काँग्रेस महाधिवेशन नजिकियो, नेतैपिच्छे सम्पर्क कार्यालय
काठमाडौँ, १५ फागुन । नेपाली काँग्रेसको आसन्न १३ औँ महाधिवेशन नजिकिँदै जाँदा नेताहरुले सम्पर्क कार्यालयमार्फत आफ्नो पक्षमा निर्वाचन माहोल बनाउन सक्रिय देखिएका छन् ।
महाधिवेशनमा नेता र कार्यकर्तालाई आफ्नो पक्षमा आकर्षण गर्न सम्पर्क कार्यालय खोल्ने र भड्किला गतिविधि गर्ने होडबाजी नै चलेको छ ।
पार्टी सभापतिका आकाङ्क्षीदेखि पदाधिकारी र केन्द्रीय सदस्यसमेतले सम्पर्क कार्यालय खोलेको देखिएको छ ।
दूर गाउँ र जिल्लाबाट आएका नेता र कार्यकतालाई शीर्ष नेतासँगको पहुँच र साक्षात्कारका लागि सम्पर्क कार्यालय खोलिनु सान्दर्भिक छ नै । तर कतिपय नेताले महाधिवेशनको सङ्घारमा तडकभडकका साथ सम्पर्क कार्यालय खोली गुटगतरुपमा भेला गर्नुलाई स्वयम् नेता नै पार्टीमा विकृति भित्र्याउने काम भएको ठान्छन् ।
त्यसो त, सम्पर्क कार्यालयले काठमाडौँ बाहिरबाट आउने कार्यकर्तालाई आफ्ना नेतासँग सम्पर्क गर्न सहज बनाएको त छ नै, उनीहरुबीच नजिकबाट घुलमिल हुने अवसर पनि दिलाएको छ ।
यसरी नेतैपिच्छे व्यक्तिपिच्छेका सम्पर्क कार्यालयभन्दा पनि पार्टी केन्द्रीय कार्यालयलाई नै भेटघाटको मुख्य थलो बनाउँदा उपयोगी हुने कतिपय नेताको भनाइ छ ।
महाधिवेशनको सङ्घारमा नेता कार्यकर्तालाई पायक पर्ने सहज ठाउँमा सम्पर्क कार्यालय खोलिनु सान्दर्भिक हुन्छ भन्नुहुन्छ नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी ।
“कार्यकर्तालाई पार्टी कार्यालय पुग्न टाढा हुने र नेतासँग भलाकुसारी गर्न असहज हुने भएकाले महाधिवेशनको सङ्घारमा सम्पर्क कार्यालय खोलिनु सामान्य हो, तर यसलाई तडकभडक नगरी सामान्य भेटघाटको थलोका रुपमा मात्र उपयोगमा ल्याइनुपर्दछ” – उहाँले भन्नुभयो ।
पार्टी सभापति, महामन्त्रीलगायतका पदाधिकारीले सम्पर्क कार्यालय खोल्नुलाई स्वाभाविक मानिए पनि केन्द्रीय सदस्यले समेत व्यक्तिपिच्छे सम्पर्क कार्यालय खोल्नुलाई कतिपयले स्वाभाविक मानेका छैनन् ।
केन्द्रीय सदस्य शङ्कर भण्डारीले सम्पर्क कार्यालय खोल्दा अनावश्यक खर्च बढाउने मात्र नभई गुटगत प्रवृत्ति मौलाउने बताउनुहुन्छ ।
महाधिवेशनबाट एकताको सन्देश प्रवाह गर्न नेताले पार्टी कार्यालयलाई नै सम्पर्क र भेटघाटका लागि प्रयोग गर्नसके नेता कार्यकर्तामा सकारात्मक सन्देश जाने उहाँको तर्क थियो ।
महाधिवेशनमा सभापतिको आकाङ्क्षी रहनुभएका काँग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेलले पार्टी केन्द्रीय कार्यालय सानेपा र बोहोराटारस्थित आफ्नै निवासमा नेता र कार्यकर्तासँग भेटघाटको थलो बनाउनु हुने उहाँका सहयोगी चिरञ्जीवी अधिकारीले बताउनुभयो ।
