चिसिएको सम्बन्ध प्रगाढ बनाउन भ्रमणः नेता पोखरेल

इनेप्लिज २०७२ फागुन ८ गते १६:०६ मा प्रकाशित

ishwar-pokhrelइलाम, ८ फागुन । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले कुनै मुलुकलाई खुसी पार्न संविधान जारी गरिएको नभई नेपाली जनताको हक र अधिकारका निम्ति जारी गरिएको बताउनुभएको छ ।

इलाममा नेकपा (एमाले) को जनवर्गीय सङ्गठन जनसांस्कृतिक महासङ्घको २८औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित आमसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो ।

“यो संविधान राष्ट्रभक्त, देशभक्त नेपालीको पक्षमा भएकाले मात्र जारी गर्न सकियो”– उहाँले भन्नुभयो– “संविधान जारी हुँदा कोही रिसाउनुपर्ने जरूरत छैन”– उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीको भारत भ्रमण दुई देशबीच चिसिएको सम्बन्धलाई प्रगाढ बनाउनमात्र हो, अन्य कुनै ठूल्ठूला एजेन्डा र माग छैनन् । उहाँले भन्नुभयो– “प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर कसैले शङ्का र उपशङ्का गर्नुपर्ने स्थिति पनि छैन ।”

प्रधानमन्त्रीले भारतसँग शिर झुक्ने, अपमानजनक कुनै पनि प्रकारका सम्झौता गर्नुहुन्न यसमा ढुक्क हुनुहोस् भन्दै उहाँले “हाम्रा प्रधानमन्त्रीले मोदीसँग आँखा झुकाएर कुरा गर्नुहुने छैन, राष्ट्रियहित विपरीतका कुनै पनि सम्झौता हुने छैनन् ।” उहाँले एमालेले आफ्ना एजेन्डालाई मुलुकको स्थायित्वका लागि स्थापित गरेको दाबी गर्नुभयो । एमालेले अडानका कारणमात्र मुलुकले संविधान पाएको बताउनुभयो ।

संविधान पाएपछि यसको सफल कार्यान्वयनको चुनौती रहेकाले सबैले एकताबद्ध रूपमा संविधानको पूर्ण कार्यान्वयन गर्न जरूरी रहेकोमा जोड दिनुभयो । संविधान निर्माणपछि अब आर्थिक समृद्धितर्फ लाग्नुपर्नेमा जोड दिँदै उहाँले एमालेले अघि सारेको उत्पादन, आर्थिक क्रान्ति, बेरोजगारी समस्या हल गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो ।

गीत, रचनाबाट पनि देशलाई समृद्द बनाउनुपर्नेमा जोड दिँदै महासचिव पोखरेलले राष्ट्रिय स्वाभिमान र आत्मसम्मानका लागि कसैसँग पनि झुक्न नहुने विचार व्यक्त गर्नुभयो ।

सो अवसरमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालले प्रकाशित गरेको ‘संस्कृति’ पुस्तकको महासचिव पोखरेलले विमोचनसमेत गर्नुभयो । उहाँले तेह्रथुम घर भई हाल काठमाडौँमा बस्दै आउनुभएका लोकसाहित्यकर्मी दावा शेर्पालाई नगद रु २५ हजार, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

कार्यक्रममा महासङ्घअन्तर्गत इलाममा भेला भएका ६० जनाभन्दा बढी कवि, कवयत्रिले आफ्नो रचना सुनाएका थिए भने विभिन्न संस्कृति झल्कने नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया