गोठदेखि ओठसम्म शुद्ध दूध पुर्‍याइन्छ: मन्त्री मानवी

इनेप्लिज २०७२ फागुन ८ गते १६:१५ मा प्रकाशित

shanta-manabiइलाम, ८ फागुन । पशुपक्षी विकास मन्त्री शान्ता मानवीले गोठदेखि ओठसम्म शुद्ध दूध उत्पादन गरेर मुलुकलाई दूधमा आत्मनिर्भर बनाउनेतर्फ उन्मुख गराउने बताउनुभएको छ ।

जिल्ला पशु सेवा कार्यालय इलामले आज आयोजना गरेको अन्तक्र्रियामा मन्त्री मानवीले गोठदेखि ओठसम्म शुद्ध दूध पु¥याउने सरकारी योजनाअनुरुप मन्त्रालयले ४० बुँदे प्रतिबद्धता अघि सारेको बताउनुभयो ।

देशलाई बधशालादेखि भान्सासम्म पनि शुद्ध मासु पु¥याउने सरकारी लक्ष्य रहेको उहाँले बताउनुभयो ।

मन्त्रालयले पहिलो वर्षमा अन्डा, दोस्रो वर्षमा मासु र तेस्रो वर्षमा दूधमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको बताउँदै मन्त्री मानवीले मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सकेमा विदेशीको भर पर्नु नपर्ने बताउनुभयो ।

भारत सरकारले उडिसामा पूरै भारतलाई पुग्ने गरी बङ्गुर फार्म सञ्चालन गरेकाले नेपालबाट बङ्गुर भारत निकासी हुन छाडेको बताउँदै उहाँले आफ्नो उत्पादन तेस्रो मुलुकसम्म पु¥याउन अन्य देशसँग पनि सम्झौता गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

क्वारेन्टाइन चेकपोस्टलाई व्यवस्थित गर्दै लैजानुपर्ने आवश्यकता औँल्याउँदै उहाँले दाना ऐन, नश्ल सुधारका लागि ऐन परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो ।

पशुपङ्क्षी उद्योग र विकासमा लगानी गर्न आग्रह गर्दै यसका लागि मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धतासमेत मन्त्री मानवीले जनाउनुभयो । विदेशबाट फर्किएका धेरै युवा पशुपालन र कृषिमा लागेकाले कृषि र पशुपालन क्षेत्रमा भविष्य रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा कृषक नेत्रप्रसाद रिजालले प्याक्ट आयोजनाले किसानलाई झुक्याएको आरोप लगाउनुभयो ।

पशु सेवा कार्यालयका प्रमुख वरिष्ठ पशु विकास अधिकृत पशुपति ढुङ्गानाले कार्यालयले विगत एकवर्षदेखि सञ्चालन गरिरहेका कार्यक्रमको प्रस्तुतसमेत गर्नुभयो ।

मन्त्री मानवीले इलामका सूर्याेदय नगरपालिकाअन्तर्गत स्थापना भएका गाई फार्म, पशुपतिनगरमा रहेको क्वारेन्टाइन चेकपोस्ट, चिज उत्पादन केन्द्र, डेरी उद्योगको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभयो ।

प्रतिक्रिया