अबको एजेन्डा राष्ट्र निर्माण हो: सञ्चारमन्त्री राई

इनेप्लिज २०७२ फागुन ५ गते १६:२१ मा प्रकाशित

sherdhan-rai-photoपोखरा, ५ फागुन । सूचना तथा सञ्चार मन्त्री शेरधन राईले राजनीतिक क्रान्ति सफल भएका कारण अबको एजेन्डा राष्ट्र निर्माण भएको बताउनुभएको छ ।

सात तालको बगैँचा सहर लेखनाथ नगरपालिकाको भण्डारढिकमा आजदेखि सुरु १२औँ लेखनाथ महोत्सवको उद्घाटन समारोहमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री राईले नेपाली जनताको विकास र समृद्धिको चाहनाअनुसार सबै राजनीतिक दल राष्ट्र निर्माणको एजेन्डामा एकाकार बन्नुपर्ने बताउनुभयो ।

सरकार राष्ट्रको विकासका लागि अघि बढिसकेको बताउँदै मन्त्री राईले सरकारको यो गतिलाई कसैले रोक्न नसक्ने र विकासका एजेन्डामा सबै मिलेर अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्नुभयो ।

नेपालको नयाँ संविधानले सबै वर्ग तथा जातजातिका मुद्दालाई समेटेको उल्लेख गर्दै उहाँले प्राप्त भएका उपलब्धिलाई कार्यान्वयनका तहमा लैजाँदै अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

संविधान जारी भएपछि देशले नाकाबन्दीको चरम समस्या भोगेको स्मरण गर्दै उहाँले नेपाली जनताको धैर्यताको नैतिक बलमा नाकाबन्दीको समस्या समाधान भएको बताउनुभयो ।

सांसद यज्ञबहादुर थापाले विकास वर्तमानको आवश्यकता भएको बताउँदै विकासका लागि सबै राजनीतिक दल र नागरिक समाजको एकता अपरिहार्य हुने बताउनुभयो ।

पर्याप्त पर्यटकीय सम्भावना बोकेको लेखनाथ नगर क्षेत्रलाई स्मार्ट सिटी बनाउने योजना अघि सारिएको बताउँदै उहाँले भरतपोखरी गाविस लेखनाथमा गाभिइसकेका अवस्थामा त्यसलाई जोड्न विभिन्न ठाउँमा पुल निर्माण गर्नु आवश्यक भएको बताउनुभयो ।

सांसद शारदा पौडेलले अबको मुद्दा आर्थिक विकास र समृद्धि भएको बताउँदै विकासमा राजनीतिकरण हुन नहुने धारणा व्यक्त गर्नुभयो ।

पूर्वमन्त्री खगराज अधिकारीले स्थानीय उत्पादनको प्रवद्र्धनका साथै यहाँको विकासका लागि महोत्सवको आयोजना गरिनु प्रशंसायोग्य भएको बताउनुभयो ।

क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइरालाले लेखनाथ नगरपालिका आफँैमा धेरै सम्भावना बोकेको नगर भएको बताउँदै यहाँका सम्भावनालाई सबैको सहकार्यमा उजागर गर्नुपर्ने बताउनुभयो ।

महोत्सव आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले लेखनाथ नगरपालिका पर्यटकीय एवम् सांस्कृतिकलगायतका दृष्टिबाट सम्पन्न भएका कारण स्थानीय संस्कृति, उत्पादनको प्रवद्र्धनका साथै कृषि पर्यटनको विकासका लागि महोत्सव आयोजना गरिएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधानले देशमा भूकम्प र नाकाबन्दी कारण अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरण गर्न सबै राजनीतिक दल तथा सम्बद्ध पक्ष गम्भीर बन्नुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले स्थानीय उत्पादनको प्रवद्र्धन, कृषि पर्यटनलगायतको विकासको लक्ष्य राखी गरिएको लेखनाथ महोत्सवले यहाँको समृद्धि र विकासमा महत्वपूर्ण सहयोग पुर्‍याउने बताउनुभयो ।

नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले सुन्दर पर्यटकीय नगर लेखनाथको आफ्नै विशिष्ट पहिचान रहेको बताउँदै महोत्सवले यहाँको विकासका लागि थप सहयोग पु¥याउने बताउनुभयो ।

एनेकपा माओवादी कास्कीका अध्यक्ष दीपक कोइरालाले आन्तरिक पर्यटनका धेरै सम्भावना रहेका लेखनाथ र यस आसपासका क्षेत्रमा अत्यावश्यकीय पूर्वाधार विकास गरी पर्यटलाई आकर्षित गर्ने वातावरण तयार गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य सङ्घ स्याङ्जाका अध्यक्ष नवराज सुवेदी, लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारी, रुपाकोट रिसोर्टका अध्यक्ष पुष्पराज अधिकारी, नेकपा–माओवादी कास्कीका गोकुल पराजुली, पारा लिगलकी कोपिला रानाभाटलगायतले महोत्सव सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

उक्त अवसरमा विभिन्न महिला समूह, सङ्घसंस्था, समाजबाट झाँकी प्रदर्शन गरिएको थियो । महोत्सव आगामी फागुन १६ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया