गण्डकी मेडिकल कलेजले नयाँ कार्यक्रम थप्ने

इनेप्लिज २०७२ फागुन २८ गते २:२० मा प्रकाशित

पोखरा, २८ फागुन । चिकित्सा तथा स्वास्थ्य विज्ञान शिक्षाका क्षेत्रमा क्रियाशील गण्डकी मेडिकल कलेजले आगामी शैक्षिकसत्रदेखि बिडिएस, बिएससी नर्सिङ, बिएनएस, बि फार्मा, बिएमएलटीलगायतका शैक्षिक कार्यक्रम थप्ने भएको छ ।

कलेजको आठौँ वार्षिकोत्सवको अवसरमा बिहीबार यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार खनालले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको टड्कारो अभाव महसुस भएको परिप्रेक्ष्यमा यससम्बन्धी विभिन्न क्षेत्रका जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ कार्यक्रम थप्न लागिएको बताउनुभयो ।

सन् २०१० देखि एमबिबिएसको अध्यापन गराउँदै आएको जानकारी दिँदै उहाँले यसै शैक्षिक वर्षदेखि त्यसबाहेक बिएससी नर्सिङ, बिपिएच, बिएससी एमएलटीका शैक्षिक कार्यक्रम थप भई तिनीहरूको पठनपाठन सुरु भएको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार आगामी शैक्षिकसत्रदेखि बिडिएस, बिएनएस, बि–फार्मा, बिएमआइटी, बिएमएलटीलगायतका नयाँ शैक्षिक कार्यक्रम सञ्चालनको तयारी गरिएको छ ।

आठौँ वार्षिकोत्सवका अवसरमा कलेजले आजदेखि एक हप्तासम्म ओपिडी रजिस्ट्रेसन शुल्क तथा जनरल बेड शुल्क निःशुल्क गर्ने कार्यकारी अधिकृत खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार वार्षिकोत्सवका अवसरमा विभिन्न प्रतियोगितात्मक खेलकुद– फुटवल, भलिबल, क्रिकेट, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन, दौडलगायत आयोजना गरिएको बताउनुभयो ।

प्रतिक्रिया