असिनापानीले गहुँ र मसुरो बालीमा क्षति

इनेप्लिज २०७२ चैत १ गते ५:१० मा प्रकाशित

कञ्चनपुर, १ चैत । गए राति परेको असिना पानीका कारण कञ्चनपुरका कृषकले लगाएको गहुँ र मसुरो बालीमा व्यापक क्षति पुगेको छ ।

जिल्लाको बेदकोट, झलारी पिपलाडी, देखतभूली, शङ्करपुरलगायत क्षेत्रका कृषकले असिना पानीका कारण बढी क्षति व्यहोरेका छन् ।

पाक्नै लागेको गहुँबाली र मसुरो बालीमा असिना पानी पर्दा बाली बिग्रिएको झलारी पिपलाडी–३ का कृषक मनिराम चौधरीले बताउनुभयो ।

गहुँको बाला पूरै असिनाका कारण थिचिएकाले उत्पादनमा निकै गिरावट आउने उहाँले बताउनुभयो । तरकारी बालीमा समेत असिना पानीले क्षति पुर्‍याएको कृषक वसन्ती चौधरीले बताउनुभयो ।

लहरे तरकारी बालीमा असिना पानीले बढी क्षति पुर्‍याएको छ उहाँले भन्नुभयो, “फुल्नै लागेको काँक्रा, फर्सी, तितेकरेला, लौकालगायतका बालीमा क्षति भएपछि लगानी खेर गएको छ ।”

कृषि सेवा केन्द्र झलारीका कृषि प्राविधिक मनि नाथले असिना पानीले क्षति पुर्‍याएको कृषकबाट गुनासो आइरहेकाले क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको बताउनुभयो ।

प्रतिक्रिया