लेखनाथ महोत्सवमा चौँरीदेखि ऊँटसम्म

इनेप्लिज २०७२ फागुन ७ गते १:४४ मा प्रकाशित

पोखरा, ७ फागुन । बुधबारदेखि सुरु भएको लेखनाथ महोत्सवमा हिमालको चौँरीदेखि मरुभूमिको ऊँटसम्म एकसाथ अवलोकन गर्न पाइने भएको छ ।

लेखनाथ महोत्सवलाई दर्शनीय बनाउने लक्ष्यका साथ हिमाली भूभागमा पाइने चौँरीगाईदेखि मरुभूमिमा पाइने ऊँट र विश्वकै सबैभन्दा ठूलो चरा अस्ट्रिचलगायतका जनावर एकैसाथ अवलोकन गर्ने व्यवस्था मिलाइएको छ ।

महोत्सवस्थलभित्र चिडियाघर निर्माण गरी दर्शकलाई एकै ठाउँबाट हिमाली क्षेत्रमा पाइने चौँरीगाई (याक) र मरुभूमिमा पाइने ऊँटलाई एकै ठाउँमा देखाइएको आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य सङ्घका सल्लाहकार तथा कक्ष व्यवस्थापन उपसमितिका संयोजक देवराज पन्थीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दर्शकलाई एकै ठाउँबाट सबै प्रकारका जनावरको बारेमा जानकारी दिने उद्देश्यले विभिन्न जातका जनावर राखिएको छ ।

महोत्सवमा दर्शकले चौँरी, ऊँट, अस्ट्रिच, इमु, टर्कीलगायतका जनावर तथा चराको अवलोकन गर्ने र फोटो खिच्ने गरेका छन् ।

महोत्सवमा प्राचीनकालको सबैभन्दा ठूलो पृथ्वीबाट लोप भइसकेको जनावर डाइनोसरलगायत दुर्लभ जनावरको प्रतीक बनाएर विद्युतीय प्रणालीबाट चलायमान बनाइएको छ भने बच्चाका लागि फोटो खिचाउन साढे छ फिट अग्लो कुखुराको भालेको प्रतीक पनि राखिएको छ ।

महोत्सवको दोस्रो दिन बिहीबार दर्शकको राम्रै उपस्थिति भए पनि पोखरा बस व्यवसायी समितिको यातायात बन्दका कारण त्यसको केही प्रभाव परेको मूल आयोजक समितिका संयोजक लक्ष्मीप्रसाद त्रिपाठीले जानकारी दिनुभयो ।

प्रतिक्रिया