सोलारले झिलीमिली वन्दै सलकपुर

इनेप्लिज २०७२ फागुन २५ गते ३:४५ मा प्रकाशित

Rss_Images_1444298632901_PP-Gorkha-Solarइलाम, २५ फागुन । बिजुली बाल्ने आशामा वर्षौं बितिसक्दा पनि सरकारी तवरबाट विद्युतीकरण नभएपछि स्थानीयवासीले आफ्नै प्रयासमा जिर्मले गाविसका १, २ र ३ नं वडामा सौर्य ऊर्जा जडान गरेर गाउँलाई नै झिलीमिली वनाएका छन् ।

विद्युतीकरणका लागि एकदशकअघि नै खम्बा गाडिए, केही परसम्म तार टाँगिए पनि बिजुली बाल्ने सपना अधुरै रहेकाले सो गाविसको सलकपुरका स्थानीयवासीले सौर्य ऊर्जा प्रयोगमा ल्याएका हुन् ।

सरकारले बिजुली देला र घर उज्यालो वनाउँला भनेर बसेका सलकपुरवासीले अब सरकारी बिजुलीको आशा मारेका हुन् । स्थानीयवासी याम अधिकारी भन्नुहुन्छ – “पारि भारततर्फको बिजुली हेरेर मन बुझाउनुपथ्र्यो, अहिले घर–घरमा सोलार राखेपछि हाम्रो पनि गाउँ सिङ्गारिएको छ, अब कसैले देला र बिजुली बालौँला भन्ने आश पनि छैन ।”

सबै गाउँले सोलार राख्न एकमत भएपछि गाउँभरि सोलारको उज्यालो देखिन्छ । घरमा सोलार जडान भएपछि टेलिभिजन र रेडियोबाट देश÷विदेशको खबर सुन्न पाइएको छ, नत्र समाचार सुन्न पनि हम्मेहम्मे पर्छ, अधिकारी भन्नुहुन्छ – “स्काई र नमस्ते फोन त कामै लाग्दैन ।” सुन्तला र अलैँचीको पकेट क्षेत्रका रूपमा लिइएको यस गाउँमा सुन्तला र अलैँचीबाट वार्षिक करोडौँ आम्दानी हुने गरेको छ ।

विद्युत् प्राधिकरणले एकदशकअघि जिर्मलेको सलकपुरमा बिजुली बाल्न भनेर झापाको बाहुनडाँगी–७ निन्दाबाट ६०० मिटर पोल गाडेर तार फैलाउने कार्य गरेको थियो । तर जङ्गलको बीचसम्म ल्याएर छोडिएको कामले न निरन्तरता पायो न त्यसलाई कसैले संरक्षण नै गरे ।

विद्युत् प्राधिकरणले मुख्य लाइन विस्तारका लागि भनेर गाउँमा पु¥याएको ३८ थान काठे पोल त्यत्तिकै मक्काएर हराइसकेका छन् भने केही यत्रतत्र छरिएका अवस्थामा छन् ।

तीन दर्जनभन्दा बढी फलामे पोल जिर्मले प्रहरी चौकी डाँडामा थुपारेर राखिएको छ । पटक पटक विद्युत् विस्तारका लागि प्राधिकरणलाई गुहार्दा पनि स्थानीयवासीको भनाइ सुनुवाइ नभएको स्थानीयवासी कुमार मोक्तान बताउनुहुन्छ ।

सोलार राखेपछि न विद्युत्भार कटौतीकै समस्या न त महसुल तिर्नुपर्ने नै झन्झट । सोलार राखेपछि स्थानीयवासीले त्यहीबाट मोबाइल चार्ज गर्ने, टिभी हेर्ने तथा अन्य विभिन्न सुविधा प्रयोग गर्न थालेका छन् ।

इलामले नहेरेको र झापाले नदेखेको भन्ने टिप्पणी गरिएको यस गाउँमा यातायात र सञ्चारको त्यति विकास भएको छैन । आफ्नै गाविस पुग्न पनि स्थानीयवासीलाई झापा जिल्ला घुम्नुपर्ने बाध्यता छ ।

साढे उनन्तीस लाखमा वेदशाला

यसैबीच, शिवरात्रीको अवसर पारेर इलामको चुलाचुली–२ हात्तीलेदामा हालै निर्माण सम्पन्न भएको किराँत हाङ्साम साम्यो माङ्हिम (वेदशाला) को उद्घाटन गरिएको छ ।

इलामका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सोमबार वेदशालाको उद्घाटन गर्नुभयो ।

रु २९ लाख ६२ हजारको लागतमा निर्माण सम्पन्न भएको उक्त वेदशालाका लागि सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामबाट रु तीन लाख, किराँत सत्येहाङ्मा महागुरु फाल्गुनन्द समाज युकेबाट रु २४ लाख ६२ हजार र स्थानीय बासिन्दाबाट रु दुई लाख सङ्कलन गरिएको स्थानीयवासी गङ्गा साउदेनले जानकारी दिनुभयो ।

उक्त वेदशालामा स्थानीय समुदाय राई, लिम्बू, ब्राह्मणलगायत जुनसुकै समुदायका व्यक्तिले अध्ययन गर्न पाउनेछन् ।

सोही अवसरमा मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले यो वेदशाला जिल्लाकै नमुना भएकाले यस क्षेत्रमा पर्यटन विकासमा समेत टेवा पुग्ने बताउनुभयो ।

वेदशाला उद्घाटन गर्दै प्रजिअ दाहालले विभिन्न समुदायमा निर्माण भएका वेदशालाले धार्मिक सहिष्णुता कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया