आठ वर्षदेखि चिसो भुइँमा बसेर शिक्षा आर्जन

इनेप्लिज २०७२ फागुन ६ गते २:३७ मा प्रकाशित

त्रिपुराकोट (डोल्पा), ६ फागुन । भौगोलिक रुपमा नेपालकै बिकट जिल्लाको नामले चिनिने डोल्पामा शिक्षाको अवस्था पनि निकै नै कमजोर रहेको छ ।

सरकारी उदासीनता तथा पढ्नुपर्छ भन्ने चेतनाको विकास हुन नसक्दा साक्षारताको हिसाबमा पनि अन्य जिल्लाको तुलनामा डोल्पा धेरै पछाडि छ ।

यातायात, स्वास्थ्य, शिक्षा, सञ्चारलगायतका समस्याले थला परेका डोल्पालीको ध्याउन्न पढाइतिरभन्दा खाद्यान्नको जोहोतिर जाने गर्छ । तैपनि डोल्पाली विद्यार्थी विभिन्न समस्याको बाबजुद पनि शिक्षा आर्जन गर्ने प्रयास गरिरहेका छन् ।

आजको जमानामा विभिन्न सञ्चारका साधनको माध्यामबाट पठनपाठन भइरहेको बेला उपल्लो डोल्पाका विद्यार्थीले डेक्स, बेन्चसमेत देख्न पाएका छैनन् ।

डोल्पाको उत्तरी भेगमा पर्ने एक प्राथमिक विद्यालय बालमैत्री भौतिक पूर्वाधार सम्पन्न विद्यालयलाई चुनौती दिँदै शिक्षाको ज्योति छर्ने प्रयास गरिरहेको छ ।

सन् २००८ भन्दा अगाडि सरकारी विद्यालय नामको बोर्डमात्र झुन्ड्याइएको मुकोट हिमाल प्राथमिक विद्यालयले आठ वर्ष अगाडि एउटा कुशल समाजसेवी पायो ।

उपल्लो डोल्पामा जन्मेका योङ्तेन गुरुङले नाममात्रैको यस विद्यालयलाई सञ्चालनमा ल्याए तर एकल रुपमा सबै स्रोत साधनको व्यवस्था गर्न सकेनन् ।

सदरमुकाम दुनैदेखि करिब सात दिनको पैदलयात्रापछि पुगिने उपल्लो डोल्पाको साल्दाङ गाविस वडा नं ३ तिलिङमा रहेको यस विद्यालयमा अध्ययन गर्ने करिब ४२ जना विद्यार्थी विगत आठ वर्षदेखि चिसो भुइँमा बसेर पढ्न बाध्य भइरहेका छन् ।

सुरुमा थोत्रो भवनमा बन्द अवस्थामा रहेको यस विद्यालयलाई विभिन्न स्रोतको खोजी गरेर सञ्चालनमा ल्याएँ, स्थानीयवासी शिक्षक योङ्तेन गुरुङले भन्नुभयो – “भवन नयाँ बनाउन पहल गरेँ, अहिले भवन पनि जीर्ण भइसकेको छ ।

विद्यालयमा भौतिक पूर्वाधार डेक्स, बेन्चको अभावमा आठ वर्षदेखि विद्यार्थी चिसो भुइँमा बसेर अध्ययन गरिरहेका छन्, अहिलेसम्म कुनै पनि निकायले सहयोग गरेको छैन गुरुङले भन्नुभयो ।

समुद्री सतहदेखि करिब तीन हजार ५०० मिटरको उचाइमा पर्ने यस गाविसमा भारी हिमापातले गर्दा बाह्रै महिना यहाँको जनजीवन कष्टकर हुने गर्छ । अहिलेसम्म पूर्वाधार निर्माणका लागि कुनै पनि निकायले सहयोग गरेको छैन उहाँले भन्नुभयो– “उपल्लो डोल्पामा धेरै हिमपात हुने भएकाले चिसोले गर्दा पढ्न आएका कतिपय विद्यार्थी बिरामीसमेत पर्ने गर्छन् ।”

उपल्लो डोल्पाको हावापानी पनि चिसो हुने भएकाले अध्ययन अध्यापन गराउनसमेत असहज हुने र त्यसमा कक्षाकोठाभित्र पनि चिसो भुइँमा बसेर पठनपाठन गर्नुपर्ने भएकाले विद्यार्थी धेरै बिरामी पर्ने गरेको गुरुङले बताउनुभयो ।

समाजसेवी तथा शिक्षक गुरुङको प्रयासमा उपल्लो डोल्पाको बिकट ठाउँमा रहेको यस सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गरिएको छ ।

विभिन्न चुनौतीका बीच पनि सञ्चालन भइरहेको यस विद्यालयमा भौतिक व्यवस्थापनपछि खानेपानी, शौचालयलगायतका समस्या पनि प्रमुख रुपमा रहेका छन् ।

खानेपानीको समस्याले गर्दा कतिपय विद्यार्थी पढ्न नै नआउने गर्छन्, घरमा पकाएको चाइनिच चियाले पनि पानीको प्यास मेटाउने गर्छन् भने घरबाट नल्याएको अवस्थामा कुवाको धमिलो पानी पिउने गर्छन् यसले विद्यार्थी बिरामी परिरहने गुरुङकोे भनाइ छ । विद्यालयमा शौचालय नहुँदा शिक्षक तथा विद्यार्थीलाई दिसा पिसाब गर्नसमेत समस्या भएको छ ।

समस्याका बीच पनि उपल्लो डोल्पामा आधारभूत तहको गुणस्तरीय शिक्षा दिने जमर्को गरिरहेको यस विद्यालयलाई दुई वर्षदेखि ‘स्नो याक फाउन्डेसन’ नामक एक निजी संस्थाले दुईजना शिक्षकको व्यवस्था तथा विद्यार्थीलाई कापी कलमको व्यवस्था गरिदिएको छ ।

सरकारी चासोभन्दा निजी निकायले चासो तथा सहयोगी हातहरु अगाडि बढाइरहेको यस विद्यालयमा अहिले पनि पठनपाठन भइरहेको छ ।

अत्यधिक चिसोले गर्दा मङ्सिर पहिलोसातादेखि नै उपल्लो डोल्पाका सम्पूर्ण विद्यालय छ महिनाका लागि बन्द भइरहेको अवस्थामा पनि यस विद्यालयमा भने पठनपाठनको व्यवस्था गरिएको शिक्षक गुरुङले बताउनुभयो ।

यस विद्यालयमा अहिले ४२ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् भने सरकारी निकायबाट दुईजना शिक्षक र निजी स्रोतबाट तीनजना शिक्षक गरेर पाँचजनाले अध्यापन गराइरहेको शिक्षक गुरुङले जानकारी दिनुभयो ।

डोल्पाको समग्र जनसङ्ख्याको तुलनामा उपल्लो डोल्पामा यत्तिको विद्यार्थीको उपस्थिति हुनु खुसीको कुरा भएको उहाँँले बताउनुभयो ।

यसरी देशको बिकट जिल्लाको ग्रामीण भेगमा स्थापित भएर पनि शिक्षाको ज्योति डोल्पाको शैक्षिकस्तर माथि उकास्ने प्रयास गरिरहेको यस विद्यालयलाई सहयोगी हातको खाँचो छ, यतातिर सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ ।

प्रतिक्रिया