नक्कली भ्याट बिलसहित कपडा बरामद

इनेप्लिज २०७२ फागुन २१ गते १:४३ मा प्रकाशित

12788081_963164387084242_458435619_nकाँकडभिट्टा (झापा), २१ फागुन । इलाका प्रहरी कार्यालय बुधबारेले रु ११ लाख मूल्य बराबरको कपडा नक्कली भ्याट बिल बनाइ इलामको पशुपतिनगरबाट झापा ल्याउँदै गरेको अवस्थामा ग १ ज ४९८२ नंको भाडाको पिकअप भ्यानलाई बिहीबार नियन्त्रणमा लिएको छ ।

झापाको शान्तिनगर–६ स्थित मेची राजमार्गमा चेकजाँच गर्दा भ्यानमा लोड गरिएका १३ पोका कपडाको नक्कली भ्याट बिल फेला परेको थियो । गाडी र सामान राजस्व अनुुसन्धान कार्यालय इटहरी पठाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, अम्लिसोको कुचो लोड गरिएको ट्रकभित्र लुकाइछिपाई भारत लैजान लागेको अवस्थामा झापाको काँकडभिट्टामा ठूलो परिमाणमा जफत गरेको सुक्खा सुपारी प्रहरीले बिहीबार मेची भन्सार कार्यालयमा बुझाएको छ ।

मेचीनगर–३ स्थित चौधरी कुचो उद्योगबाट लोड गरिएको कुचो बोकेको पिवी १० सिजेड ९८०९ जी नंको भारतीय ट्रकबाट बुधबार साँझ ६० केजीका २७४ बोरा सुक्खा सुपारी इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जफत गरेको थियो ।

billप्रहरीले कुचोसँगै सुपारी बोकेर भारत लैजान तयारी अवस्थामा रहेको सो ट्रकलाई मेची भन्सार कार्यालयको सुक्खा बन्दरगाह परिसरबाटै नियन्त्रणमा लिएको हो । कुचो बोकेका शङ्कास्पद अरु नौवटा ट्रकलाई बिहीबार चेकजाँच गरेको थियो ।

तेस्रो मुलुकबाट आयात गरिएको सुक्खा सुपारी भारत निर्यात गर्न प्रतिबन्धित छ । तर कारोबारीहरूले अवैधरुपमा विभिन्न माध्यमबाट लुकाइछिपाई सुपारी भारत लैजाने गरेका छन् ।

कुचोको ट्रकभित्र लुकाएर सुपारी निकासी गर्न लागेको फेला परेको यो पहिलो घटना हो ।

प्रहरीले बरामद सुपारीको तौल १६ हजार ४४० केजी रहेको जनाएको छ । प्रहरीले भारतीय ट्रक र त्यसका सहयोगी भारत समस्तीपुर घर बताउने २६ वर्षीय राम प्रवेशलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया