यो बर्ष पनि मैले यो पहाडमा
पोहोर साल जस्तै
एउटा कालो पत्र थपें |
मैले जस्तै
सबैले एक एक पत्र गरी
धेरै पत्रहरु थपे
र यसरी
धेरै बर्षका कालापत्रहरु जम्मा गरेर
काला पहाडहरु जन्मिए |
पहाड अहिले पुरै कालोपत्रले ढाकिएर कालो भएको छ
सेता हिमालहरु ढाकिएर काला भएका छन्
नीला नदि नालाहरु पनि काला भएका छन्
र अब हामी बिस्तारै कालो संसारमा रमाएर
पुरैका ला भएका छौं |
भैगो – मैले कोट्याउन चाहिंन
देश भक्तिको कथा
कोट्याउन चाहिंन
किल्ला कांगडाका कुरा
बिगतका हाम्रा बहादुरीका कुरा
इतिहासका कुरा इतिहास मै छोडौं
तेसैले गर्दिन भो भक्तिथापाका कुरा
हाम्रो त बर्तमान हो
बर्तमान त सिर्फ कालो हो
त्यसैले
पोहोर साल मैले एउटा कालोपत्र पोतें
र इतिहास सुरक्षित गर्न फेरी अर्कोपत्र पोतें
र हरेक वर्ष यसरी
कालोपत्र पोतेकै छु |
कहिले लिम्बुवानको कालो पोती दिन्छु म
कहिले खुम्बुवानको कालोपोती दिन्छु म
कहिले छुवाछुत रजातजातिको भेदभाव छताछुल्ल पारेर आगन भरि
अर्को कालो पोती दिन्छु म
मलाई तल झर्न पटक्कै डर लाग्दैन
कहिले बोक्सीको निहुँमा
आफ्नै चेलीलाई नाङ्गै बनाएर
कुटीकुटी मारेको अर्को कालोपोती दिन्छुम
म कालो छु
कालो हुन मलाई कत्ति डर लाग्दैन
म तलै छु
तल झर्न मलाई कत्ति डर लाग्दैन
यसैले आउनुस
तपाई पनि म संगै कालो पोत्नोस
यो कालो पहाड बिस्तारै आखिर
दक्षिणतिरको कालो समुन्द्रमा एकदिन बिलय हुनेछ
र कालै संसारमा अस्त हुनेछ
तेती बेला हाम्रा सन्ततिहरु भन्ने छन
एकादेशमा कुनै बेला
कालो पहाड थियो
कालो पहाड अघि
एउटा नेपाल भन्ने देश थियो |
प्रतिक्रिया