पार्टी समापतिका अर्का आकाङ्क्षी शेरबहादुर देउवाले केही महिना अघिदेखिनै नयाँबानेश्वरमा सम्पर्क कार्यालय खोलेर आफ्नो पक्षका कार्यकर्तासँग संवाद गर्दै आउनुभएको छ । त्यहाँ काठमाडौँ बाहिरबाट आउने नेता कार्यकर्ताको सम्पर्क कार्यालयमा भीड लाग्ने गरेको छ ।
महाधिवेशन नजिकिँदै जाँदा पार्टी केन्द्रीय कार्यालयमा भन्दा सम्पर्क कार्यालयमा चहलपहल र भीडभाड बढ्ने गरेको छ ।
पार्टी सभापतिका आकाङ्क्षी महामन्त्री कृष्णप्रसाद सिटौलाले गैरीधारामा सम्पर्क कार्यालय खोल्नुभएको छ भने अर्का सभापतिका आकाङ्क्षी महामन्त्री प्रकाशमान सिंहले बिजुलीबजारस्थित पुरानो सम्पर्क कार्यालयलाई प्रयोग गरिरहनुभएको छ ।
सभापतिका अर्का आकाङ्क्षी सुजाता कोइरालाले मण्डिखाटारस्थित आफ्नै निवासलाई सम्पर्क कार्यालय बनाउनुुभएको छ । त्यस्तै महामन्त्रीका आकाङ्क्षी केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले डिल्लीबजारमा सम्पर्क कार्यालय खोल्नुभएको छ ।
केन्द्रीय सदस्य गगनकुमार थापा, डा शेखर कोइराला, शशाङ्क कोइराला, चन्द्र भण्डारी, शङ्कर भण्डारी, मीन विश्वकर्मा, ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेताले छुट्टै सम्पर्क कार्यालय खोलेर भेटघाटलाई तीव्रता दिनुभएको छ ।
केन्द्रीय सदस्य मीन विश्वकर्माले बहुदलीय संसदीय पद्धतिमा नेतृत्वको होडबाजीलाई स्वाभाविक मान्नुपर्ने धारणा व्यक्त गर्दै आफ्नो सम्पर्क बढाउन धेरै नेताले काठमाडौँमा सम्पर्क कार्यालय खोलेको स्वीकार्नुभयो ।
“सम्पर्क कार्यालय खोल्नु सान्दर्भिक हो, तर कतिपयले होटल र पार्टी प्यालेसलाई सम्पर्क कार्यालय बनाई तडकभडक गर्ने गरेका छन्, यसले पार्टीलाई विकृत तुल्याउँछ” – विश्वकर्माले भन्नुभयो ।
पार्टी कार्यालयमा निजी कार्यकक्ष नहुने र पदाधिकारीलाई नै अपुग हुने भएकाले आफ्ना नेता र शुभेच्छुकसँग भलाकुसारी गर्न सहज स्थानमा सम्पर्क कार्यालय खोलिएको नेताहरुको भनाइ छ ।
यसपटक लोकतन्त्रको हिमायती मानिने काँग्रेस पार्टीभित्र कमजोर बन्दै गएको लोकतन्त्र अभ्यासलाई सुदृढ गरी पार्टीको विधानअनुरुप योग्य नेतृत्व चयनमा युवापुस्ताको झुकाव देखिएको छ ।
महासमिति सदस्य नयनसिंह महरले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन र पार्टीको विधानअनुरुप सङ्गठनलाई सुदृढ तुल्याउन परिपक्व नेतृत्व चाहिने बताउनुभयो । काँग्रेसको १३ औँ महाधिवेशन यही फागुन २० देखि २३ गतेसम्म काठमाडौँ हुँदैछ । महाधिवेशनका लागि अहिले २५ प्रतिशत महाधिवेशन प्रतिनिधि काठमाडौँ आइसकेको अनुमान छ ।
बाइडेनद्वारा विज्ञान टोलीको घोषणा
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
प्रतिक्रिया