“अमेरिकामा आमा” उपन्यास एक दृष्टि

इनेप्लिज २०७२ फागुन २२ गते ०:३४ मा प्रकाशित

basant shrestha

भारती गौतम नेपाली साहित्यिक आकाशमा कुनै नौलो नाम होइन | उनका “आकाश माथिको शहर” कविता संग्रह (ई.सं.२००७) र “स्मृतिमा भिमु” संस्मरणनात्मक निबन्ध संग्रह  (ई.सं. २०१०) अत्यधिक चर्चामा आउन सफल पुस्तकहरु हुन् |

उनको नविनतम कृति “अमेरिकामा आमा” लेखिकाको सौहार्द्तामा र साहित्यकार मित्र गोबिन्द गिरि प्रेरणाको सौजन्यतामा पढ्ने अबसर प्राप्त गरें | करिब पांच सय पेजको गहकिलो यो उपन्यास एकै बसाइमा पढ्न नसकिने भएता पनि उपन्यासको शैली, रोमान्चपूर्ण विवरण र मिठो उपमाहरुको मिश्रणले पुस्तक अत्यधिक रुचिका साथ् चाडो चाडो पढी सक्न कुनै पनि पाठकलाई आतुर पार्दछ | यो टिप्पणीकारले आफ्नो परिवारका साथ् अमेरिका प्रबासमा दुइ दशकको अनुभब प्राप्त गरिसकेको कारणले यस उपन्यास भित्रका धेरै बर्णनहरु आफ्नै जस्तो लागेर पनि पुस्तकबारे यो टिप्पणी लेख्न उत्सुकता जागेको हुनसक्छ |

यस उपन्यासका लेखिका भारती गौतमका पति डा. शिब गौतमले हार्भर्ड बिस्वबिद्यालयमा नियुक्ति प्राप्त गरे पछी उनको सम्मानमा सन् २००३ मा एक “सम्मान तथा कबि गोष्ठी”  कार्यक्रमको आयोजना भएको थियो | वाशिंगटन डिसी को माउन्ट एभरेस्ट रेस्टुरेन्ट मा सम्पन्न सो बिशेष कबि गोष्ठीको आयोजना वाशिंगटन डिसी स्थित “नेपाली कबि तथा लेखक साहित्य प्रतिष्ठान”ले गरेको थियो | डा. शिब गौतम स्वयं एक स्थापित तथा लोकप्रिय कबि हुन् | यो पुस्तक पढ्दै गर्दा त्यो जमघटको पनि सम्झना आयो र  यहाँ उल्लेख गर्न सान्दर्भिक ठाने |

“अमेरिकामा आमा” एक सस्मरणात्मक उपन्यास हो | यो उपन्यास लेखिकाको परिवारले अमेरिकामा तिस बर्ष बिताएको सुख दुख घटनाहरुको वृतान्त हो | लेखिकाको परिवारको प्रबासमा भएका घटनाहरुलाई सस्मरण लिपिबद्ध भए ता पनि यो पुस्तक भित्रका यथार्थ घटनाहरु प्रबासमा जीबन यापन गर्ने सम्पूर्ण परिवारको कथा हो भन्ने मलाई लाग्दछ | यो उपन्यासलाई दुइ शब्दमा परिभाषित गर्ने हो भने सम्पूर्ण आमाहरुले आफ्नो परिवार प्रति गरेको त्याग, तपस्या, समर्पण र बलिदानको कथा हो यो पुस्तक | यो उपन्यासले सम्पूर्ण नारी जातिको महानताको ब्याख्या गरेको छ | अझ बढेर भन्ने हो भने यो उपन्यास नारीबादी उपन्यास हो | जसमा एक नारीले आफ्नो परिवार र आफ्नो पतिको सुख र सफल भविष्यको लागि पटक पटक आफ्नो ईच्छा, आकांक्षा, रहर, सपना र उज्ज्वल भविष्य लाई बलिदान गर्दछिन | पितृसत्तात्मक समाजमा पुरुषको सफलता, सुख शान्ति र उन्नतिको लागि महिलाले आफ्नो सम्पूर्ण जीबन न्योछावर गर्नु पर्ने बाध्यता र त्यसको कहरको सानो उदाहरण पनि मान्न सकिन्छ यो पुस्तकलाई | हामि प्रवासीको लागि हाम्रो यो सामाजिक संरचना एउटा ठुलो चुनौती हुन् पुगेको जस्तो मलाई लाग्दछ |

प्रबासमा यस प्रकारको विभेद परिश्थिति र बाध्यताले जन्माएको हुन्छ भने उता हामीले छोडेर आएको  घरगाउँमा यहि स्थिति पुरातनबादी सोच र मान्यताको परम्पराको जड्ले प्रश्रय पाएको कारणले हुन्छ | अझ पनि हाम्रो समाजमा यस्ता संकीर्ण भाबना र संस्कार बिधमान छदैछ |

यस अघि मैले कुनैपनि सस्मरणात्मक उपन्यास पढ्ने अबसर पाएको थिइन | यो कृतिलाई यथार्थपरक कृति हो भन्दा केहि फरक पर्दैन | उपन्यास भन्दा पनि यथार्थपरक सस्मरणात्मक ग्रन्थ भने पनि अन्यथा नहुने जस्तो लाग्दछ | भाबी पिंढीको लागि यो कृति एक ऐतिहासिक दस्ताबेज हुनसक्छ भने भर्खर भर्खर प्रबासी बन्न आईपुगेका नेपालीको निम्ति ज्ञानको भण्डार हुनसक्छ |

ama

प्रत्येक अक्षर अक्षरमा उपमा मिसाएर लेख्न सक्ने लेखकीय शैली मैले अन्य कुनै पुस्तकमा पढेको छैन | प्रत्येक घटना परिघटना लाई सम्प्रेषणयुक्त र मिठास भर्नको लागि प्रयोग गरिएको उपमाले उपन्यास साच्चीनै घतलाग्दो लाग्दछ | यो पुस्तकलाई नेपाली शब्दको उपमाको भण्डार भन्दा पनि हुन्छ | यसबाट लेखकको ज्ञान, विद्वता र कौशलताको उजागर गर्दछ | त्यसैले पनि यो पुस्तक पठनीय, संग्रहनीय र विशिष्ट छ भन्दा अत्युक्ति हुदैन |

“अमेरिकामा आमा”को  मुख्य मुद्दा नै आमाले परिवारको लालन पालन मै नतमस्तक बनेर आफ्नो सामर्थ लाई बन्धक राख्दै परिवारको सुख, समृद्धि र प्रगतिको लागि आफ्नो सिप र ज्ञानलाई परिवार भित्रै सिमित राख्नु पर्ने बाध्यता नै मुख्य सार जस्तो लाग्छ | तर यो उपन्यास एउटी आमा र एउटा परिवारको मात्र नभएर सम्पूर्ण प्रवासीको परिवारको यथार्थता हो भन्दा अत्युक्ति नहोला | यसमा सिर्फ नारिको बिबसताको झल्को मात्र छैन उनको समर्पण, सामर्थता र तपस्याको देन र गरिमाको यथार्थता हिमाल झैं उच्चा गरेर उजागर गरेको तथ्य प्रकट हुन्छ |

यो उपन्यासले अमेरिकाको सामाजिक र सास्कृतिक चांड पर्ब हरुलाई हाम्रो आफ्नै सास्कृतिक परम्पराहरु संग दाँजेर प्रस्तुत गरेर पटक पटक हामीलाई आफ्नै गाउँ ठाउँ सम्झन बाध्य पार्दछ | हाम्रो गाउँ घरमा प्रचलित उखान, कहावत र उपमाको प्रयोगद्वारा परिश्थितिलाई प्रस्ट्याउनु यो उपन्यासको अर्को बेजोड प्रस्तुती हो | यसले पाठकहरुलाई धेरै मनोरंजन गराउदछ |

“अमेरिकामा आमा” को अर्को विशिष्टता हो सुरुवात र अन्तलाई एकै घटनाले सफलतापुर्बक जोड्न सक्नु | शुरु भएको घटनालाइ नै उपन्यासको अन्तमा ल्याएर नाटकीय तवरले जोड्न सक्नु लेखकको ठुलो खुबी हो | यसले लेखकको लेखन प्रतिभालाई सबैको सामु छर्लंग पारेकोछ |

