साना सिँचाइ आयोजना

इनेप्लिज २०७२ फागुन ६ गते १०:३६ मा प्रकाशित

भद्रपुर, ६ फागुन । जिल्ला कृषि विकास कार्यालयले चालु आवमा साना सिँचाइ आयोजनामा रु ४५ लाख ४५ हजार खर्च गर्ने भएको छ ।

जिल्ला भरिबाट मोटर बोरिङका लागि ८६, पम्पसेटका लागि १७, इनार बोरिङका लागि ६, सतह सिँचाइका लागि ११ र पाइप विस्तारका लागि दुई वटा कृषकबाट निवेदन परेको थियो । कृषि विकास समितिको सभापति स्थानीय विकास अधिकारी खेमराज ओझाको अध्यक्षतामा आज बसेको बैठकले बोरिङ पम्पसेटका लागि १५ जनालाई रु ५० हजारका दरले तथा बोरिङ मोटरका लागि ४४ जनालाई रु ४० हजार दरले अनुदान दिने निर्णय गरेको छ ।

सतह सिँचाइ पाइप खरिद सात जनालाई रु एक लाखका दरले, इनार बोरिङ दुई जनालाई रु ७० हजारका दरले, इनार बोरिङ घर निर्माण मोटरको लागि दुई वटाका लागि रु ९० हजार, सहकारीमा रु दुई लाख ८५ हजार र सहकारी योजनामा दुई वटामा रु ८४ हजार अनुदान दिने निर्णय भएको छ । अनुदानले पम्पसेट बोरिङबाट ६० बिगाहा, मोटर बोरिङबाट २१० बिगाहा, सतह सिँचाइबाट चार हजार बिगाहा र इनार बोरिङबाट ३० बिगाहा खेतीमा सिँचाइ सुविधा पुग्ने वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया