माछाको कत्ला जस्तो घाउले दाजुभाइ पीडित

इनेप्लिज २०७२ फागुन १६ गते १:५५ मा प्रकाशित

काँकडभिट्टा (झापा), १६ फागुन । झापाको बुधवारे–७ स्थित नवकिरण निम्न माध्यमिक विद्यालयमा अध्ययनरत एकै परिवारका दुई विद्यार्थी शरीरभरि माछाको कत्ला जस्तो घाउ आउने छालाको अनौठो रोगबाट पीडित बनेका छन् ।

रोगबाट पीडित हुने विद्यार्थीमा कक्षा ३ मा पढ्ने ९ वर्षीय भुवन गुप्ता र पूर्व प्राथमिक कक्षामा पढ्ने ४ वर्षका उनका कान्छा भाइ सरोज गुप्ता रहेका छन् ।

गुप्ता दाजुभाइको शरीरको छाला पट्पटी फुटेर सुकेको छ । छाला सुकेपछि माछाको कत्ला जस्तो दर्दनाक घाउ शरीरभरि फैलिएको छ ।

भुवनले घाममा बस्दा शरीर पोल्ने र दुख्ने गरेको पीडा सुनाए । आँखाबाहेक शरीरका सबै बाहिरी अङ्गमा अनौठो रोगको सङ्क्रमण फैलिएको छ ।
उनीहरूका बुबा सञ्जय गुप्ता परिवारको गुजाराका लागि साइकल मेकानिकको काम गर्नु हुन्छ भने आमा सामान्य गृहिणी हुनुहुन्छ ।

आफ्ना तीन सन्तानमध्ये जेठो छोरा भुवन र कान्छो सरोजमा माछाको कत्ला जस्तो घाउ आउने रोगले जन्मैदेखि सताउँदै आएको सञ्जय गुप्ता बताउनुहुन्छ । माइलो छोरामा भने यस्तो समस्या छैन ।

पढ्नमा मेहनती भुवन र सरोज रोगले सताएर जतिसुकै पीडा दिए पनि घर छेउ रहेको विद्यालयमा नियमित पढ्न आउने गरेको शिक्षिका करुणा राजवंशी बताउनुहुन्छ ।

“घाममा राख्नै हुँदोरहेनछ”, विद्यालयकी शिक्षिका राजवंशी उनीहरूले व्यहोर्ने गरेको सकसबारे भन्नुहुन्छ” “बस्दा, उठ्दा र हिँड्दासमेत घाउ दुख्ने गर्दोरहेछ ।” छालाको रोग भनेर झापा र भारत सिलगढीका विभिन्न अस्पतालमा उपचार गर्न लैजाँदासमेत निको नभएको गुप्ता परिवारको भनाइ छ ।

साइकल मर्मतको सानो व्यवसाय गरेर मुस्किलले परिवारको भरणपोषण गर्दै आएका सञ्जय गुप्ताले सुविधा सम्पन्न अस्पतालमा लैजाने आफ्नो आर्थिक सामथ्र्य नभएको बताउनुभयो । उपचारका लागि कसैले सहयोग गरिदिए आफ्ना छोराले रोगबाट मुक्ति पाउने उहाँले आशा व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया