अमेरिकाबाट कांग्रेस प्रतिनिधि छान्ने प्रयास तीव्र

इनेप्लिज २०७२ फागुन ७ गते ११:४५ मा प्रकाशित

Kp-oli-At-India-1-768x434न्यूयोर्क,अमेरिका,फेब्रुअरी १८ | नेपाली कांग्रेसको आसन्न १३ औं महाधिवेशनमा नेपाली जनसम्पर्क समिति,अमेरिकाका तर्फबाट प्रतिनिधित्व गर्ने सात जना महाधिवेशन प्रतिनिधि छान्ने प्रयास अहिले तीव्र रुपमा जारी छ | कांग्रेसको विद्यमान विधान अनुसार पाँच सय क्रियाशील सदस्य भएका जनसम्पर्क समितिका तर्फबाट एक निर्वाचन क्षेत्र बराबर प्रतिनिधिले महाधिवेशनमा भाग लिन पाउनेछन् | यही प्रावधान अनुसार आठ सयभन्दा बढी क्रियाशील सदस्यता पार्टीमा बुझाई सकेको समितिले यसपटक सात जना महाधिवेशन प्रतिनिधि पठाउदैछ | समितिका केन्द्रीय सभापति आनन्द विष्टका अनुसार समितिको विद्यमान विधान अनुसार सातजना महाधिवेशन प्रतिनिधि चयन गरी पठाउन नेपाली कांग्रेस केन्द्रीय कार्यालयले लिखित पत्राचार समेत गरिसकेको छ | केन्द्रको पत्र र समितिको विधान अनुसार प्रतिनिधि चयन गर्न अहिले विष्ट परामर्शमा जुटेका छन् | गत १२ औं महाधिवेशनमा अमेरिकाबाट पहिलोपटक औपचारिक रुपमा सात जना महाधिवेशन प्रतिनिधिले भाग लिने अवसर पाएका थिए |

यस पटक समितिको निर्वाचित नेतृत्वसंगै कांग्रेसले स्वीकृत गरी पठाएको विधानमा प्रतिनिधि चयनका लागि सभापतिको संयोजकत्वमा पूर्व संयोजक वा सभापति समेत सदस्य रहने गरी सभापतिले पाँच सदस्यीय समिति गठन गरी प्रतिनिधि चयन गर्न सक्ने उल्लेख छ | सोही अनुसार सभापति विष्टले आफ्नो संयोजकत्वमा उप सभापति केशब बराल,पूर्व संयोजक एवं वर्तमान केन्द्रीय सदस्य विष्णु सुवेदी र समितिका सल्लाहकारद्वय मुकुन्द ढुंगाना र हरिनारायण सापकोटा रहेको पाँच सदस्यीय समिति समेत दुई साता पहिले नै गठन गरि सकेका छन् | सोही समितिले आगामी आइतवार पार्टी सभापति सुशील कोइरालाको १३ औं पुण्यतिथिमा आयोजना गरिने शोक सभा लगत्तै कांग्रेस महाधिवेशनमा भाग लिन जाने सात जना महाधिवेशन प्रतिनिधि र यिनै सात जना मध्येबाट तीन जना महा-समिति सदस्य चयन गर्ने तयारी गरिरहेको समितिका एक सदस्यले ग्लोब नेपाल डट कम प्रतिनिधिलाई जानकारी दिएका छन् | महाधिवेशन प्रतिनिधि चयनका लागि अहिले विष्ट सबै पक्षसंग परामर्शमा जुटेका छन् | विष्टकै निर्देशनमा समितिले गत मंगलवार च्याप्टर सभापतिहरु,बुधवार केन्द्रीय सल्लाहकारहरु र आजै मात्र केन्द्रीय समितिमा समेत यस बारे छलफल गरी सुझाव संकलन गरेको छ | विष्ट सबै पक्षसँग छलफल गरी समितिको प्रत्यक्ष बैठक गरी सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन गर्ने तयारीमा छन् | सभापति विष्टले आफु सबैसंग सल्लाह र परामर्श गरी सर्वसम्मतरुपमा महाधिवेशन प्रतिनिधि चयनका लागि प्रयासरत रहेको सल्लाहकार बैठकमा बताउदा सबैले विष्टको प्रयास स्वागतयोग्य भन्दै सह्राहना गरेका थिए |

अप्ठ्यारो सहज बन्दैछ विष्टलाई

डेढ दशकभन्दा बढी अमेरिकामा नेपाली जनसम्पर्क समितिको स्थापना र यसको गतिविधिमा बिताएका सभापति विष्टका लागि यसपटक निकै अप्ठ्यारो अवस्था थियो महाधिवेशन प्रतिनिधि चुन्नु | तर अब त्यो परिस्थिति निकै सहज बन्दै गएको अनुमान गरिएको छ | गत वर्ष नोभेम्वरमा अस्सी प्रतिशत मत ल्याई निर्वाचित भएका सभापति विष्टको नेतृत्वमा अहिले दुई तिहाईको बहुमत छ | तर विष्टको शालीनता र स्वभावका कारण उनले पुरै एक वर्ष सबैलाई मिलाएर लैजाने प्रयास गरिरहे | जसलाई विष्ट निकटका कतिपय सहयोगीहरुले समेत जितेर पनि जितको महसुस गर्न नसकेको रुपमा विष्टप्रति गुनासो गरिरहे | विष्टको सबैलाई समेट्ने प्रयासलाई असन्तुष्ट पक्षले कमजोरीको रुपमा लियो र भागबण्डाको अंश माग्न थाल्यो | अहिले महाधिवेशन प्रतिनिधि चयनका लागि पनि यही भागबण्डा र अंश माग्ने क्रम दवाबको रुपमा जारी छ | जसलाई विष्टले धैर्यतापूर्वक सुनेका छन् | विष्टलाई गत वर्षको नोभेम्वरमा शेरबहादुर देउवा पक्षधरहरुको निकै ठूलो समर्थन थियो | प्रकाशशरण महत,विश्वप्रकाश शर्मा,सिंहबहादुर राना,ध्रुव वाग्ले जस्ता नेताहरु खुलेर नै विष्टको लविंगमा थिए | त्यसो त शेरबहादुर देउवा र विष्ट सुदूर पश्चिमको एकै क्षेत्रका समेत हुन् | यिनै कारणहरुले गर्दा विष्टलाई देउवाका पक्षमा खुल्न सहज भएको बुझिएको छ |

प्रतिक्रिया