भीमदत्तनगर, २० फागुन । कञ्चनपुरको भीमदत्तनगरमा आयोजना हुने सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको तयारी पूरा भएको छ ।
आयोजक कञ्चनपुर उद्योग वाणिज्य सङ्घले यहाँस्थित खुलामञ्चमा फागुन २१ देखि फागुन ३० गतेसम्म आयोजना हुने पर्यटन महोत्सवको तयारी पूरा भइसकेको जनाएको छ ।
‘कृषि, पर्यटन र ऊर्जाको विकास, समृद्ध सुदूरपश्चिमको आधार’ भन्ने मूलनाराका साथ सुरु हुन लागेको महोत्सवको अर्थ राज्यमन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको कञ्चनपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष माधव जोशीले जानकारी दिनुभयो ।
महोत्सवमा लघु उद्यम प्रदर्शनी, अटो प्रदर्शनी, कृषि प्रदर्शनी, गार्मेन्ट उत्पादन, स्थानीय उत्पादन, ऊर्जा, पर्यटन प्रवद्र्धन, शिक्षा तथा स्वास्थ्य क्षेत्रका सेवा, सांस्कृतिक कार्यक्रम, पर्यटन क्षेत्रको विस्तृत जानकारी, स्थानीय कला संस्कृति प्रदर्शनका साथै सुदूरपश्चिमेली विशेष परिकार मुख्य आकर्षणका रुपमा रहने कञ्चनपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष जोशीले जानकारी दिनुभयो । उद्योग वाणिज्य सङ्घले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी र गतिविधिका बारेमा जानकारी गराएको थियो ।
विसं २०५७ देखि निरन्तर महोत्सव सञ्चालन गर्दै आएको सङ्घले यस वर्षको महोत्सवमा हरेक दिन कृषकलाई विभिन्न तालिम तथा गोष्ठीमा सहभागी गराउने जनाएको छ ।
सङ्घका अनुसार महोत्सवस्थलमै आलु उत्पादन, केराखेती, उखुखेती, आधुनिक कुखुरापालनलगायतका विषयमा पनि हरेक दिन ५०÷५० जना कृषकलाई तालिम दिइनेछ ।
त्यसैगरी, यहाँका पर्यटकीय क्षेत्रहरु शुक्लाफाँटा वन्यजन्तु आरक्ष, महाकाली नदीको झोलुङ्गे पुल, बेदकोट ताल, भम्केनी धामलगायतका पर्यटकीयस्थल अवलोकन गर्न पर्यटकलाई प्याकेजको व्यवस्थासमेत महोत्सव अवधिभर मिलाएको सङ्घले जनाएको छ ।
महोत्सवमा १५० भन्दा बढी कक्ष रहने र रु पाँच करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया