ओलीको नेतृत्वमा सरकारमा सहभागि हुने सम्भावना छैन

इनेप्लिज २०७२ फागुन २९ गते १७:११ मा प्रकाशित

kol

नेपाली काग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भईसकेपछि अब नेपाली राजनीतिमा सरकार परिवर्तनको सम्भावनाले जोड पकडिएको छ । सत्ताको खेलमा सिपालु देउवा अब कसरी आगाडि बढ्छन त ? उनी निकट नेता गोपालमान श्रेष्ठसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानी
सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापित बनाउने रणनीति बनाउनु भएको हो ?
हामी अहिले पार्टीको १३ औं महाधिवेशनकै रौनकमा छौ । मत गणना जारी छ । मतगणना सकिएपछि हामी बसेर सरसल्लाह गरेर कसरी अगाडि बढ्ने भन्ने कुरा गर्छौ । अहिले सरसल्लाह भएको अवस्था छैन । मुलुकको सबैभन्दा ठूलो पार्टी हो नेपाली काग्रेस । नेतृत्व हाम्रो नै हुनु पर्नेमा हामी अहिले प्रतिपक्षमा छौ । मत परिणाम आईसकेपछि हामी अरु दलसँग पनि बसेर छलफल गर्छौ, एमाले, माओवादीसहितका दलहरुसँग छलफल गरेर के कसरी जाँदा ठिक हुन्छ भन्ने निर्णय लिन्छौ ।
केपी ओली नेतृत्वकै सरकारमा काग्रेस जाने सम्भावना छ कि छैन ?
त्यस्तो सम्भावना छैन । हामी सहभागि हुँदैनौ हामी अहिले रचनात्मक प्रतिपक्षमा नै रहन्छौ ।
काग्रेस भित्र सरकारमा सहभागि हुनुपर्छ भन्ने मत पनि छ नि ?
सरकारमा जाँदा खेरी हाम्रै नेतृत्वमा जान्छौ ।
नेपाली काग्रेसको नेतृत्वमा सरकार बन्न सक्छ ?
राष्ट्रिय सरकारको नेतृत्व हामीले लिने कोशिस हुन्छ । सरकारको एक घटक एमाओवादीको अध्यक्ष प्रचण्डले पनि महाधिवेशन सकिएपछि काग्रेसकै नेतृत्वमा सहमतिको सरकार निर्माण गर्नु पर्छ भनेर । यो संविधानलाई लागु गर्नको निम्ति पनि र मधेसको समस्या समाधान गर्न पनि काग्रेसको नेतृत्वमा सरकार गठन गर्न जरुरी देखिएको छ । त्यसकोलागि हामी ब्यापक रुपमा छलफल गर्न पाएका छैनौ । छलफलपछि कुनै निष्कर्स निस्कन्छ ।
शक्तिशाली पार्टीको सभापति शेरबहादुर देउवा त्यसै चुप लागेर बस्नु होला ?
उहाँ तीन पटक प्रधानमन्त्री भईसक्नु भएको छ, उहाँमा सुझबुझ छ । यो मुलुकमा ६५ वर्षपछि संविधान जारी भएको छ । जनताले निर्माण गरेको संविधान प्राप्त भएको छ । यो संविधान काग्रेसकै नेतृत्वमा प्राप्त भएको हो । यो संविधान कार्यान्वयन गर्ने दायित्व पनि नेपाली काग्रेसमाथि आएको छ । राष्ट्रिय मेलमिलाप र एकताबाट अघि बढेर त्यसको नेतृत्व काग्रेसले नै लिने बातावरण बनाउन हामी हप्ता दिनपछि पार्टीभित्र र अन्य पार्टीहरुसँग छलफल गरेर अगाडि बढ्नु हुन्छ ।
त्यसो भए एक हप्तापछि काग्रेसले सरकारको नेतृत्व लिने निर्णय गर्छ ?
मुलुकमा राजनीतिक आन्दोलन समाप्त भएको अवस्था छ । हामीले अब यो संविधानलाई लागु गर्दै आर्थिक क्रान्ति गर्ने विषयमा खाँका बनाउँछौ । महाधिवेशनबाट पारित नीति तथा कार्यक्रमको आधारमा अब कसरी अगाडि बढ्ने, कसरी नेपाली जनतालाई सुख, शान्ति र समृद्धि दिने विषयमा ब्यापक छलफल गरेर अगाडि बढ्छौ ।
नेपाली काग्रेसले सरकारको नेतृत्व गर्दा कस्ले नेतृत्व गर्छ शेरबहादुर देउवा कि रामचन्द्र पौडेल ?
शेरबहादुर देउवा कि रामचन्द्र पौडेल को भन्ने विषयमा अहिले सल्लाह भएको छैन । दोस्रो चरणको निर्वाचनमा रामचन्द्र पौडेलले ठूलो छाति देखाउनु भएको भए उहाँलाई बनाउने कुरामा पनि कुनै आपत्ति थिएन । अब दलको नेताको चुनाव पनि हामी गराउँछौ । १५ दिनपछि दलको चुनाव गर्छौ । त्यसमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलमात्रै होईन, अरु कोही पनि हुन सक्छ । दलको नेता जो बन्छ त्यही प्रधानमन्त्री बन्छ ।
शेरबहादुर देउवा दलको नेता बन्नु हुन्न ?
त्यसको विषयमा पनि अहिले कुनै सल्लाह भएको छैन । हामीले उहाँलाई पनि बनाउन सक्छौ तर उहाँले होईन अरु नै साथीहरुलाई बनाऔ भन्नु भयो भने त्यो पनि हुन सक्छ । उहाँ हुन हुन्न र उहाँ नै हुनु पर्छ भन्ने छैन ।

प्रतिक्रिया