क्यामेरा ट्र्यापिङ विधिबाट दुर्लभ सालकको अध्ययन सुरु

इनेप्लिज २०७२ फागुन ११ गते ३:१९ मा प्रकाशित

रत्ननगर (चितवन), ११ फागुन । विश्व सालक दिवसको अवसर पारेर राष्ट्रिय प्रकृति संरक्षण कोष (जैविक विविधता संरक्षण केन्द्र) सौराहा चितवनले अतिसङ्कटापन्न दुर्लभ सालकको अध्ययन सुरु गरेको छ ।

क्यामेरा ट्र्यापिङ विधिको प्रयोग गरी सालकको अध्ययन थालेको कोषका प्रमुख डा चिरञ्जीवी पोखरेलले जानकारी दिनुभयो ।

रानी सामुदायिक वन मकवानपुरबाट क्यामेरा प्रविधि जडान गरी सालक अध्ययन सुरुवात गरिएको उहाँले बताउनुभयो । सालक पाइने अन्य वनमा समेत अध्ययन गरिने जनाइएको छ ।

अति सङ्कटापन्न अवस्थामा पुगेकाले यस प्रजातिको संरक्षणका लागि अध्ययन थालिएको राष्ट्रिय प्रकृति संरक्षण कोष (जैविक विविधता संरक्षण केन्द्र)का प्रमुख डा पोख्रेलले बताउनुभयो । यस अध्ययनले सालकको विचरण, आनीबानी र वासस्थानका बारेमा जानकारी लिइनेछ । यसको व्यवस्थापनका लागि भावी कार्ययोजना तर्जुमा गर्न सहयोग पुग्ने कोषले जनाएको छ ।

यो कार्यक्रम रानी सामुदायिक वनबाट सुरु भई आसपासका अन्य सामुदायिक वनमा समेत सालकको अध्ययन, अनुसन्धान तथा अनुगमन गरिने जनाइएको छ । साथै गोर्खा जिल्लाका सामुदायिक वनमा समेत लागू गरिने बताइएको छ ।

हरियो वन कार्यक्रमको आर्थिक सहयोग तथा राष्ट्रिय प्रकृति संरक्षण कोष (जैविक विविधता संरक्षण केन्द्र) सौराहाको प्राविधिक सहयोगमा अनुगमन सुरु गरिएको हो ।

प्रतिक्रिया