सात नेपाली महिलाको उद्धार

इनेप्लिज २०७२ चैत १ गते ३:३० मा प्रकाशित

पथरी (मोरङ), १ चैत । मोरङ प्रहरीले सात जना नेपाली महिलालाई जोगवनी रेलवे स्टेसनबाट उद्धार गरेको छ ।

भारतको नयाँ दिल्ली हुँदै खाडीमुलुक लैजान लागिएका सात जना महिलालाई उद्धार गरिएको इलाका प्रहरी कार्यलय रानीका प्रहरी निरीक्षक गङ्गा पौडेलले बताउनुभयो ।

प्रहरी निरीक्षक पौडेलका अनुसार चितवन, सङ्खुवासभा, उदयपुर र सुनसरी घर भएका महिलाको उद्धार गरिएको हो । दिल्लीको बाटो हुँदै खाडीमुलुकतर्फ महिलालाई लगिँदै गरेको विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले रेल चढ्न लाग्दा गए राति १२ बजे उद्धार गरेर ल्याएको हो ।
उद्धार गरिएका महिला २१ देखि ३७ वर्ष उमेर समूहका रहेका छन् ।

ज्यान मारेको आरोप लागेका १२ वर्षपछि पक्राउ

स्थानीय पवित्रा कट्टेलको हत्याको आरोप लागेका मोरङ मधुमल्ला–७ का ४८ वर्षीय धनपति रेग्मी १२ वर्षपछि पक्राउ परेका छन् ।

२०६० साल पुस २४ गते कट्टेलको हत्या गरेको आरोपमा रेग्मीलाई मुद्दा चलाइएको थियो । क्षेत्रीय अपराध अनुसन्धान समूहका प्रहरी नायब उपरीक्षक कमल थापाका अनुसार हत्यामा संलग्न चन्द्रप्रसाद कट्टेल र इन्दिरा कट्टेलले सजाय भुक्तान गरिसकेका छन् ।

स्थानीय महिलाको हत्याको आरोप लगेपछि रेग्मी माओवादीको भूमिगत राजनीतिमा लाग्नुभएको थियो । पक्राउ पर्नुअघि रेग्मी भर्खरै वैदेशिक रोजगारबाट फर्किएको बताइएको छ । रेग्मीलाई पक्राउ गरी आइतबार बेलुका विराटनगर ल्याइएको छ । रेग्मीलाई २० वर्ष जेल सजाय तोकिएको थियो ।

प्रतिक्रिया