ग्रामीण स्वास्थ्य चौकीमा औषधि अभाव

इनेप्लिज २०७२ फागुन ६ गते २:३२ मा प्रकाशित

Rss_Images_1450853030493_SG_Myagdi Telimedicine Service 1डडेल्धुरा, ६ फागुन । डडेल्धुरा जिल्लाका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य चौकीमा औषधिको अभाव भएको छ । स्वास्थ्य चौकी र अस्पतालमा औषधिको अभाव हुँदा बिरामी निःशुल्क पाइने औषधि पनि निजी क्लिनीकबाट किन्न बाध्य भएका छन् ।

जिल्लाका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य चौकीमा अति आवश्यक औषधि नहँुदा स्थानीय क्षेत्रका बिरामी मर्कामा परेका छन् । निःशुल्क पाइने औषधि स्वास्थ्य चौकीमा नपाइँदा बिरामीले जिल्ला सदरमुकाम धाउनुपर्ने वा निजी क्लिनिक जानुपर्ने बाध्यता रहेको छ ।

स्वास्थ्य चौकीमा नेपाल सरकारबाट निःशुल्क रुपमा दिइने अधिकांश औषधि पाइन छोडेको महिनाँै बितिसकेको छ । जिल्लामा रहेका १८ स्वास्थ्य चौकी र एक अस्पतालमा बालबालिकाका लागि आवश्यक पर्ने सिटामोलसहित, क्लोफन्टामाइन, एमक्लोर, डाइजिनलगायतका औषधि सकिएको एक महिनाभन्दा बढी समय भएको स्वास्थ्यकर्मीले बताएका छन् ।

अतिआवश्यकीय औषधि अभाव भएको बारे माथिल्लो निकायमा खबर गर्दासमेत औषधि नपठाइदिँदा समस्या परेको जिल्ला जनस्वास्थ्यका एकजना कर्मचारीले बताउनुभयो ।

औषधि खरिदका लागि कार्यादेश ढिलो आएकाले खरिद प्रक्रियामा ढिलाइ भएको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

औषधि खरिद प्रक्रिया सुरु भइसकेकाले फागुन महिनाभित्रै औषधि खरिद गरिसकिनेसमेत जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया