक्रबारदेखि झापाबाट मेची पर्यटन प्रवद्र्धन अभियानको थालनी गरेको एमालेले आज ताप्लेजुङ सदरमुकाममा प्रभातफेरि कार्यक्रम राखेको हो । यहाँका पर्यटकीय क्षेत्रको अवलोकन कार्यक्रम समेत राखिएको थियो ।
अभियानमा देशका ६५ भन्दा बढी जिल्लाका एमाले अध्यक्ष तथा पूर्वी क्षेत्रबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेता सहभागी हुनुहुन्छ ।
अभियानमा सहभागीहरु एमाले नेता मदन भण्डारीको पुख्र्यौली घर रहेको ढुङ्गेसाँघु गाविसमा यही चैत ३ गते हुने रजत महोत्सव कार्यक्रममा पनि जानुहुने छ ।
एमालेले २०४८ सालदेखि जिल्लाको क्षेत्र नं २ मा लगातार संसदीय निर्वाचनमा विजय हासिल गरेकाले यस क्षेत्रको विजय महोत्सवका रुपमा एमाले ताप्लेजुङले रजत महोत्सवको आयोजना गरेको हो । मेची अञ्चल कमिटीले सञ्चालन गरेको मेची पर्यटन प्रवद्र्धन कार्यक्रमको ताप्लेजुङमै समापन गरी कोसी पहाडी जिल्ला हुँदै अभियानको टोली धरानतिर निस्कने छ ।
सो अभियानसँगै पर्यटन प्रवद्र्धन कार्यक्रमको सिलसिलामा देशभरका जिल्ला अध्यक्ष मार्फत नीतिगत सुधारका लागि बहस र अभियानको सुरुआत भएको एमालेले बताएको छ ।
प्रतिक्रिया