दुई कोठे भवनमा नौवटा कार्यालय सञ्चालन

इनेप्लिज २०७२ फागुन ८ गते ४:५० मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), ८ फागुन । म्याग्दीको घारमा दुई कोठे भवनबाट नौ वटा सेवा प्रदायक निकाय र सङ्घ संस्थाको कार्यालय सञ्चालन हुँदै आएको छ । भवन र व्यवस्थित कार्यालय नहुँदा सेवा प्रवाहमा कठिनाइ भएको छ ।

घार–५ मा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गतको गाउँस्तरीय संरक्षण व्यवस्थापन समितिको दुई कोठे भवनमा नौ वटा कार्यालय छन् । समिति सँगसँगै गाविस, स्वास्थ्य चौकी र पशुसेवा केन्द्रको कार्यालय एउटै भवनमा रहेका छन् ।

यसैगरी, स्थानीय शान्ति समिति, प्रसूति केन्द्र, किशोरीमैत्री यौन तथा प्रजनन स्वास्थ्य समितिलगायत नौवटा कार्यालय सोही भवनबाट सञ्चालन भइरहेको गाविस सचिव बाबुराम शर्माले बताउनुभयो । सार्वजनिक भवन अभावका कारण काठले बारेर फरकफरक कोठा बनाई एउटै भवनबाट धेरै कार्यालयको सेवा प्रवाह गरेको उहाँको भनाइ छ ।

गाविसको कार्यालय सञ्चालन हुने कोठामा स्वास्थ्य चौकीको प्रसूति केन्द्रको श्यया रहेको छ । काठले बारेर बनाइएको अर्को साँघुरो कोठालाई पशुसेवा केन्द्र र कर्मचारीको आवासको रुपमा प्रयोग गरिएको छ । भेला, बैठक, छलफल र सार्वजनिक महत्वका कार्यक्रम गर्न सभाहल पनि छैन ।

गोप्य परामर्श, परिवार नियोजन, प्रसूति र स्वास्थ्य परीक्षण गराउन आउने बिरामीलाई व्यवस्थित कोठा नहुँदा समस्या भएको स्वास्थ्यचौकीका कर्मचारीले बताएका छन् । कतिपय सेवाग्राही लाजले आफ्नो समस्या व्यक्त नगरी फर्कने गरेको रेडक्रसको शिख घार उपशाखाका सभापति जसबहादुर तिलीजाले बताउनुभयो ।

साँघुरो र अव्यवस्थित भवनबाट कार्यालय सञ्चालन गरिँदै सेवाग्राहीलाई कठिनाइ भएको उहाँले गुनासो गर्नुभयो । घारमा रहेका सार्वजनिक सेवा प्रदायक निकायका कार्यालयको भवनका लागि गाविस र इलाका परिषद्बाट योजना माग गरिए पनि सुनुवाइ नहुँदा समस्या भएको गाविस सचिव शर्माले बताउनुभयो ।

प्रतिक्रिया