उपन्यासले एउटा परिवारको रहन सहन बसाई सराईको बिभिन्न मोडमा आएको घटनालाई मात्र समेटेको  भएतापनि यसले अमेरिकाका बिभिन्न सात वटा शहरहरुको सामाजिक, सांस्कृतिक, भौगोलिक बाताबरण र पर्यटकीयस्थल हरुको राम्रो संग पाठकलाई जानकारी समेत गराएकोछ |

करिब तिस बर्ष अघिका एक एक घटनालाई सिलसिलाबद्ध रुपमा प्रस्तुत गर्ने क्षमता अनि त्यसलाई ईमान्दारी पुर्बक पाठक समक्ष प्रस्तुत समेत गर्नु कम साहसिक कुरा होइन | अझ ति प्रत्येक घटनालाई गाउँघरका ठेट अनि प्रचलित उपमा संग जोडिदिएर उल्लेख गर्न सक्नु बास्तव मै एक उत्कृष्ठ र मिठासपूर्ण साहित्यिक रचनाको नमुना हो भन्ने मलाई लाग्दछ |

यस उपन्यासको अर्को विशेषता हो अमेरिकाको सात वटा राज्यमा बसाई सराईको विवरण कथा यहाँ उल्लेख मात्र गरिएको नभै ति राज्यहरुका प्रमुख स्थान र सामाजिक पर्बहरुको बारेमा बिस्तृत रुपमा जानकारी प्रदान गरेकोछ | लेखिका संगै हामी पाठक पनि ती सातवटै राज्यको बासिन्दा हुन् पुग्छौ |

“म्युजिक सिटी नै उपनाम भएको न्यासभिलमा पाइला हालेदेखि नै सङ्गीत सम्झाउने केहि न केहि देख्दा सङ्गीतको स्टेजमा पसे जस्तो लाग्थ्यो | मेरी बहिनीले जन्म लिनु पर्ने शहर मेरो हिर्दयले भन्यो | बहिनि संग भेट भए जस्तो लाग्यो |” यस उपन्यास भित्र धेरै चर्चा गरिएकी र सम्झिएको पात्र हुन् लेखिकाको बहिनी | बहिनी संगको सम्झनाको घटनाहरु धेरै पटक उल्लेख गरिए ता पनि बहिनीको अल्पायु मै कसरि अनन्त यात्राको तय भएको घटना कुशल लेखिकाले धेरै पछी नेपालको यात्राको बेलामा मात्र उल्लेख गरेकी छिन |

आफ्नो प्यारी बहिनी आरतीको मृत्युको कारण र अबस्थाको बारेमा जान्न उत्सुक पाठकले सो जिज्ञासाको   उत्तर धेरै पछी मात्र अनि थोरै जानकारी बाट मात्र प्राप्त गर्छन | तर पाठकलाई धेरै समय सम्म जिज्ञासु बनाउन लेखिका अत्यधिक सफल छिन |

यस उपन्यासको अर्को महत्वपूर्ण पाटो बच्चाहरुको बाल मनोबैज्ञानिक असरको विश्लेषण | जागिरको सिलसिलामा अमेरिकाको थुप्रै राज्यमा सर्नु पर्ने बाध्यता र त्यसको परिणामस्वरूप छोरा छोरीले स्कुल परिबर्तन गर्नु पर्दाको असर | छोटो छोटो समयमा थुप्रै स्कुलको परिबर्तनले गर्दा संधै नौलो बन्नु पर्ने नियति अनि नया साथी बन्न बन्न आटेको समयमा फेरी त्यो स्कुल छोडेर जानु पर्ने छोराछोरीको बाध्यता को पीडापूर्ण मानसिकताको उल्लेख गरिएकोछ | यसरी बाल मनोबैज्ञानिक असर को तितो यथार्थ को विश्लेषण समेत पाठकले पाउन सक्छन | “अमेरिकामा आमा” उपन्यास बारे आफ्ना केहि व्यक्तिगत धारणाहरु पनि म उल्लेख नगरिरहन सक्तिन |

उपन्यासमा आफ्नो परिवार बाहेक बहिनी आरतीको चर्चा पछी धेरै चर्चा र सम्झना गरिएको अर्को पात्र उनको बुबा | प्राय हरेक नया घरमा बुबाले दिनु भएको पशुपतिको चाँदीको तस्बिर राखेर घर सजाउन मन पराउने लेखीकाले आफ्नो बुबाको विद्वताको बारेमा केहि लेखेर पाठकलाई उहाँ बारे जानकारी गराउनु भए बेस हुन्थ्यो | किनकी वहांको बुबा प्राध्यापक स्व. हेमचन्द्र पोख्रेल पुर्बान्चल क्षेत्रको मात्र न भै नेपाल कै एक प्रतिभाशाली विशिष्ट विद्वान व्यक्तित्व थिए | उनका थुप्रै विशेषता मध्ये म यहाँ केहि मात्र बिशेषताहरु पाठकको जानकारीको लागि उल्लेख गर्ने द्दष्टता गर्दछु |

द्दष्टता किन भने उनकै छोरीले यहाँ उल्लेख नगरेको कुरा मैले उल्लेख गर्दैछु | स्व. हेमचन्द्र पोख्रेल नौ बिभिन्न भाषाका ज्ञाता मात्र थिएनन धाराप्रवाह बोल्न सक्दथे, औषधि विज्ञानको गहिरो ज्ञान उनमा थियो, प्रखर कबि र साहित्यकार थिए,  महाकबी देबकोटाको लक्ष्मी निबन्ध संग्रहको हिन्दीमा रुपान्तरण गरेका थिए जुन प्रज्ञा प्रतिष्ठान बाट प्रकाशित पनि भएकोछ | यसको साथै शाकुन्तल महाकाव्यको जटिलतालाई हिर्दयङ्गम गरेर अर्थ र टिप्पणी सहितको पुस्तक “शाकुन्तल-शब्दार्थ संचय” लेखेका थिए | नेवारी भाषाका महाकबी चित्तधर हिर्दयको “सुगत सौरभ” महाकाव्यको बारेमा नेवारी भाषामा धाराप्रवाह प्रबचन काठमाण्डौमा दिएका थिए | हेमचन्द्र पोख्रेलले धेरै बर्ष सम्म रेडियो नेपालमा नियमित रुपले धार्मिक प्रबचन समेत दिएका थिए |

चार दशक भन्दा बढी धनकुटा बहुमुखी क्याम्पसको प्राध्यापक भै नेपालको क्षिक्षा क्षेत्रमा आफ्नो शिप, मिहिनेत र लगनशीलताको योगदान गरेका विद्वान प्रा. हेमचन्द्र पोख्रेलको बारेमा धेर थोर पाठक लाई जानकारी दिनु पर्ने थियो भन्ने मलाई यो पुस्तक पढ्न थाले देखि अन्त सम्म लागिरह्यो | अर्को यो उपन्यासमा रहेका थुप्रै घटना, चर्चा परिचर्चा लाई छोट्याएर यस पुस्तकको गुणस्तरमा कम हुन् नदिई अलिक थोरै पृष्ठको बनाउन सकिन्थ्यो होला र त्यसो हुनु पर्थ्यो कि जस्तो पनि लाग्न पुग्यो |

समग्रमा भन्नुपर्दा “अमेरिकामा आमा” नेपाली साहित्यको सस्मरणात्मक सिर्जना विधामा एउटा दरिलो र ससक्त उपश्थिति हो | यसले सम्पूर्ण पाठकको मन जित्न अबस्य सफल हुन्छ भन्ने मलाई लाग्दछ | यो उपन्यास पठनीय र संग्रहनीय पनि छ |

अन्तमा यस कृतिका लेखिकाले नेपाली साहित्य आकासमा अझै राम्रा र स्तरीय कृतिहरु ल्याउन सफल होउन यहि नै मेरो कामना छ |

 

 

प्रतिक्रिया