राष्ट्र निर्माण र आर्थिक समृद्धि सरकारको एकमात्र एजेन्डा: सञ्चार मन्त्री

इनेप्लिज २०७२ फागुन २५ गते १६:२२ मा प्रकाशित

sherdhan-rai-photoपोखरा, २५ फागुन । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नयाँ संविधान जारी भएपछि राष्ट्र निर्माण, आर्थिक समृद्धि र सुशासन सरकारको एकमात्र एजेन्डा भएको बताउनुभएको छ ।

रेडियो जननीको दोस्रो वार्षिकोत्सव तथा १०६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले नेपाली काँग्रेसको १३औँ महाधिवेशन सकिएलगत्तै सबै राजनीतिक दलसँग छलफल गरेर सरकारको प्रमुख एजेन्डालाई ठोस रुपमा अघि बढाइने जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीबाट चैतको दोस्रो हप्तादेखि हुने चीन भ्रमणका क्रममा नेपाल र चीनबीच नयाँ उचाइबाट सम्बन्ध सुदृढ हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । मन्त्री राईले चीन भ्रमणका बेला दुई देशबीच व्यापार तथा पारवहन र पूर्वाधार विकाससम्बन्धी ठूला आयोजना सुरु गर्न सम्झौता हुने पनि बताउनुभयो ।

अब सरकार संविधानको प्रभावकारी कार्यान्वयन र भूकम्पबाट बिग्रेका संरचनाको पुनःनिर्माणमा केन्द्रित हुने उहाँको भनाइ थियो ।

स्वतन्त्रता, समानता र सबै प्रकारका अधिकार प्राप्त गर्न सङ्कल्पका साथ अघि बढ्न सबै महिला दिदीबहिनीसँग आग्रह गर्दै मन्त्री राईले असमानता र विभेदका लागि अब महिलाले कहिल्यै पनि आन्दोलन गर्न नपर्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री राईले नाकाबन्दी र मधेस आन्दोलनले संविधानको जग हल्लाउन र सरकारलाई झुकाउन खोजे पनि नेपाली जनताको बलले सरकार कसैसँग नझुकेको दाबी गर्नुभयो ।

उहाँले विद्युत् कटौतीको अन्त्य गर्न महत्वपूर्ण ठूला आयोजना अगाडि बढाउन सरकार प्रयासरत रहेको पनि जानकारी दिनुभयो ।

कार्यक्रममा सांसद शारदा पौडेल, क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइराला, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, नेपाल पत्रकार महासङ्घका अध्यक्ष रामकृष्ण ज्ञवालीले राज्यले नेपाली दिदीबहिनीले गर्ने कामको मूल्याङ्कन गर्नुपर्ने र उनीहरुलाई अवसर दिनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा मन्त्री राईले सेतीबगर आमा समूह, सिर्जना आमा समूूह तथा ज्योति महिला विकास बचत तथा ऋण सहकारी संस्थालाई जननी अवार्ड प्रदान गर्नुभयो ।

त्यस्तै, जननी सम्मानबाट उद्यमशीलतामा रामकली खड्का, सामाजिक क्षेत्रमा कर्मा गुरुङ, पर्यटनमा इन्दिरा बराल, सहकारीमा प्रभा कोइराला, स्वास्थ्यमा महिला स्वयम्सेविका सङ्गीता बराल, शिक्षामा चित्रा गुरुङ, साहित्य र सङ्गीतमा सरस्वती श्रेष्ठ, कृषिमा मीना गुरुङ, अपाङगमा राधा कुँवर, महिला र बालबालिकाका क्षेत्रमा पार्वती अधिकारी र विज्ञान तथा प्रविधिमा कम्प्युटर इन्जिनियर सीता गुरुङलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

प्रतिक्रिया